बागलुङ नगपालिकाको आयोजनामामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार सुरु भएको प्रतियोगितामा मंगलबार कटारी नगरपालिका उदयपुर र बेनी नगरपालिका म्याग्दी विजयी भएपछि सेमिफाइनल समीकरण पूरा भएको हो।
प्रतियोगितामा बागलुङ नगरपालिका (निलो) र पैयुँ गाउँपालिका पर्वत सेमिफाइनल प्रवेश गरिसकेका छन्। मंगलबार भएको पहिलो खेलमा विभागीय टिम गण्डकी प्रदेश प्रहरीलाई पराजित गर्दै उदयपुरको कटारी नगरपालिका अन्तिम चारमा प्रवेश गरेको हो।
बागलुङ नगरपालिका–१, बांगेचौर खेलमैदानमा निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। कटारीले टाइब्रेकरमा ४–२ को जित निकाल्यो।
टाइब्रेकरमा कटारीका गोलकिपर सागर मगर नायक बने। मगरले प्रहरीका सन्दीप तामाङ र अंकित गुरुङको प्रहार बचाएका थिए। टाइब्रेकरमा कटारीको लागि डिकेस लामा, गणेश भुजुल, पवन पाख्रिन र हेमन्त भुजेलले गोल गरे। प्रहरीको लागि सुमित श्रेष्ठ र सरोज टिटुङले गोल गरे। कटारी नगरपालिकाले बुधबार आयोजक बागलुङ नगरपालिका (निलो)सँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ।
मंगलबार नै भएको दोस्रो क्वाटरफाइनल खेलमा आयोजक बागलुङ नगरपालिका (सेतो)लाई १–२ गोलअन्तरले पराजित गर्दै बेनी नगरपालिका म्याग्दी अन्तिम चारमा प्रवेश गरेको छ। खेलको पाँचौँ मिनेटमा बेनीका बिनम थजालीले गोल गर्दै बेनीलाई अग्रता दिलाएका थिए। बिनमले डिबक्सबाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो।
बेनीका बिनमले खेलको ७१औँ मिनेटमा व्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गरे। बिनमले डिबक्समा डिफेन्डर र किपरलाई बिट गर्दै गोल गरेका थिए। बागलुङको लागि खेलको ७६औँ मिनेटमा विशाल घलानले गोल गरे। निर्धारित समयमा बागलुङले गोलको लागि सुन्दर मौका पाए पनि गोल गर्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरिएको छ।
बेनीले बुधबार फाइनल प्रवेशको लागि पर्वतको पैयुँ गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ। बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल १८ मंसिरमा हुनेछ । प्रतियोगिताको विजेता टिमले तीन लाख ३३ हजार ३३३ रुपैयाँ र उपविजेताले दुई लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ ।