एनपिएल : आज लुम्बिनी र विराटनगरबिच प्रतिस्पर्धा

प्लेअफमा पुग्ने र सम्भावना बलियो राख्ने समीकरण बनेको प्रतिस्पर्धामा विराटनगर र लुम्बिनी हार्न चाहँदैनन्

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज लुम्बिनी र विराटनगरबिच प्रतिस्पर्धा हुँदै छ । विराटनगर विजयी हुँदा १० अंकका साथ प्लेअफमा पुग्नेछ । विराटनगसँग पराजित हुँदा लुम्बिनी गणितीय आधारमा मात्र प्लेअफमा पुग्ने सम्भावना रहनेछ । तर, विराटनगरलाई हराउँदा लुम्बिनीको शीर्ष चारको सम्भावना बलियो हुनेछ । यस्तो अवस्थामा विराटनगरले अर्को खेलको नतिजा कुर्नुपर्नेछ । 

प्लेअफमा पुग्ने र सम्भावना बलियो राख्ने समीकरण बनेको प्रतिस्पर्धामा विराटनगर र लुम्बिनी हार्न चाहँदैनन् । लगातार तीन खेलमा जित निकालेको विराटनगर उत्कृष्ट लयमा छ । लगातार तीन हारपछि लुम्बिनीले पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो । यसै जितले लुम्बिनीको पनि शीर्ष चारमा रहने सम्भावना जीवितै बनेको हो । विराटनगरको सबैभन्दा बलियो पक्ष नै ब्याटिङ हो । 

दक्षिण अफ्रिकाबाट अन्तर्राष्ट्रिय खेलका अनुभवी खेलाडी फाफ डु प्लेसिसको आगमनमा विराटनगर हौसिएको छ । उनी आएसँगै विराटनगरको मध्यक्रम थप बलियो देखिएको छ । विश्व क्रिकेटमै फरक नाम कमाएका डु प्लेसिसले आफ्नो पहिलो एनपिएलमा प्रभाव छाड्ने बताएका छन् ।

लुम्बिनीकाे ब्याटिङमा कप्तान रोहित पौडेल मात्र चलेका छन् । उनले औसत ३० रनमाथि ब्याटिङ गरिरहेका छन् । लुम्बिनीबाट सर्वाधिक रन बनाउने खेलाडीमा उनी अगाडि छन् । यद्यपि, लुम्बिनीमा सन्दीप जोरा, सेर मल्ल तथा डार्ची सर्टजस्ता आक्रामक ब्याट्सम्यान भए पनि सोचेजस्तो योगदान दिन नसक्दा मध्यक्रम कमजोर देखिएको हो । 

बलिङमा विराटनगरसँग लेग स्पिनर तथा कप्तान सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरिरहेका छन् । उनी एनपिएलकै दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । डी लांगे, प्रतिश जिसी र सुभम राञ्जनेले सुरुदेखि नै विकेट लिने क्षमता राख्दा लुम्बिनीका ब्याट्सम्यान उनीहरूविरुद्ध सजक भएर खेल्नुपर्ने अवस्था छ । पहिलो सिजनमा विराटनगरले कीर्तिमानी लक्ष्य पछ्याउँदा लोकेश बम तथा बसिर अहमादले उत्कृष्ट ब्याटिङ गरेका थिए । खेल दिउँसो ४ बजेबाट सुरु हुँदै छ ।

See More On

सुझावित समाचार