मकालु फ्रेन्ड्स नवौँ पांमा कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संखुवासभाको खाँदबारी नगरपालिका–४, पांमास्थित भगीवन्त रंगशालामा बुधबार भएको सेमिफाइनलमा खाँदबारी युथ क्लब (केवाइसी)लाई ४–० ले हराउँदै मकालु फाइनलमा पुगेको हो।
मकालु फ्रेन्ड्सका विजय उरालले दुई र विकेन राईले एक गोल गर्दा खाँदबारीले आत्मघाती एक गोल गर्यो। सुरुदेखि नै मकालु फ्रेन्ड्सले दबदबा बनाएको खेलमा खाँदबारीले कुनै गोल फर्काउन सकेन।
खेलको म्यान अफ द म्याच मकालु फ्रेन्ड्सका विजय उराल घोषित भए। उनलाई खाँदबारी नगरपालिका– १ का वडाध्यक्ष निरन्जन श्रेष्ठले नगद ३ हजार रुपैयाँसहित पुरस्कृत गरे।
बिहीबार सभापोखरी र सोमबारे भोजपुरबिच सेमिफाइनलको अर्को खेल हुनेछ। यी दुईमध्येका विजेताले मकालु फ्रेन्ड्ससँग उपाधिका लागि भिड्नेछ।