कर्णाली उपाधि होडबाट बाहिरियो, पोखराको सम्भावना यथावत

मंगलबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण
कर्णाली उपाधि होडबाट बाहिरियो, पोखराको सम्भावना यथावत

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

इंग्लिस ब्याटर एडम रोसिङ्टनको शतकप्रेरित पोखरा एभेन्जर्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा प्लेअफ सम्भावना बलियो बनाएको छ। यता, पोखरासँग ३४ रनले पराजित कर्णाली याक्सको भने एक खेलअघि नै प्लेअफ सम्भावना सकियो।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै दुई सय १ रन बनायो। एनपिएल इतिहासमा दोस्रोपटक दुई सय रनमाथिको रन बनेको हो। यसअघि विराटनगरले पोखराविरुद्ध नै दुई सय २० रन बनाएको थियो। प्रत्युत्तरमा कर्णाली १९ ओभरमा अल आउट हुँदा मात्र १६७ रन बनाउन सक्यो।

कर्णालीले ६ खेलमा ५ हार बेहोर्दै बाहिरिएको हो। टोलीले एकमात्रै जित लुम्बिनीविरुद्ध निकाल्यो। यो हारपछि कर्णाली तालिकाको पुछारमा झरेको छ। कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले हरायो। त्यसपछि टोली सुदूरपश्चिमसँग ४५ रन, विराटनगरसँग ३ तथा काठमाडौंविरुद्ध ५ विकेटले पराजित भएको हो। 

पोखराले भने पाँच खेलमा दोस्रो जित निकाल्दै सम्भावना कायम राखेको छ। पोखराले यसअघि तेस्रो खेलमा जनकपुरविरुद्ध २५ रनको जित निकालेको थियो। त्यसअघि विराटनगरसँग पहिलो खेलमा ५३ रन, दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रन तथा चौथो खेलमा लुम्बिनीसँग ३ विकेटले पराजित भएको हो। लिगमा पाँच खेल नै जितको सुदूरपश्चिम दुई खेलअघि नै प्लेअफमा स्थान बनाइसकेको छ। अब, तीन स्थानको लागि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ। 

कर्णालीको लागि मार्क वाटले अर्धशतक बनाए। उनले ३४ बलमा चार चौका र पाँच छक्कासहित सर्वाधिक ५९ रन बनाएका हुन्। उनलाई स्पिनर किरण ठगुन्नाले तृतराज दासबाट क्याच गराए। यसअघि स्कटल्यान्डका उनले लुम्बिनीविरुद्ध शतक बनाएका थिए। अफगानिस्तानका नाजिवुल्लाह जाद्रनले १५ बलमा दुई चौका र १ छक्कासहित २४ रनको योगदान गरे। १४ बलमा १९ रन बनाएका पवन सरार्फलाई ऋषी धनवले कुशल भुर्तेलबाट क्याच गराएका हुन्। 

पहिलो पटक अवसर पाएका जयकिशन कोल्सावाल पनि चल्न सकेनन्। उनी १० बलमा ६ रन बनाउँदा आउट भए। आशा गरिएका गुल्शन झा पनि ९ रन बनाएर आउट भएपछि कर्णाली दबाबमा आएको थियो। दोस्रो विकेटको लागि वाट र कोल्सावालाले सर्वाधिक ४३ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको लागि पाञ्चाल र मार्क वाटबीच ३४ रनको साझेदारी भएको थियो। 

पहिलो पटक अवसर पाएका दिपेन्द्र रावतले पनि १० रन बनाए। उनी सोमपाल कामीसँग तालमेल नमिल्दा रनआउट हुन पुगे।  सोमपाल १३ तथा दोस्रो पटक अवसर पाएका युनिय विक्रम ठकुरी पनि १ रन बनाएर आउट भए।

पोखराका ऋषि धवनले तीन विकेट लिए। उनी पहिलो खेलमै सफल देखिए। धनञ्जय लक्षणले दुई तथा किरण ढगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले समान एक विकेट लिएका थिए।

यसअघि पहिलो इनिङ्समा पोखराको लागि ओपनर रोसिङ्टनले अविजित सर्वाधिक एक सय ८ रन बनाए। ३२ वर्षीय ओपनरले ५८ बलमा ११ चौका र ७ छक्का हिर्काएका हुन्। उनी दोस्रो एनपिएलमा शतक बनाउने दोस्रो खेलाडी हुन्। यसअघि कर्णालीकै मार्क वाटले लुम्बिनीविरुद्ध एक सय १४ रनको बनाएका थिए। पहिलो एनपिएलमा पोखराकै आन्द्रेस गौसले लुम्बिनीवरुद्ध नै एक सय १०४ रन बनाएका थिए। योसँगै एनपिएलमा कूल तीन शतक बनेका छन्। तीनै शतक विदेशी खेलाडीले बनाएका हुन्।

एडामले ५५ बलमा ११ चौका र ६ छक्कासहित एक सय एक रन पूरा गरेका थिए। उनले नन्दन यादवलाई १८.५ ओभरमा चौका हान्दै शतक बनाएका हुन्। यसअघि रोसिंघटनले ३० बलमा सात चौका र २ छक्कासहित ५० रन बनाएका हुन्।

पोखराका एडाम रोसिंघटन र जासन रोयले दोस्रो विकेटको लागि शतकीय साझेदारी गरेपछि ठूलो स्कोर बन्यो। कप्तान तथा मार्की कुशल भुर्तेल ४.५ ओभर ३४ रन बनाउँदा आउट भएपछि दुई खेलाडीबीच दोस्रो विकेटको लागि ७१ बलमा १ सय २७ रनको साझेदारी भएको हो। पहिलो पटक एनपिएल खेलिरहेका जासनले पहिलो खेलमै ४६ रन बनाए। अघिल्लो दिनमात्रै नेपाल आएका उनले ३३ बलमा २ चौका र ३ छक्का हिर्काएका थिए।

कर्णालीका नन्दन र वाटले समान एक विकेट लिए। अन्य खेलाडी विकेट बिहिन भए। मार्की सोमपाल कामी भने महंगो सावित भए। उनले ४ ओभरमा ५० रन खर्चिँदा विकेटबिहिन भएका हुन्। गुल्शन झाले पनि ३ ओभरमा ३५ रन  खर्चिदा विकेट लिन सकेनन्। युवा स्पिनर बिपिन शर्मा, दीपेन्द्र रावत र युनिसविक्रम सिंह ठकुरी पनि विकेट लिन असफल भएका थिए।

आज नै भएको पहिलो खेलमा जनकपुरले पहिलो जित निकाल्दा चितवन राइनोजलाई हराएको छ।

प्रतियोगिताअन्तर्गत बुधबार एक मात्रै खेल हुनेछन्। चार बजे हुने खेलमा विराटनगर किंग्स र लुम्बिनीबिच प्रतिस्पर्धा हुनेछ।

सुझावित समाचार