कांग्रेसमा सुरु भयो नेतृत्वको दौड

गगन र शेखरबिच सहकार्यको प्रयास

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण
  • संस्थापन पक्षका पूर्णबहादुर खड्का, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला तथा इतरपक्षका डा. शेखर कोइराला र गगन थापा प्रमुख दाबेदार 

डेढ महिना लामो रस्साकस्सीपछि २६–२८ पुसमा १५औँ महाधिवेशन गर्ने निर्णयलगत्तै कांग्रेसमा भावी नेतृत्वको दौड औपचारिक रूपमा सुरु भएको छ । सभापति शेरबहादुर देउवाले अवकाश लिने निश्चित भएकाले भावी नेतृत्वका लागि संस्थापन र इतरपक्षले आ–आफ्नो समूहमा भावी सभापति खोज्न थालेका छन् । 

हालसम्म संस्थापनबाट पूर्णबहादुर खड्का, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला तथा इतरपक्षबाट गगन थापा र डा. शेखर कोइराला सभापतिका दाबेदार देखिएका छन् । नेतृत्वको दाबीसँगै नेताहरू महाधिवेशनकेन्द्रित ध्रुवीकरण र अंकगणितको जोडघटाउमा पनि लागेका छन् । 

संस्थापनमा एकरूपता नदेखिए पनि कार्यवाहक सभापति खड्का प्रमुख दाबेदार मानिएका छन् । ‘उहाँले अहिलेसम्म चाहना व्यक्त गर्नुभएको त छैन । तर, अहिले कार्यवाहक रहेकाले संस्थापनबाट स्वाभाविक उम्मेदवार हुनुहुन्छ,’ खड्कानिकट एक नेता भन्छन्, ‘संस्थापनकै अन्य शीर्ष नेताले पनि स्वीकार गरे उहाँ साझा उम्मेदवार हुनुहुन्छ ।’ 

संस्थापन पक्षका अन्य नेताहरू प्रकाशमान सिंह, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, एनपी साउद, रमेश लेखक पनि साझा उम्मेदवारका पक्षमा छन् । तर, सभापति देउवाले कोप्रति सद्भाव देखाउँछन् भन्ने कुनै संकेत दिएका छैनन् । अब आफू नेतृत्वमा नआउने घोषणा गरेका देउवाले भावी नेतृत्वमा कसलाई ल्याउने भन्नेबारे आन्तरिक छलफलमा समेत मुख खोलेका छैनन् । 

कांग्रेसका एक प्रभावशाली नेताका अनुसार पूर्वपदाधिकारीहरूले कार्यवाहक सभापति खड्कालाई भावी सभापतिका रूपमा स्वीकार गर्ने सम्भावना कम छ । ‘किनभने उहाँहरूले कार्यवाहक सभापतिका रूपमा खड्कालाई स्वीकार गर्न सक्नुभएन । महाधिवेशन विवाद मिलाउन सभापति देउवाकै भूमिका खोज्नुभयो,’ ती नेता भन्छन्, ‘यद्यपि, यस सम्बन्धमा सभापति देउवाकै भूमिका निर्णायक हुनेछ ।’ 

महामन्त्री थापाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । ‘म १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ । मलाई विश्वास छ– साथीहरूले मलाई अवसर दिनुहुनेछ,’ हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा थापाले भनेका छन् । उनीनिकट केन्द्रीय सदस्य अजय सिवाकोटीले भने, ‘पहिला हामीसँग, सानो समूहमा भन्नुभएको थियो । उहाँले सार्वजनिक रूपमा घोषणा गरेर मैदानमा प्रवेश गर्नुभएको हो ।’ 

थापाले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका प्रतिनिधिले आफूलाई समर्थन गर्ने विश्वास लिएका छन् । तर, उनीहरू पनि विभाजित छन् । विशेष महाधिवेशनको एजेन्डामा थापाले सहयोग गरे पनि त्यसका अगुवा गुरुराज घिमिरेलगायत भने बुधबार शेखर कोइरालाको पक्षमा खुलेका छन् । 

अघिल्लो महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा देउवाका निकटतम प्रतिद्वन्द्वी डा. कोइरालाले सभापतिका प्रबल दाबेदारका रूपमा देशदौडाहा गरिसकेका छन् । कांग्रेस पूर्वमहामन्त्री रहेका डा. शशांक कोइरालाले मंगलबार चितवनमा भनेका छन्, ‘शेखर दाइ र म सल्लाह गर्छौँ, हामीमध्ये एक सभापतिका उम्मेदवार हुन्छौँ ।’ शशांकले नेता शेखरलाई समर्थन गर्ने संकेत गरेका छन् । शेखरनिकट एक नेता भन्छन्, ‘शेखर दाइ नेता–कार्यकर्तासँग व्यक्तिगत रूपमा सम्पर्कमा हुनुहुन्छ । यसपटक कोइराला परिवार पनि एक ठाउँमा आउने स्थिति छ ।’

पूर्वउपसभापति विमलेन्द्र निधिले यसपटक सर्वसम्मत रूपमा सभापति चयन हुनुपर्नेमा जोड दिँदै प्रतिस्पर्धाको अवस्थामा उम्मेदवारी दिने बताए । ‘मैले साथीहरूसँग छलफल गर्न बाँकी छ । तर, निर्विरोध नेतृत्व छान्ने अवस्था नआए म उम्मेदवारी दिन्छु,’ निधिले नयाँ पत्रिकासँग भने, ‘अहिले संविधान र लोकतन्त्रलाई ट्र्याकमा ल्याउन, प्रणाली सुरक्षित गर्न र कांग्रेसलाई एक बनाउन सर्वसम्मतिले सभापति चयन हुनुपर्छ । निर्विरोध सभापति चुनिनुपर्छ । जसको नाममा सहमति हुन्छ म मान्न तयार छु ।’ 

सिटौलाले सभापतिमा उम्मेदवारी दिने सम्भावना रहे पनि खुलेका छैनन् । ‘उहाँ एक दाबेदार हो । तर, उहाँले या त निधिलाई समर्थन गर्नुहुन्छ अथवा आफ्ना मानिसलाई पदाधिकारीसहित सिट सुनिश्चित गरेर पछि हट्नुहुन्छ,’ कांग्रेसका एक संस्थापनपक्षीय नेताले भने । तर, यसबारे कुरा गर्न खोज्दा सिटौला सम्पर्कमा आएनन् । 

संस्थापन पक्षका नेता नैनसिंह महरले अहिले कसैले कसैका लागि त्याग गर्ने परिस्थिति कांग्रेसमा नभएको बताए । उनका अनुसार नेतृत्वको दाबेदार गर्ने नेताहरू अर्को महाधिवेशनमा अवकाश लिनुपर्ने अवस्थाका छन्, त्यसैले सबैले अन्तिम प्रयत्न गर्ने अवस्था छ । ‘कांग्रेसमा अहिले कोही कसैको होइन । केन्द्रको गुट–उपगुटले पनि अर्थ राख्दैन । अहिलेको हिसाब–किताबको अर्थ छैन,’ उनी भन्छन्, ‘नेताहरूको उमेर र प्रतिबद्धताका कारण अन्तिम लडाइँ लड्दै हुनुहुन्छ । अहिलेका पूर्वपदाधिकारीदेखि सिनियर नेताहरू पनि अन्तिमपटक भूमिका खोज्ने क्रममा हुनुहुन्छ । महामन्त्री गगनजीले पनि ५५ वर्षमा अवकाश लिन्छु भन्नुभएको थियो । उहाँका लागि पनि यो अन्तिम मौका हो । त्यसैले कसैले कसैका लागि त्याग गर्ने परिस्थिति छैन ।’

गगन र शेखरबिच सहकार्यको प्रयास 
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानका अगुवा एवं कांग्रेस नेता गुरुराज घिमिरेको अगुवाइमा बुधबार डा. शेखर कोइरालापक्षीय नेताहरूसँग छलफल भएको छ । छलफलमा कोइरालालाई सभापति बनाउनुपर्ने र महामन्त्री गगन थापालाई पनि एकै ठाउँमा ल्याउनुपर्नेमा सबैको जोड थियो । विराटनगर रहेका कोइराला भने छलफलमा थिएनन् । 

‘डा. शेखर कोइराला सबैका नेता भएको हुनाले उहाँ सभापति हुनुपर्छ । महाधिवेशन तालिका इमानदारीपूर्वक पालना हुनुपर्छ । समयमा नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशन हुन्छ । गगन र शेखर एकै ठाउँमा उभिनुपर्छ, दुवैलाई मिलाउनुपर्छ,’ छलफलमा घिमिरेले भनेका थिए । विशेष महाधिवेशनको एजेन्डामा भने महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मासँग उनी निकट भएका थिए । तर, छलफलमा सहभागी एक नेताले भने, ‘गुरुजीले आफनो कित्ता स्पष्ट पार्नुभयो । उहाँ शेखर दाइका पक्षमा पुन: स्पष्ट हुनुभयो ।’

त्यसलगत्तै नेताहरू जीवन परियार, अर्जुननरसिंह केसी, बद्री पाण्डे, गोविन्दराज पोखरेल र भरत खड्काले छलफल गरेका थिए । उनीहरूले पनि गगन र शेखरबिच सहमति कायम गरेर जानुपर्नेमा जोड दिएका थिए । दुवै नेताले सभापतिको उम्मेदवारका रूपमा आफूलाई अघि सारिसकेका छन् । 

सुझावित समाचार