नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले केपी ओलीले जनताले दिएको दुईतिहाइको जनादेशलाई मनमौजी शासन गरेर अपमान गरेको टिप्पणी गरेका छन्।
सोमबार विराटनगरमा भएको पार्टीको कोशी प्रदेशस्तरीय एकता सन्देश सभामा रावलले ओलीको अहंकारले देशलाई संकटमा धकेलेको आरोप लगाए। ओलीकै कुशासनका कारण नागरिकको एकपछि अर्को मौलिक हक कुण्ठित हुँदै गइरहेको उनले बताए।
२००६ सालदेखिको विभाजनको रेखा नेकपाले अब कहिल्यै दोहोर्याउन नदिने रावलले प्रतिबद्धतासमेत जनाए।
एकता सभामा बोल्ने विभिन्न घटकका नेताहरूले कम्युनिस्ट पार्टीहरू नाम नभई काम गर्न एकजुट भएको जिकिर गरे। उनीहरूले अन्तिम समयमा आएर विप्लव, धनश्याम भुसाल, जनार्दन शर्माहरूले धोका दिएको भन्दै देशलाई उज्यालो दिने एक मात्र तारा नेकपा मात्र भएको दाबी गरे।