रुपन्देही उद्योग संघले सल्लाहकार चयन गरेको छ। नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद पराजुलीले एक प्रेस विज्ञप्ति जारी गर्दै संघको सल्लाहकार समिति मनोनीत गरेको जानकारी गराएका छन्।
संघको सल्लाहकार समिति संयोजकमा संघका पूर्वअध्यक्ष माधवप्रसाद पौडेल, सदस्यहरूमा अस्मिता कापी उद्योग बुटवलका सञ्चालक ऋषिबहादुर भण्डारी, मनकामना हाइड्रो इलेक्ट्रिक प्रोडक्ट्रसका सञ्चालक हिरामणि भट्टराई, त्रिशक्ति फर्निचर उद्योगका सञ्चालक सुरेन्द्र ज्ञवाली, धनगढी ढुवानी सेवाका सञ्चालक माधव नेपाललाई मनोनयन गरेका छन्।
त्यस्तै, लालहरि पाण्डे (आर्थिक), ज्ञानप्रसाद अर्याल (प्राविधिक) र रामप्रसाद आचार्य (प्रेस) सल्लाहकारमा मनोनयन भएका छन्। संघको गत कात्तिक २२ गते सम्पन्न २४औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष पराजुलीले संघको विधानको अधिकार प्रयोग गरी सो सल्लाहकार समिति गठन गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जनाएका छन्।
संघका कार्यक्रम, योजना तथा नीति निर्माणमा सुझाव सल्लाह लिने उद्देश्यसहित विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तिहरूलाई सल्लाहकारको रूपमा अध्यक्षले मनोनीत गर्ने संघको व्यवस्था रहेको छ।