घरमै उपाधि राख्ने एपिएफको योजना

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा दशरथ रंगशालामा शुक्रबारबाट साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुँदै छ। प्रतियोगितामा नेपालको लिग च्याम्पियन विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँगै दक्षिण एसियाका पाँच देशका पाँच लिग च्याम्पियनहरू प्रतिस्पर्धा गर्दै छन्।

घरेलु मैदानमा हुने प्रतियोगितामा एपिएफ क्लब च्याम्पियन बन्ने दाउमा छ। पहिलो खेलमै टोलीले साँझ ६ बजे फ्लडलाइटमा हुने खेलमा बंगलादेशको नास्रिन स्पोर्टस् एकेडेमीको सामना गर्दै छ। नेपाली राष्ट्रिय महिला टोली हालसम्म १३ वटा प्रतियोगिताको उपाधिनजिक पुगेर पनि चुक्दै आएको छ। एपिएफलाई भने पहिलो प्रतियोगिताकै उपाधि जित्ने सुनौलो अवसर छ।

टोली सुखद सुरुवातको योजनामा रहेको प्रशिक्षक जीवेशकुमार पाण्डेले बताए। आफ्ना खेलाडीलाई एकसाथ अभ्यास गराउन नपाउँदा भने उनी दुःखी छन्। ‘हाम्रो योजना घरमै उपाधि राख्ने हो। त्यसका लागि हामीलाई अवसर छ। यो अवसर खेर जान दिँदैनौँ,’ पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका उनले भने, ‘हाम्रा अधिकांश खेलाडी राष्ट्रिय टिममा छन्। खेलाडी राति मात्रै जोडिएका छन्। सँगै अभ्यास गर्ने अवसर भने कम पायौँ। त्यसले अलि गाह्रो हुन सक्छ। तर, सहभागी टोली सबै उस्तै छन्। हामी उपाधि जित्नै खेल्छौँ।’

साफले दक्षिण एसियामा महिला फुटबलको स्तर बढाउने योजनासहित पहिलोपटक क्लब च्याम्पियनसिप आयोजना गरेको हो। सहभागी राष्ट्रका लिग च्याम्पियनले क्लब च्याम्पियनसिपमा सहभागी हुने अवसर पाएका हुन्। तर, माल्दिभ्स र श्रीलंकाबाट भने कुनै पनि टिम सहभागी भएनन्। भुटानले लिग च्याम्पियन थिम्पु एफसीलाई भने पठाएन।

नेपालबाट एपिएफसँगै, बंगलादेशबाट नास्रिन, भारतबाट इस्टबंगाल एफसी, पाकिस्तानबाट कराँची एफसी तथा भुटानबाट ट्रान्सपोर्टस् युनाइटेड सहभागी छन्। खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा सबै टोलीले नै उपाधि जित्ने योजना सुनाएका छन्। नेपालबाहेक सबै टोलीले विदेशी खेलाडी पनि अनुबन्ध गरेका छन्। भारतको लिग च्याम्पियन भने फ्लाइट डिले हुँदा पत्रकार सम्मेलनमा सहभागी भएन।

एपिएफकी कप्तान अनिता बस्नेतले लगातार खेल्दा खेलाडी थकित भएको बताउँदै आफूहरू खेल्न तयार रहेको बताइन्। ‘हामीले लगातार पछिल्लो समय खेलिरहेका छौँ। खेलाडी थकितसँगै घाइते पनि भएका छन्,’ उनले भनिन्, ‘केही खेलाडी घाइते हुँदा हामीलाई समस्या छ। तर, हामीलाई घरमै उपाधि जित्ने अवसर छ। त्यसका लागि तयार छौँ।’

एपिएफसँग पहिलो खेल खेल्दै गरेको नास्रिनको कप्तान सन्जिदा अख्तरले राष्ट्रिय टिमका दुई खेलाडी टोलीमा रहेको बताइन्। उनको अनुसार टोलीमा अधिकांश खेलाडी यू–२० र यू–१७ टिमबाट खेलेका छन्। ‘हाम्रो टोलीमा अधिकांश युवा खेलाडी छन्। हामी उनीहरूलाई विश्वास गर्छाैँ,’ अख्तरले भनिन्, ‘बंगलादेशले पछिल्लो दुवैपटक नेपालमा साफ महिला च्याम्पियनसिप जितेको छ। हामी त्यही लय कायम राख्छौँ।’

पत्रकार सम्मेलनमा भुटानी क्लबबाट प्रशिक्षक यासी वाङचुक र कप्तान सुनिता राई सहभागी भएका थिए। उनीहरूले युवा खेलाडी राम्रो भएको बताउँदै उपाधिका लागि खेल्ने बताएका छन्।

जोर्डनसहित युएईको खेलाडी टोलीमा समावेश गरेको पाकिस्तानको कराँचीले पनि उपाधि जित्ने बताएको छ। कप्तान मारिया खान र मुख्य प्रशिक्षक आदिल रिज्कीले विदेशी खेलाडी सहभागी हुँदा टोली बलियो भएको सुनाए।

यता, एपिएफमा जागिरे नै रहेका स्ट्राइकर सावित्रा भण्डारी, गोलकिपर अञ्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रीति राई टोलीमा हुने छैनन्। सावित्रा न्युजिल्यान्डको क्लब, अञ्जिला भारत तथा प्रीति जोर्डनको लिग खेलिरहेका छन्। यी तीन खेलाडीलाई गुमाएको एपिएफले घाइते भएका सविता रानामगर र गीता रानालाई पनि मैदानमा उतार्ने छैन।

सविताको स्थानमा अनिता र गीताको स्थानमा प्रतीक्षा चौधरीले खेल्नेछन्। यी खेलाडीको अभावमा एपिएफले नेपाल पुलिस क्लबबाट पूजा राना र त्रिभुवन आर्मीबाट विमला विक ल्याउने प्रयास गरे पनि सफल भएन। पूजा र विमला टिममा आउँदा रक्षापंक्ति बलियो हुने एपिएफको विश्वास थियो। यद्यपि, पुलिसबाट युवा स्ट्राइकर मीना देउवा ल्याउँदा एपिएफको अग्रपंक्ति बलियो देखिन्छ।

अब, एपिएफले गोलपोस्टको जिम्मेवारी अञ्जना रानामगरलाई सुम्पिनेछ। लेफ्टब्याकमा मनमाया दमाईं तथा राइटब्याकमा चोटपछि कमब्याक गरेकी हिराकुमारी भुजेललाई नयाँ रोल दिइएको छ।

मिडफिल्डमा राष्ट्रिय खेलाडीहरूको दबदबा हुनेछ। डिफेन्सिभ मिडफिल्डर रेनुका नगरकोटे र अट्याकिङ मिडफिल्डमा सरु लिम्बू हुनेछन्। विंगमा सविताको स्थान अनिता केसीले लिँदा राइट विंगतर्फ कप्तान अनिता बस्नेत नै हुनेछिन्। प्रशिक्षक पाण्डेले अग्रपंक्तिको जिम्मेवारी रश्मीकुमारी घिसिङ र मीना देउवालाई दिने सम्भावना देखिन्छ।

एपिएफले आफ्नो दोस्रो खेलमा भुटानको ट्रान्सपोर्टससँग २५ मंसिरमा खेल्नेछ। दोस्रो खेल २८ मंसिरमा पाकिस्तानको कराँची र लिग चरणको अन्तिम खेल २ पुसमा भारतको इस्टबंगालसँग हुनेछ। लिगमा शीर्ष दुई स्थान रहने टोलीले उपाधिका लागि पुस २० गते खेल्ने तालिका छ।

च्याम्पियनसिप खेल्ने एपिएफको टोली
अनिता बस्नेत (कप्तान), रेनुका नगरकोटे, सरु लिम्बू, निशा थोकर, गीता राना, गोलकिपर अञ्जना रानामगर, मीना देउवा, मनमाया दमाईं, प्रतीक्षा चौधरी, हिराकुमारी भुजेल, रश्मीकुमारी घिसिङ, सविता रानामगर, सरस्वती हमाल, अनिता केसी, लीला जोशी, सावित्री किसन, सजनी थोकर, हिमा रावत, रोशनी बोहरा क्षेत्री, कुशुम खतिवडा, शोभाकुमारी प्रधान।

सुझावित समाचार