‘मित्र’हरूको साथविनै रुससित लड्दै छ युक्रेन

मंगलबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण
  • युक्रेन अहिले आफ्ना सहयोगीको सहयोगविनै लगभग एक्लै रुससँग लडिरहेको छ

आफू राष्ट्रपति बनेको ‘२४ घण्टाभित्र’ युक्रेन युद्ध अन्त्य गर्ने डोनाल्ड ट्रम्पको प्रतिबद्धताको समयसीमा नाघेको धेरै भइसक्यो । तथापि, विश्व अझै पनि उनले मस्को र किभलाई सम्झौतामा आउन बाध्य पार्न सक्छन् कि भनेर आशा गरी बसिरहेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका विकल्प सकिँदै गएकाले अन्तत: उनले सम्झौता स्विकार्नुपर्ने ट्रम्पको विश्वास छ । 

वास्तविकता भने ट्रम्पकै दबाबात्मक विकल्प कम भएकाले यो युद्ध रोक्न नसकिएको हो । उनी निकोलस मादुरोजस्ता नेतालाई सम्भावित सैन्य कारबाहीको धम्की दिन सक्लान् । तर, त्यस्तो दबाब भ्लादिमिर पुटिनमाथि दिन सकिँदैन । रुसी अर्थतन्त्रलाई कमजोर बनाउन लगाइएका कठोर प्रतिबन्धले अन्तत: पश्चिमी अर्थतन्त्रलाई नै असर गर्ने देखिइसकेको छ ।

शान्ति वा युद्धविरामसम्बन्धी बहस खासमा भ्लादिमिर पुटिनका लागि समय लम्ब्याउने र पुन: संगठित हुने रणनीति देखिएको छ । पुटिनको रणनीति युक्रेनी सेनालाई मात्र होइन, युक्रेनका मित्र देशहरूको धैर्य र राजनीतिक एकतासमेत कमजोर बनाउन केन्द्रित छ । 

अमेरिकाले अघि सारेको पछिल्लो शान्ति योजनामाथि व्यापक आलोचना भएपछि त्यसमा संशोधन गरिएको छ । अहिले युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको योजनाको संस्करणमाथि छलफल भइरहेको छ । किभ र युरोपेली सरकारसँगको परामर्शपछि अमेरिका शान्ति योजनाका सबैभन्दा विवादास्पद बुँदामा पछि हटेको छ । अझै पनि क्रेमलिनले ठुलो भूभागमाथि दाबी गर्दै त्यहाँबाट युक्रेनी सेना फिर्तीको माग गरिरहेको छ । यो माग पूरा नभएसम्म युद्ध नरोकिने रुसको अडान छ । उता, युक्रेनले भने आफ्ना तर्फबाट कत्ति पनि भूमि आत्मसमर्पण नगर्ने बताएको छ ।

ट्रम्प राष्ट्रपति बनेलगत्तै सुरु गरिएका कूटनीतिक कदमले कुनै उपलब्धि हासिल नहुने देखिएपछि अमेरिकाले युक्रेनलाई दिँदै आएको हतियार वितरण रोक्यो । परिणामस्वरूप अहिले हरेक युक्रेनी सैनिकले गोलीगठ्ठादेखि अन्य हतियारमा तीव्र कमी महसुस गरिरहेका छन् । किभ र अन्य प्रमुख सहरका प्रत्येक बासिन्दाले ‘वायु रक्षा प्रणाली’ अभावका कारण निरन्तर आक्रमणको जोखिम महसुस गर्न थालेका छन् । युक्रेन अहिले आफ्ना सहयोगीबाट पर्याप्त सहयोग नपाएपछि लगभग एक्लै रुससँग लडिरहेको छ । अमेरिकी सहयोग रोकिएपछि देखिएको अभाव युरोपले पूरा गरेको छैन । केही अर्ब युरोबराबरको औपचारिक सहयोगको प्रतिबद्धता गरिएको त छ । तर, प्रतिबद्धता गरिएकोमध्ये पनि धेरै कम मात्र सहयोग मैदानमा पुगिरहेको छ । युरोपेली संघका सदस्य राष्ट्रहरू युक्रेनलाई भन्दा आफ्नै सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित हुन थालेका छन् । युरोपेली संघका सदस्यहरू किभलाई समर्थन गर्दा रुस चिढिएला भन्ने जोखिमप्रति बढी नै त्रसित देखिएका छन् । अहिलेका लागि युक्रेनले ठुलो मूल्य चुकाएर रुसी सेनालाई रोक्न सक्ला । तर, उसले युद्ध पूरै आफ्नो पक्षमा उल्ट्याउन सक्ने वा जित्न सक्ने सम्भावना छैन । उसले यसअघि नै सेनाको आपूर्तिमा अभाव झेलिरहेको छ । सन् २०२२ यता सेवामा हाजिर नहुने सैनिकको संख्या दुई लाख ५५ हजारभन्दा बढीले नाघिसक्यो । त्यस्तै, सैन्य सेवाबाट भागेकाहरू भगौडाको संख्या ५६ हजारभन्दा बढी पुगेको छ । यो प्रवृत्ति घट्नुको सट्टा झन्झन् बढिरहेको छ । जस्तो, सन् २०२५ को पहिलो १० महिनामा मात्र करिब एक लाख ६२ हजार ५०० भन्दा बढी सैनिक सेवामा अनुपस्थित भएकामा २१ हजार ६०० भगौडाको मुद्दा परेको छ । केही रिपोर्टले अक्टोबरमा मात्र २१ हजारभन्दा बढीले सेना छाडेको संकेत गरेका छन्, जुन युद्ध सुरु भएपछि अहिलेसम्मको उच्चतम मासिक संख्या हो । 

युक्रेनको समग्र जानसांख्यिकीय तस्बिर नै निराशाजनक देखिन्छ । १९९० को दशकको प्रारम्भमा सोभियत संघबाट अलग हुँदा युक्रेनको जनसंख्या पाँच करोडभन्दा बढी थियो । सन् २०२५ को सुरुवातमा किभको नियन्त्रणमा रहेको क्षेत्रमा बसोवास गर्ने युक्रेनीको संख्या करिब तीन करोड १० लाख पुगेको छ । समग्रमा जन्मदर मृत्युदरभन्दा कम छ । प्रजनन दर प्रतिमहिला एक बच्चासम्म तल झरेको छ । यस पृष्ठभूमिमा, युक्रेनसँग तीन रणनीतिक विकल्प बाँकी छन् । पहिलो विकल्प, पुटिनका सबै सर्त स्विकार्नु हो । यसको अर्थ आत्मसमर्पण गर्दै ठुलो क्षेत्र त्याग्नु हो । तथापि, यस विकल्पले अहिलेभन्दा सानै सही युक्रेनी राज्य बाँकी रहनेछ । भलै, सो देश अस्थिर हुनेछ ।

दोस्रो विकल्प भनेको युक्रेनको राजनीतिक र सैन्य नेतृत्वको आमूल परिवर्तन गर्नु हो । यसमा सैन्य परिचालनको पुनर्निर्माण, कमान्ड प्रणालीमा पुनर्संरचना र युद्ध प्रयासलाई सुरुदेखि नै पुन: इन्जिनियरिङ गर्नुपर्ने हुन्छ । शान्तिकालीन अवधिका लागि बनाइएका संस्थान र सैन्य संरचनामार्फत युक्रेनले लामो युद्ध लड्न सक्दैन । युक्रनको तेस्रो विकल्प अहिले जे छ, त्यसमा केही परिवर्तन नगरी यथास्थिति कायम राख्नु हो । यस विकल्पमा क्रेमलिनको अर्थतन्त्रलाई धक्का पुर्याउने उद्देश्यले रुसी तेलका पूर्वाधारमाथिको आक्रमणलाई निरन्तरता दिने र पुटिनको मृत्युको प्रतीक्षा गर्नुपर्ने हुन्छ । तर, यो एक अवास्तविक विकल्प हो । 

जेलेन्स्की र युक्रेनका युरोपेली साझेदारका पछिल्ला टिप्पणी हेर्दा युक्रेन तेस्रो विकल्पमा अघि बढ्न लागेजस्तो देखिन्छ । तर, युक्रेन भविष्यमा पनि एक स्वतन्त्र राज्यका रूपमा जीवित रहन चाहन्छ भने उसका लागि दोस्रो बाटो उत्तम हुन्छ । यसका लागि उसले आफ्नो राजनीतिक र सैन्य नेतृत्वको आमूल पुनर्संरचना गर्नुपर्ने हुन्छ । युक्रेनले आफ्ना रणनीतिक विकल्प थप साँघुरो हुनु र आफ्नो प्रतिरोध क्षमता ध्वस्त हुनुअगावै आमूल परिवर्तन कार्यान्वयन गर्नुपर्ने हुन्छ । 

(मैदुकोभ युक्रेनी लेखक हुन्)
अल जजिराबाट

सुझावित समाचार