बेमौसमी वर्षाले कृषि क्षेत्रमा ६ अर्ब ६७ करोडको नोक्सानी

सबैभन्दा बढी धानबालीमा तीन अर्ब ५३ करोड २३ लाखबराबरको क्षति

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

असोज र कात्तिकमा आएको बेमौसमी वर्षाले कृषि क्षेत्रमा ६ अर्ब ६७ करोड २८ लाख ६२ हजार रुपैयाँबराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले क्षति विवरण संकलनका लागि गठन गरेको छुट्टाछुट्टै अध्ययन टोलीका अनुसार १७–१९ असोजको वर्षाले तीन अर्ब ७६ करोड १२ लाख ५२ क्षति पुगेको छ । त्यस्तै, १५ देखि १७ कात्तिकसम्मको वर्षाले २ अर्ब ९१ करोड १६ लाख १० हजार रुपैयाँबराबरको कृषिबाली, पशुधन, पूर्वाधार र कृषि कार्यालयमा क्षति पुगेको तथ्यांक छ ।

सबैभन्दा बढी धानबालीमा तीन अर्ब ५३ करोड २३ लाख ९७ हजार रुपैयाँबराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । असोजको बाढीले पाक्न लागेको धानबाली ढलेको थियो र केही स्थानमा काटेर खेतमै छाडेको बाली पानीले भिजेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, कात्तिकको वर्षाले खेतबाट उठाउन ठिक्क पारेको धानको पाँजा डुबानमा परेको थियो ।

बेमौसमी वर्षाले एक अर्ब ४७ करोड ९५ लाख १८ हजार रुपैयाँबराबरको तरकारी बालीमा पनि क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । फलिसकेको तरकारी बारीमै नष्ट भएको तथा फूल फुल्दै गरेका तरकारी पनि क्षति पुगेको अध्ययन टोलीले जनाएको छ । त्यस्तै, केरासहितको फलफूल बालीमा २६ करोड, ९८ लाख २६ हजार, दलहन १७ लाख १४ हजार र कोदोबालीमा ७ लाख ६० हजारबराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

असोजमा आएको बेमौसमी वर्षाले गरेको क्षतिबारे अध्ययन गर्न गठित कार्यादलका सदस्य लालकुमार श्रेष्ठले स्थलगत र प्रदेशस्थित कृषि मन्त्रालयबाट प्राप्त तथ्यांकका आधारमा प्रतिवेदन तयार गरिएको बताए । ‘क्षतिको विवरण संकलन गरेर प्रतिवेदन तयार गरिएको छ,’ उनले भने, ‘यो प्रतिवेदनले आगामी नीति कार्यक्रम र बजेट बनाउन सहयोग पुग्ने अपेक्षा छ ।’

कृषि मन्त्रालयको प्रवक्ता डा. जानुका पण्डितले क्षतिको विवरण संकलनका लागि गठित कार्यादलले प्रतिवेदन दिएको र प्रतिवेदनका आधारमा राहतलगायतका विषयमा आवश्यक छलफल भइरहेको बताइन् । ‘बेमौसमी वर्षाले कृषि क्षेत्रमा ठुलो क्षति पुगेको प्रतिवेदनबाट प्रस्ट भइसकेको छ । उक्त क्षति व्यहोरेका किसानलाई आउँदा दिनमा कसरी सम्बोधन गर्ने, राहतका लागि के कसो गर्ने भन्नेबारेमा छलफल अघि बढेको छ,’ उनले भनिन् । राहत वितरणका लागि गृह मन्त्रालयमा रहेको संयन्त्रसँग पनि छलफल गरिने उनले बताइन् ।

धानबालीमा मात्रै साढे तीन अर्ब क्षति
असोज र कात्तिकको बेमौसमी वर्षाले सबैभन्दा बढी धानबालीमा तीन अर्ब ५३ करोड २३ लाख ९७ हजारबराबरको क्षति भएको कृषि मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ३० हजार ८ सय ४१ हेक्टरमा लगाएको धानबालीमा क्षति पुगेको छ भने एक लाख ३ हजार ४ सय ३३ टन धान कम उत्पादन हुने अनुमान गरिएको छ । 

असोजको वर्षाले ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँको क्षति पुगेको छ । असोजमा १० हजार ८ सय ४० हेक्टरमा क्षति पुग्दा २७ हजार ७ सय ५९ टन उत्पादन ह्रास आउने अनुमान गरिएको छ । त्यस्तै, कात्तिकको वर्षाले दुई अर्ब ६६ करोडको धानबालीमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । कात्तिकमा २० हजार १ हेक्टरमा लगाएको धानबालीमा क्षति पुग्दा ७५ हजार ६ सय ७४ टन कम उत्पादन हुने अनुमान गरिएको छ ।

असोजको बाढीले मधेश र कात्तिकको बाढीले कोशीमा धेरै क्षति
असोजको वर्षाले सबैभन्दा बढी मधेशमा क्षति पुगेको कृषि मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । ‘क्षतिका हिसाबले मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ ३ अर्ब ३५ करोड ५५ लाख १६ हजारको क्षति भएको छ र आठै जिल्लामा रोपिएको धानबालीमा क्षति भएको छ भने तरकारी, फलफूल, उखु र पशुधन पनि प्रभावित भएका छन्,’ प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, कोशी प्रदेशमा ३६ करोड ८३ लाख ८९ हजारबराबरको क्षति हुँदा धान, तरकारी, अलैँची, अदुवा, केरा, आलु, चिया र कोदोबाली मुख्य छन् । बागमतीमा २ करोड ४ लाख ५४ हजार, गण्डकीमा १२ लाख ८० हजार र लुम्बिनीमा १ करोड ५६ लाख १४ हजारको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

कात्तिक १५–१७ सम्मको वर्षाले भने कोशी प्रदेशमा धेरै क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । ‘प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी २ अर्ब ५ करोड ४३ लाख ६७ हजार रुपैयाँको आर्थिक नोक्सानी भएको देखिन्छ भने त्यसपछि बागमती प्रदेशमा ४७ करोड ७६ लाख ३४ हजार, मधेश प्रदेशमा २२ करोड ४७ लाख २३ हजार, लुम्बिनीमा १३ करोड ६८ लाख २३ हजार र सबैभन्दा कम गण्डकी प्रदेशमा १ करोड ८० लाख ६१ हजार रुपैयाँको आर्थिक नोक्सानी भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । कोशीको धानबालीमा मात्रै २ अर्ब १ करोड ४३ लाख ६७ हजारबराबरको क्षति भएको छ ।

कात्तिकको वर्षाले पाँचवटा प्रदेशमा २१ हजार १ सय ८९.४९ हेक्टरमा धान, तरकारी, आलु, केरा, कोदो, दलहन र तेलहनको उत्पादनमा करिब ८४ हजार ८ सय दुई टन कम उत्पादन हुने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले दिएको सुझाव

- सरकारले निश्चित मापदण्डका आधारमा पीडित किसानलाई राहत उपलब्ध गराउने

- कोशीमा स्थानीय तहमार्फत किसानहरूको उत्थानका लागि पशुपन्छी पालन पुनर्स्थापना कार्यक्रम लागू गर्ने

- मधेशमा स्थानीय तहमार्फत साना किसानको उत्थानका लागि माछापालन पुनर्स्थापना कार्यक्रम गर्ने । 

- दुवै प्रदेशमा पुनर्स्थापना कार्यक्रम सञ्चालनका लागि संघीय ससर्त अनुदान र प्रदेश ससर्त अनुदान कार्यक्रमको बजेटसमेत प्रयोग गर्ने । 

- विकास साझेदार निकाय (आइएनजिओ)लाई अनुदान कार्यक्रम लागू गर्न प्रोत्साहन गर्ने । अब लगाउने बालीहरू गहुँबाली, तरकारी, बीउ–विजन, माछा भुरा तथा मलखाद आदिको उपलब्धतालाई सहज बनाउने ।

- बिमा नगरेका प्रभावित किसानलाई बिमा प्राधिकरणबाट स्वीकृत कार्यविधिलाई आधार मानेर बढीमा ६५ प्रतिशतसम्म राहत रकम उपलब्ध गराउने ।

- बेमौसमी वर्षाको कारण खेत, बारी, पाखाहरूमा पहिरो, डुबानले खेतीयोग्य जग्गामा पुगेको हानि–नोक्सोनी स्थानीय तहबाट गरिएको यकिनका आधारमा श्रमिक संख्या दरमा खेतीयोग्य जग्गा सुधारका लागि ज्याला रकम राहतस्वरूप उपलब्ध गराउने । 

कृषि मन्त्रालयकी प्रवक्ता डा. जानुका पण्डित भन्छिन्–
बेमौसमी वर्षाले कृषि क्षेत्रमा ठुलो क्षति पुगेको प्रतिवेदनबाट प्रस्ट भइसकेको छ । उक्त क्षति व्यहोरेका किसानलाई आउँदा दिनमा कसरी सम्बोधन गर्ने, राहतका लागि के कसो गर्ने भन्नेबारेमा छलफल अघि बढेको छ ।

क्षतिको विवरण संकलनका लागि गठित कार्यादलले प्रतिवेदन दिएको र प्रतिवेदनका आधारमा राहतलगायतका विषयमा आवश्यक छलफल भइरहेको छ । राहत वितरणका लागि गृह मन्त्रालयमा रहेको संयन्त्रसँग पनि छलफल गर्छौँ । 

सुझावित समाचार