अनिल र सदाकतको सानदार अर्धशतकसँगै जनकपुरको पहिलो जित

मंगलबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

ओपनर माज सदाकत र अनिलकुमार साहको सानदार अर्धशतकसँगै साबिक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित निकालेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो पाँचौँ खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हरायो।

टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७७ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाउँदै प्रतियोगितामै पहिलो जित निकाल्यो। 

लगातार चार खेलमा पराजित भएर तालिकाको पुछारमा रहेको जनकपुरले पहिलो जित निकालेसँगै प्लेअफ सम्भावना कायम राखेको छ। टोली पाँचौँ खेलमा आएर पहिलो जित निकाल्न सफल भयो। आजको खेलमा हार व्यहाेरेकाे भए साबिक विजेता प्रतियोगिताबाटै बाहिरिने थियो। जनकपुर पहिलो खेलमा काठमाडौंसँग पाँच विकेट, दोस्रो खेलमा विराटनगरसँग नाै रन, पोखरासँग २५ रन तथा चौथो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो। 

चितवन भने प्रतियोगितामा तेस्रो हार व्यहोर्न बाध्य भयो। चारमध्ये दुई खेल जितेर चार अंक जोडेको चितवनको पनि प्लेअफ सम्भावना यथावत् छ। जनकपुरविरुद्ध जित निकालेको भए, टोलीको सम्भावना बलियो हुने थियो। चितवनले पहिलो खेलमा कर्णालीलाई चार तथा विराटनगरलाई ४८ रनले पराजित गरेको थियो भने लुम्बिनीसँग ६ विकेट तथा काठमाडौंसँग ५३ रनले हारेको हो। तालिकामा पाँचमध्ये पाँचै खेल जितेको सुदूरपश्चिम राेयल्सले १० अंक जोड्दै प्लेअफमा स्थान बनाइसकेको छ। अब तीन स्थानका लागि सात टोलीबिच प्रतिस्पर्धा हुनेछ। 

जनकपुरको पहिलो जितमा ओपनर माज सदाकत र अनिलकुमार साहले अर्धशतक बनाए। दुई खेलाडीबिच ७९ रनको साझेदारी भएपछि टोलीले पहिलो जित निकाल्न सफल भयो। ५.१ ओभरमा कुल ४५ रन बनाउँदा आसिफ शेख आउट भएपछि दुई खेलाडीले ११.२ ओभरसम्म खेल्दै १२४ रन बनाएका थिए। 

सदाकतले ३० बलमा ६ चौका र चार छक्कासहित सर्वाधिक ६३ रन बनाए। उनी अमरसिंह रौटेलको बलमा कप्तान कुशल मल्लबाट क्याचआउट भए। सदाकतले एनपिएलमा पहिलो अर्धशतक बनाउने क्रममा २४ बलमै ५० रन हिर्काएका थिए।

तेस्रो नम्बर क्रिजमा पुगेका अनिलले पनि प्रतियोगितामा पहिलो अर्धशतक बनाए। लगातार तीन खेलमा खराब प्रदर्शनपछि उनी चौथो खेलमा बेन्चमै थन्किन पुगे। यति मात्रै हाेइन, अनिलको कप्तानी पनि खोसियो। विदेशी खेलाडी वायनी पार्नेलले टोलीको कप्तानी गरिरहेका छन्। एनपिएलका कुनै पनि विदेशी खेलाडीले कप्तानकाे जिम्मेवारी पाएको यो नै पहिलोपटक हो। 

टोलीको पाँचौँ खेलमा अनिलले सानदार कमब्याक गरे। उनले ३६ बलमा चार चौका र तीन छक्कासहित ६१ रन बनाए। यसअघि अनिलले २८ बलमा दुई चौका र तीन छक्कासहित ५० रन बनाएका थिए। पहिलो विकेटको लागि आसिफ र सदाकतले ४५ रनको साझेदारी गरेका थिए।

अर्का ओपनर आसिफ शेखले १८ बलमा तीन चौकासहित १८ रन बनाए। जान निकोल इटनले नाै बलमा ११ रन बनाएर रनआउट भए। आदित्य महताले सात बलमा अविजित १८ रन बनाएका थिए। 

यसअघि पहिलो इनिङ्समा चितवनका लागि डेबिड मालम र अर्जुन कुमालले शतकीय साझेदारी गरेका थिए। दुई खेलाडीबिच पहिलो विकेटका लागि ११२ रनको साझेदारी भयो। डेबिड मालमले सर्वाधिक ८० रन बनाए। उनले ५४ बलमा चार चौका र पाँच छक्का हिर्काएका हुन्। यसअघि मालमले ३८ बलमा दुई चौका र चार छक्कासहित ५० रन बनाएका थिए। 

१३.४ ओभरमा अर्जुन आउट हुँदा ५२ रन बनाए। उनले ३९ बलमा चार चौका र तीन छक्का प्रहार गरेका हुन्। यसअघि अर्जुनले ३७ बलमा ५० रन जोडेका थिए। दुवै खेलाडीले पहिलोपटक एनपिएलमा अर्धशतक बनाएका हुन्।

कप्तान तथा मार्की कुशल मल्लले १३ बलमा समान दुई चौका र छक्कासहित २८ रनको योगदान गरे। सेइफ जेइवले पाँच बलमा एक छक्कासहित सात रन जोडे। अघिल्लो तीन खेलमा लगातार अर्धशतक बनाएका रवि बोपराले पनि पाँच बलमा मात्र तीन रन बनाए। इंग्ल्यान्डबाट तीनै फर्म्याटको खेल खेलेका उनी एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्। 

जनकपुरका लागि अनिल साह, माज सदाकत, रूपेश सिंह र जान निकोल इटनले समान एक विकेट लिएका थिए। खराब प्रदर्शनपछि जनकपुरले ललित राजवंशीलाई विश्राम दिएको छ। 

आज नै हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन्। प्लेअफ सम्भावना कायम राख्न यो दुवै टोलीलाई पनि जित्नैपर्ने दबाब छ।

सुझावित समाचार