निर्वाचनमा उम्मेदवार सिफारिसमा कांग्रेसले बनायो १० मापदण्ड

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

पुस अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले राष्ट्रिय सभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न १० बुँदे मापदण्ड तय गरेको छ । समानुपातिक उम्मेदवारसमेतको हकमा ती मापदण्ड लागू हुने कांग्रेसले जनाएको छ । 

केन्द्रीय समिति बैठक सकिएको भोलिपल्ट कांग्रेसले आन्तरिक पंक्तिमा पठाएको सर्कुलरमा अघिल्लोपटक प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आसन्न निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार हुन रोकेको छ । यस्तै, ‘२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न पाइनेछैन’ कांग्रेस सर्कुलरमा छ ।

कांग्रेसले मापदण्डसम्बन्धी सर्कुलर मंगलबार प्रदेश सभा क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति, जिल्ला समिति र प्रदेश समितिका सभापतिका नाममा पठाएको सर्कुलरमा भनिएको छ, ‘२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउनेछैनन् ।’

यस्तै, कांग्रेसले कुनै पनि प्रकारको सामाजिक विसंगतिमा दोषी ठहर भएकालाई उम्मेदवार नबनाउने मापदण्ड बनाएको छ । चुनावी उम्मेदवार सिफारिसका क्रममा बनाइएको मापदण्डको दोस्रो बुँदामा छ, ‘जातीय विभेद, घरेलु हिंसा, बालश्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन् ।’ 

यस्तै, कांग्रेसले प्रदेश सभा सदस्य निर्वाचन, ०७९ को समानुपातिकको बन्दसूचीमा समावेश व्यक्तिहरूको नाम प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवारमा सिफारिस गर्न नपाइने मापदण्ड बनाएको छ । यसबाहेक प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पदमध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिस गर्नुपर्ने मापदण्ड पनि कांग्रेसको छ । तोकिएबमोजिमको लेबी तोकिएबमोजिम पार्टी निकायमा नबुझाउने व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने कांग्रेसको मापदण्ड छ । 

सुझावित समाचार