आमनिर्वाचनअघि आन्तरिक चुनावमा कांग्रेस, महाधिवेशन २६-२८ पुसमा

मंगलबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण
  • युद्धस्तरमा काम गरे मात्र पारित कार्यतालिकाअनुसार महाधिवेशन सम्भव हुनेछ, मिति टुंगिएसँगै पार्टीभित्र नेतृत्व प्रतिस्पर्धा र ध्रुवीकरण देखिनेछ र सभापति देउवाको बहिर्गमन निश्चित भएकाले नेतृत्व नयाँ व्यक्तिको हातमा जानेछ
पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठक

आसन्न २१ फागुनको आमनिर्वाचन नजिकिँदै गर्दा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेस अन्तत: आन्तरिक चुनाव प्रक्रियामा प्रवेश गरेको छ । मितिलगायतको कार्यतालिका केन्द्रीय कार्यसमितिबाट पारित गर्दै कांग्रेसले पुस २६–२८ मा १५औँ महाधिवेशन गर्ने निर्णय लिएको छ । महाधिवेशन मिति टुंगिएसँगै पार्टीभित्र नेतृत्व प्रतिस्पर्धा र ध्रुवीकरणको दौड तीव्र हुने भएको छ ।

केन्द्रीय समिति बैठक सुरु भएको एक महिना १८ दिनपछि सोमबार कांग्रेसले क्रियाशील सदस्यता टुंग्याउनेदेखि वडा र जिल्ला अधिवेशन दु्रततर रूपमा टुंग्याएर केन्द्रीय महाधिवेशनमा जाने निर्णय लिएको छ । बैठकले सर्वसम्मत रूपमा १५औँ नियमित महाधिवेशन गर्ने निर्णय लिएसँगै कांग्रेसभित्र भावी नेतृत्वका लागि व्यापक ध्रुवीकरण र भिडन्त निश्चित भएको छ । महाधिवेशन चुनावअघि कि पछि भन्ने विवादले २८ असोजदेखि सुरु बैठक अनिर्णीत थियो ।

सभापति शेरबहादुर देउवाको प्रयासमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग शनिबार सहमति भएअनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबारको बैठकमा पुसभित्रै महाधिवेशन गर्ने तालिका पेस गरेका थिए । खड्काले सुरुमा केहीबेर भूमिका बाँधेर महाधिवेशनसम्बन्धी तालिका निर्णयार्थ पेस गरेका थिए ।

त्यसपछि सर्वसम्मतिले उनको प्रस्ताव पारित भएको एक केन्द्रीय सदस्यले बताए । ‘बैठकमा कार्यवाहक सभापतिले प्रस्ताव पेस गर्नुभयो र ताली बजाएर पारित गर्न अनुरोध गर्नुभयो । त्यसपछि जय नेपाल भनेर बैठक सकियो,’ एक केन्द्रीय सदस्यले भने, ‘यति लामो विवादपछिको बैठक २५ मिनेटजतिमा सकियो । कार्यवाहकले बोलेपछि बैठक सकियो ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सहमतिका आधारमा बैठकले २६ देखि २८ पुससम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको बताए । ‘कार्यवाहक सभापतिले पेस गरेको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ । अब सबै साथीहरूको भावनाअनुसार पुसभित्र महाधिवेशन हुन्छ,’ प्रवक्ता महतले भने ।

कार्यवाहक सभापति खड्काले सामाजिक सञ्जालमा लेख्दै देशको विषम र प्रतिकूल परिस्थितिमा महाधिवेशनसँग र जोडिएका सबै विषय सर्वसम्मतिले पारित भएको बताएका छन् । यसअघि उनले लगातार स्थगित बैठक सहमति नभएसम्म सारिरहने अभिव्यक्ति दिएका थिए ।

यसअघि १८ कात्तिकमा महामन्त्री थापाले १६–१९ पुसमा नियमित र सह–महामन्त्री महेन्द्र यादवले अर्को वर्ष २७–२९ वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । त्यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि (२४८८ जना)ले हस्ताक्षरसहित विशेष महाधिवेशन गर्न २९ असोजमा पत्र बुझाएका थिए ।

कांग्रेस विधानअनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको निवेदन दर्ता भएको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ । नियमित महाधिवेशन हुन नसके विधानअनुसार २८ पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यतासमेतका आधारमा केन्द्रीय समितिले २८ पुसमै महाधिवेशन गर्ने निर्णय लिएको हो ।

२८ असोजमा देउवाले केन्द्रीय समिति बैठकबाटै उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेका थिए । तर, खड्काले महाधिवेशनको मितिमा सहमति जुटाउन सकेका थिएनन् । यहीबिचमा सिंगापुरमा फर्केका सभापति देउवाले विवाद मिलाउन आफैँले अग्रसरता लिएका थिए ।

अबको महाधिवेशनमा नेतृत्वको दौडमा नरहने घोषणा गरेका देउवाले सहमति खोज्न सबै पक्षसँग छलफल गरेका थिए । निर्वाचनपछि महाधिवेशन हुनुपर्ने अडानमा रहेका समूहका एक सदस्य रहेका प्रवक्ता महतले यस्तै छलफलबाट सहमति बनेको सुनाए । ‘सभापतिसँग छलफल गरिसकेपछि सहमतिमा निर्णयमा भएको छ । महाधिवेशनसम्बन्धी विवाद अन्त्य नभएमा निर्वाचनमा पार्टीलाई असर पुग्छ भन्ने लागेर पुसभित्र महाधिवेशन गर्ने सहमति भएको हो,’ प्रवक्ता महतले भने ।

कांग्रेसमा महाधिवेशनका विषयमा संस्थापन, थापा–शर्मा र डा. शेखर कोइराला पक्ष विभाजित थियो । विशेष महाधिवेशन हस्ताक्षर अभियानको समूह तथा संस्थापनभित्र पूर्वपदाधिकारीहरूका सात भाइसमेत यसबिचमा सक्रिय थिए । संस्थापन पक्षका कार्यवाहक सभापति खड्का तथा नेताहरू रमेश लेखक, बालकृष्ण खाण पुसभित्रै नियमित महाधिवेशनको तालिका पारित गर्नुपर्नेमा थिए ।

तर, संस्थापन पक्षकै पूर्वपदाधिकारी समूह (विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महतलगायत)ले वैशाखमा नियमित महाधिवेशन गर्नुपर्नेमा अडान राख्दै नेतृत्वलाई दबाब दिँदै आएका थिए । नेता डा. शेखर कोइराला भने विशेष महाधिवेशनले पार्टी विभाजन गर्ने भन्दै पुसभित्र नियमित महाधिवेशनमा जोड दिँदै आएका थिए । तर, पछिल्लो विवाद समाधानमा उनको भूमिका थिएन ।

महामन्त्री थापा भने विशेष महाधिवेशन पक्षधरको मागमा सहमति जनाउँदै केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने अडान राख्दै आएका थिए । संस्थापन पक्षनिकट ३० केन्द्रीय सदस्यहरूले पनि यसबिचमा पुसभित्र नियमित महाधिवेशन गर्नुपर्नेमा दबाब दिँदै आएका थिए । निधि र सिटौलाले पनि करिब ८० जना केन्द्रीय सदस्य आफूहरूको प्रस्तावको पक्षमा रहेको दाबी गरेका थिए ।

सभापति देउवाले विशेष महाधिवेशनमा असहमति जनाउँदै अन्य जुनसुकै विकल्पमा सहमति खोज्न सकिने धारणा राखेका थिए । देउवाले शनिबार थापा–शर्मा र डा. कोइरालालगायत पक्षसँग छलफल गर्दै पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिकामा सहमति खोज्न प्रस्ताव गरेका थिए । पुसभित्रको कार्यतालिकामा सुरुमा असहमति जनाए पनि निधि, सिटौला र डा. महतलगायतले सभापति देउवाको आग्रहपछि सहमति जनाएका थिए ।

उनीहरूले सोमबार बैठकअघि सभापति देउवा र कार्यवाहक सभापति खड्कासँग बेग्लाबेग्लै छलफलसमेत गरेका थिए । ‘आमनिर्वाचनमा शक्ति लगाउनुपर्नेमा आपसमा प्रतिस्पर्धा गर्दा आमनिर्वाचनमा प्रतिकूल असर पर्छ भन्ने सत्य हो । तर, पनि सहमतिका लागि तयार भयौँ,’ उनले भने ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस महिनाभित्र महाधिवेशन सम्भव भएको उल्लेख गर्दै पार्टी पदाधिकारी र सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । अहिले केही समय ढिला भए पनि युद्धस्तरमा कार्य भए महाधिवेशन सम्भव हुने उनको भनाइ छ । महाधिवेशनका लागि सबैभन्दा महत्वपूर्ण पाटो सदस्यता नवीकरण र वितरण भएको भन्दै यसपालिको व्यवस्थाले विगतमा जस्तो विवाद र समय नलगाउने विश्वास गरे ।

‘तर योपटक धेरै सजिलो बनाइएको छ । सदस्य कसैले नवीकरण गर्न चाहेमा वञ्चित हुनेछैन । विधानले वर्जित गरेकोबाहेक कसैको सदस्यता वर्जित हुनेछैन । वडा, जिल्ला, केन्द्र र डिजिटल्ली पनि नवीकरण हुने व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘अब चाहने नेपाली नागरिकले सदस्यता पाउने स्थिति बनेको छ ।’

महाधिवेशनले पार्टीमा एकता कायम हुने र नीतिगत प्रस्टतासमेत हुने भएकाले आगामी निर्वाचनमा पार्टीलाई लाभ हुने उनले बताए । ‘महाधिवेशनपछि पार्टीमा एकता कायम हुन सक्छ । नीतिगत रूपमा प्रस्ट भएर आउन सक्छ । जेन–जी पुस्ताको विषय समेटेर धारणा ल्याउन सक्छ । पार्टीका सबै संरचना चलायमान हुन सक्छन् । सबै पक्षबाट प्रस्ट भएर अपिल गर्न सक्ने नेतृत्व आउन सक्छ । फागुन २१ को मतदानमा मत बढाउन सक्छ,’ पौडेलले भने ।

यस्तो छ महाधिवेशनको कार्यतालिका 
वडा अधिवेशन १६ पुसमा तथा गाउँ र नगरपालिकाको अधिवेशन १७ पुसमा गर्ने कार्यतालिका छ । १९ पुसमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय र जिल्ला अधिवेशन २१ पुसमा हुनेछ । दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ठाउँमा जिल्ला अधिवेशन २२ पुसमा हुने कार्यतालिमा उल्लेख छ । यसबाहेक २३ र २४ पुसमा प्रदेश अधिवेशन हुनेछ भने २६–२८ पुसमा १५औँ महाधिवेशन गरिनेछ ।  प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार वडा अधिवेशनअघि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता टुंग्याउने निर्णय भएको छ । सदस्यता व्यवस्थापन समिति र सदस्यता छानबिन समितिले विवाद समाधान गरेपछि निर्वाचन समितिले अधिवेशन सुरु गर्ने उनले बताए । 

यसअघिका कांग्रेस महाधिवेशन 
१२–१३ माघ ००३, कलकत्ता (पहिलो) । २०–२१ माघ ००४, वाराणसी (दोस्रो) । १८–२० फागुन ००५, दरभंगा (तेस्रो) । २६–२७ चैत ००६, कलकत्ता (चौथो) । १०–१३ जेठ ००९, जनकपुर (पाँचौँ) । १०–१२ माघ ०१२, वीरगन्ज (छैटौँ) । २५–३१ वैशाख ०१७, काठमाडौं (सातौँ) । १–३ फागुन ०४८, झापा (आठौँ) । २६–२८ वैशाख, ०५३ काठमाडौं (नवौँ) । ६–९ माघ ०५७, पोखरा (१०औँ) । १४–१७ भदौ ०६२, ललितपुर (११औँ) । १–५ असोज ०६७, काठमाडौं (१२औँ) । २०–२३ फागुन ०७२, काठमाडौं (१३औँ) । २४–२६ मंसिर ०७८, काठमाडौं (१४औँ) । २६–२८ पुस ०८२, काठमाडौं (१५औँ निर्णय भएको)

केन्द्रीय समितिदेखि वडा तहसम्मको म्याद माघ मसान्तसम्म थपियो

विशेष महाधिवेशन पक्षधरको प्रश्न– केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो ?  
२४–२७ मंसिर ०७८ मा १४औँ महाधिवेशन गरेको कांग्रेस केन्द्रीय कार्यसमितिको कार्यकाल सकिनै लाग्दा बैठकले सबै तहको दुई महिना एक साता म्याद थपेको छ । प्रवक्ता महतका अनुसार केन्द्रीय समितिसहित सबै तहको म्याद २३ मंसिरसम्म रहेकामा अब माघ मसान्तसम्म थप्ने निर्णय भएको छ । तर, विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट जारी साझा धारणा एवं अपिलमा २६–२८ पुसको महाधिवेशन मितिपूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमै अव्यावहारिक र अवैज्ञानिक देखिएको उल्लेख छ । केन्द्रीय कार्यसमितिको म्याद थप्ने निर्णयमा यो समूहले आशंका व्यक्त गरेको छ । ‘पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो ? यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ । यसबिच हुने आमचुनावका विभिन्न सिफारिसहरूको अवस्था के हुन्छ ? यसको निष्पक्षता र वैधताको आधार के हो ? यसलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ,’ अभियानको अपिलमा छ ।

विशेष महाधिवेशनको निवेदन के हुन्छ ?
नियमित महाधिवेशनको मिति तय भइसकेपछि विशेष महाधिवेशनको हस्ताक्षर दर्ताबारे नेताहरूको मिश्रित धारणा छ । ‘हस्ताक्षरकर्ताहरूले महाधिवेशन समयमा हुनुपर्‍यो भन्ने माग गरेका थिए । हामीले पारित गरेको कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढ्ने भएकाले विशेष महाधिवेशनको कुरा अब गरिरहनुपरेन । यो स्वत: निष्क्रिय हुन्छ,’ प्रवक्ता डा. प्रकाशशरण महतले भने । तर, महामन्त्री थापानिकट केन्द्रीय सदस्य अजय सिवाकोटीले केन्द्रीय समितिमा सोमबार विशेष महाधिवेशनबारे छलफल नभएको र विधानत: दर्ता भएको प्रस्ताव निष्क्रिय नभएको बताए । १५औँ महाधिवेशन समयमै नभए विशेष महाधिवेशनका लागि तयार रहनुपर्ने यो समूहको भनाइ छ । 

सुझावित समाचार