सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी हुनका लागि गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च सुरक्षा अधिकारी धनगढी आइपुगेका छन्। धनगढीमा भोलि प्रदेश सुरक्षा बैठक हुँदै छ।
सशस्त्र प्रहरी प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा सहसचिव आनन्द काफ्ले धनगढी आइपुगेका छन्। धनगढी पुगेलगत्तै गृहमन्त्री अर्यालले त्रिनगर भन्सार नाकाको निरीक्षण गरेका छन्। त्यस क्रममा उनले नाकास्थित शान्ति पुनर्स्थापना गृहका कर्मचारीसँग कुराकानी गरेका थिए। नाकामा उनले नेपाली सुरक्षाकर्मी र भारतीय सीमा सुरक्षा अधिकारीहरूसँग संयुक्त तस्बिर खिचाए।
गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की आजै दिउँसो धनगढी आउने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरू, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा छलफल हुने बताइएको छ।