विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसले अन्तत: पुस २६–२८ मा १५औँ महाधिवेशन गर्ने निर्णय लिएको छ । महाधिवेशन मिति टुंगिएसँगै पार्टीभित्र नेतृत्व प्रतिस्पर्धा र ध्रुवीकरणको दौड तीव्र हुने भएको छ ।
महाधिवेशनको मिति टुंगिएसँगै कांग्रेसले कार्यतालिका पनि सार्वजनिक गरेको छ । जस अन्तर्गत वडा अधिवेशन १६ पुसमा तथा गाउँ र नगरपालिकाको अधिवेशन १७ पुसमा गर्ने कार्यतालिका छ । १९ पुसमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय र जिल्ला अधिवेशन २१ पुसमा हुनेछ । दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ठाउँमा जिल्ला अधिवेशन २२ पुसमा हुने कार्यतालिमा उल्लेख छ ।
यसबाहेक २३ र २४ पुसमा प्रदेश अधिवेशन हुनेछ भने २६–२८ पुसमा १५औँ महाधिवेशन गरिनेछ । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार वडा अधिवेशनअघि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता टुंग्याउने निर्णय भएको छ । सदस्यता व्यवस्थापन समिति र सदस्यता छानबिन समितिले विवाद समाधान गरेपछि निर्वाचन समितिले अधिवेशन सुरु गर्ने उनले बताए ।
यसअघिका कांग्रेस महाधिवेशन
१२–१३ माघ ००३, कलकत्ता (पहिलो) । २०–२१ माघ ००४, वाराणसी (दोस्रो) । १८–२० फागुन ००५, दरभंगा (तेस्रो) । २६–२७ चैत ००६, कलकत्ता (चौथो) । १०–१३ जेठ ००९, जनकपुर (पाँचौँ) । १०–१२ माघ ०१२, वीरगन्ज (छैटौँ) । २५–३१ वैशाख ०१७, काठमाडौं (सातौँ) । १–३ फागुन ०४८, झापा (आठौँ) । २६–२८ वैशाख, ०५३ काठमाडौं (नवौँ) । ६–९ माघ ०५७, पोखरा (१०औँ) । १४–१७ भदौ ०६२, ललितपुर (११औँ) । १–५ असोज ०६७, काठमाडौं (१२औँ) । २०–२३ फागुन ०७२, काठमाडौं (१३औँ) । २४–२६ मंसिर ०७८, काठमाडौं (१४औँ) । २६–२८ पुस ०८२, काठमाडौं (१५औँ निर्णय भएको)
केन्द्रीय समितिदेखि वडा तहसम्मको म्याद माघ मसान्तसम्म थपियो
विशेष महाधिवेशन पक्षधरको प्रश्न– केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो ?
२४–२७ मंसिर ०७८ मा १४औँ महाधिवेशन गरेको कांग्रेस केन्द्रीय कार्यसमितिको कार्यकाल सकिनै लाग्दा बैठकले सबै तहको दुई महिना एक साता म्याद थपेको छ । प्रवक्ता महतका अनुसार केन्द्रीय समितिसहित सबै तहको म्याद २३ मंसिरसम्म रहेकामा अब माघ मसान्तसम्म थप्ने निर्णय भएको छ ।
तर, विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट जारी साझा धारणा एवं अपिलमा २६–२८ पुसको महाधिवेशन मितिपूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमै अव्यावहारिक र अवैज्ञानिक देखिएको उल्लेख छ । केन्द्रीय कार्यसमितिको म्याद थप्ने निर्णयमा यो समूहले आशंका व्यक्त गरेको छ ।
‘पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो ? यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ । यसबिच हुने आमचुनावका विभिन्न सिफारिसहरूको अवस्था के हुन्छ ? यसको निष्पक्षता र वैधताको आधार के हो ? यसलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ,’ अभियानको अपिलमा छ ।
विशेष महाधिवेशनको निवेदन के हुन्छ ?
नियमित महाधिवेशनको मिति तय भइसकेपछि विशेष महाधिवेशनको हस्ताक्षर दर्ताबारे नेताहरूको मिश्रित धारणा छ । ‘हस्ताक्षरकर्ताहरूले महाधिवेशन समयमा हुनुपर्यो भन्ने माग गरेका थिए । हामीले पारित गरेको कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढ्ने भएकाले विशेष महाधिवेशनको कुरा अब गरिरहनुपरेन । यो स्वत: निष्क्रिय हुन्छ,’ प्रवक्ता डा. प्रकाशशरण महतले भने ।
तर, महामन्त्री थापानिकट केन्द्रीय सदस्य अजय सिवाकोटीले केन्द्रीय समितिमा सोमबार विशेष महाधिवेशनबारे छलफल नभएको र विधानत: दर्ता भएको प्रस्ताव निष्क्रिय नभएको बताए । १५औँ महाधिवेशन समयमै नभए विशेष महाधिवेशनका लागि तयार रहनुपर्ने यो समूहको भनाइ छ ।