एमाले महाधिवेशन प्रतिनिधि निर्वाचन : पूर्वमन्त्री, सांसद, जनसंगठन र जिल्ला अध्यक्ष नै पराजित

प्रतिनिधि छनोटमा ओली हाबी, प्रतिस्पर्धा हुन नदिइएका कारण सोचेअनुसार प्रतिनिधि निर्वाचित हुन नसकेको पोखरेल समूहको दाबी

सोमबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

एमालेको एघारौँ महाधिवेशनको प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री, सांसद, जनसंगठन र जिल्ला अध्यक्षहरू नै पराजित भएका छन् । आसन्न महाधिवेशनमा अध्यक्षमा केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिने भएपछि प्रतिनिधि निर्वाचनमा फरक परिणाम आएको हो ।प्रारम्भिक रुझान अध्यक्ष ओलीको पक्षतिर देखिएको छ । उनलाई अध्यक्षमा टक्कर दिने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा आशातीत प्रतिनिधि छनोट हुन सकेनन् । 

सात प्रदेश, जिल्ला, केन्द्रीय विभाग, जनसंगठन, प्रवास, विशेष जिल्ला, सम्पर्क समन्वय कमिटी, मजदुर फाँट, केन्द्रीय कार्यालयलगायत अधिकांश क्षेत्रबाट प्रतिनिधि छनोट भएका छन् । एमालेले २७ देखि २९ मंसिरमा हुने महाधिवेशनका लागि १३ मंसिरमा प्रतिनिधि छनोट सकेर १५ मंसिरभित्र विवरण पठाउन जिल्लाहरूलाई निर्देशन दिएको थियो ।

त्यसअनुसार भूगोलका बहुसंख्यक जिल्ला, विभाग र अधिकांश जनसंगठन तथा केन्द्रीय निकायहरूमा सर्वसम्मत प्रतिनिधि छानिएका छन् भने सहरी क्षेत्र जोडिएका जिल्लाहरूमा भने मतदान प्रक्रियाबाट प्रतिनिधि छानिएका छन् । सबै क्षेत्रबाट २२ सयआसपास प्रतिनिधि छनोट भएको र सोमबारभित्र धेरैजसो विवरण केन्द्रीय कार्यालयमा आइसक्ने एमालेले जनाएको छ । 

एमालेका प्रदेश अध्यक्षहरूले महाधिवेशनका अध्यक्षको प्रत्याशीको नाम जोडेर कतै पनि प्यानल निर्वाचन नभएको बताए । ओलीसँग निकट रहेका सबै प्रदेश अध्यक्षहरूले अध्यक्षमा उनलाई समर्थन गर्ने दुईतिहाइभन्दा बढी प्रतिनिधि चुनिएर आएको दाबी गरेका छन् । तर, सम्पर्क कार्यालयमार्फत अध्यक्षका प्रत्याशी पोखरेललाई सघाइरहेका नेता कृष्णप्रसाद दाहालले भने कतैतिर खुल्न नचाहेका प्रतिनिधिहरू उल्लेख्य संख्यामा चुनिएर आएका कारण ती मत संस्थापनविरोधी हुने प्रबल सम्भावना भएकाले महाधिवेशनमा प्रतिस्पर्धाकै सम्भावना औँल्याए ।

‘परिस्थिति नराम्रो छैन, सहज हुन्छ भन्ने ओलीले सोचेजस्तो होइन, नसोचेको परिणाउन्मुख हुने गरी, राम्रो प्रतिस्पर्धा हुने गरी नै प्रतिनिधि आउनुभएको छ,’ उनले भने, ‘तलबाट जो नखुली आउनुभएको छ, त्यसको अर्थ अहिलेका अध्यक्षलाई उनीहरूले रुचाउँदैनन् भन्ने नै लाग्ने भएकाले हाम्रो हिसाब प्रतिस्पर्धा हुने खालको ठिकै आएको छ ।’ पहाडका बहुसंख्यक जिल्लामा सर्वसम्मतिका नाममा कार्यदल बनाएर प्रतिस्पर्धा हुन नदिइएका कारण सोचेअनुसार प्रतिनिधि निर्वाचित भएर आउन नसकेको पोखरेल समूहको बुझाइ छ । तर, ओलीनिकट नेताहरूले भने कम्तीमा ७५ प्रतिशत प्रतिनिधि निर्वाचित भएर आएको दाबी गरिरहेका छन् । 

कोशी प्रदेशमा एक लाख १० हजार संगठित सदस्यबाट २३४ जनासम्म प्रतिनिधि छानिँदै छन् । धनकुटा र ओखलढुंगाको आधिकारिक परिणाम बाँकी रहेको र खोटाङको एउटा क्षेत्रमा सहमतिको प्रयास चलिरहेकाले आइतबार बेलुकीसम्म १९८ जना प्रतिनिधि मात्र छानिएको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए । उनले कोशीमा प्रतिनिधि छनोटमा अध्यक्ष ओली र पोखरेलसँग जोडिएको प्रतिस्पर्धाभन्दा पनि प्रदेश र जिल्लास्तरको नेतासँग जोडिने गुटबन्दीको प्रभाव देखिएको भन्दै महाधिवेशनमा भने बहुसंख्यक प्रतिनिधिले ओलीलाई नै सहयोग गर्ने बताए । 

कोशीमा प्रतिनिधि छनोटमा संखुवासभाको खाँदबारीका पूर्वमेयर मुरारी खतिवडाका साथै प्रदेशका तीन प्रदेश सभा सदस्य पराजित भएका छन् । सुनसरी १ का प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत र विजयकुमार राई महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका हुन् । झापाबाट निर्वाचित प्रदेश सभा सदस्य राधाकृष्ण खनाल पनि पराजित भए । मधेश प्रदेशमा पर्साबाहेकका जिल्लाको प्रतिनिधि छनोट सकिएको छ । अध्यक्ष चन्देश्वर मण्डलका अनुसार एक लाख ५६ हजार दुई सय सदस्यबाट २७१ प्रतिनिधि छानिँदै छन् । 

बागमती प्रदेशलाई पोखरेल पक्षले कोशीलाई जस्तै आधार क्षेत्र मान्दै आएको छ । प्रदेश अध्यक्ष कैलाश ढुंगेल पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट मानिए पनि पछिल्ला दिनमा ओलीसँग पनि नियमित सम्पर्कमा छन् । उनले एक लाख १९ हजार संगठित सदस्यबाट कम्तीमा २४४ जना छानिएको जानकारी दिँदै अन्तिम विवरण सार्वजनिक हुन बाँकी रहेको बताए ।

 बागमती प्रदेशमा सर्वसम्मत प्रतिनिधि चयनका क्रममा दुई जिल्ला अध्यक्ष, एक पूर्वमन्त्री र एक प्रदेश सांसद निर्वाचित हुनबाट वञ्चित भएका छन् । भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा सर्वसम्मत चयन हुँदा पनि छनोट भएनन् ।मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेल चुनावमा पराजित भए । दुवैजना पूर्वराष्ट्रपति भण्डारीनिकट मानिन्थे । प्रदेश सांसद जयराम थापा, पूर्वप्रदेशमन्त्री कृष्णप्रसाद सिलवाल पनि प्रतिनिधि बन्न सकेनन् । 

गण्डकीमा ६३ हजार संगठित सदस्यबट १३२ प्रतिनिधि छानिएका छन् । प्रदेश अध्यक्ष नवराज शर्माले तनहुँ १ मा मात्र छनोट बाँकी रहेको बताए । प्रतिनिधि छनोटका क्रममा नवलपुरमा निर्वाचन प्रक्रियामा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मणबहादुर पाण्डे पराजित भएका छन् । आठजना उम्मेदवारमध्ये उनी अन्तिम दुईमा परेका थिए ।

पर्वतमा संविधानसभा सदस्य तथा पूर्वप्रदेशमन्त्री विकास लम्साल प्रतिनिधि बन्नबाट वञ्चित भए । लुम्बिनीमा ८१ हजार ५०६ सदस्यबाट १९० जना प्रतिनिधि छानिएका छन् । ‘हामीले सर्वसम्मति र मतदानको दुवै लोकतान्त्रिक विधि अपनायौँ, विधिसम्मत चयन भएकाले नगन्य मात्र समस्या देखिए,’ प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले भने, ‘मूल कुरा अध्यक्षको प्रतिस्पर्धीको नाम लिएर खुला रूपमा कतै पनि प्रतिस्पर्धा भएन, व्यक्तिगत प्रतिस्पर्धा भयो, यो अभ्यासले पार्टीलाई थप बलियो बनाएको छ ।’

कर्णालीमा करिब ५० हजार संगठित सदस्यबाट ११४ जना प्रतिनिधि छानिएका छन् । रुकुम पश्चिमबाहेक सबै जिल्लामा सर्वसम्मत चुनिएको अध्यक्ष गुलावजंग शाहले जानकारी दिए । सुदूरपश्चिममा ६३ हजार एक सय सदस्यबाट १४१ प्रतिनिधि छनोट भएका छन् । पहाडी जिल्लाहरूमा सर्वसम्मत र सहरी इलाकाभित्र पर्ने कैलालीको १, ४ र ५ तथा कञ्चनपुरको १ र ३ मा चुनाव भएको प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले बताए । 

अघिल्लो कार्यकाल तत्कालीन प्रधानमन्त्री केपी ओलीका सल्लाहकार रहेका नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष इन्जिनियर गजेन्द्र थपलिया महाधिवेशन प्रतिनिधिको छनोटमा मतदान हुँदा पराजित भएका छन् । अध्यक्ष थपलियासहित महिला उपाध्यक्ष राधिका अधिकारी र महासचिव डा. दीपेन्द्र श्रेष्ठ प्रतिनिधिमा पराजित भए । उनीहरू तीनैजना पोखरेललाई अध्यक्ष जिताउने अभियानमा खुलेका थिए । परिषद्बाट ओलीलाई अध्यक्ष बनाउने पक्षमा रहेका गोविन्दबहादुर शाही, सरोज रेग्मी, सजना घिमिरे, टीका ढकाल निर्वाचित भएका छन् । उद्योग व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष गोविन्द घिमिरे पनि पराजित भएका छन् । उनी ओलीलाई अध्यक्ष बनाउने पक्षमा थिए । 

महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ :  ओली 
एमाले अध्यक्ष केपी ओलीले एघारौँ महाधिवेशनबाट मतदान प्रक्रियाबाटै नयाँ नेतृत्व निर्वाचित गरिने बताएका छन् । महाधिवेशनको लोगो सार्वजनिक गर्दै उनले भने, ‘सर्वसम्मतिका नामा सेन्टिमेन्टल काम हुँदैन । रोक्ने–सोक्ने काम हुँदैन । प्रतिस्पर्धा हुन्छ, एमालेमा डेमोक्रेसी छैन, चुनावै लडेन, कसैलाई चुनाव लड्न दिइएन भन्दै गर्लान्, नदिएको होइन । मेरो आग्रह छ, एकताबद्ध भएर जाउँ, एकअर्कामा खुइल्याउने गरी टीकाटिप्पणी नगरौँ, होच्याउने, अपमान गर्ने काम किन गर्ने ?’ उनले महाधिवेशनमा खुला प्रतिस्पर्धा हुने र प्रतिस्पर्धा गर्न पाउनेजति सबैलाई स्वस्थ प्रतिस्पर्धाको सुनिश्चितता गरिने पनि बताए ।

एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशन प्रचार समितिले आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी ओलीले लोगो सार्वजनिक गरेका हुन् । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतले दरबार, पार्टीको निर्वाचन चिह्न र पार्टीको झन्डालाई बहुभाषिक रूपमा संयोजन गरिएको छ । प्रचार समितिकी संयोजक पद्मा अर्यालले लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रूप भएको बताइन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारी पनि उपस्थित थिए । 

 प्रतिनिधि बन्न नपाउँदा गाउँपालिका अध्यक्षले त्यागे एमाले
बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले एमाले परित्याग गरेका छन् । महाधिवेशनमा प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जाल (फेसबुक)मा स्टाटस लेखेर पार्टी छाडेको बताएका छन् । आफूलाई प्रतिनिधि छनोट गर्नबाट वञ्चित गरिएको भन्दै फेसबुकमा उनले बैतडीबाट प्रतिनिधित्व गर्ने एमाले नेता दामोदर भण्डारी र लीलाधर भट्टको आलोचना गरेका छन् । पञ्चेश्वर गाउँपालिकामा चन्द दुई कार्यकाल अध्यक्षमा निर्वाचित भएका थिए ।

सुझावित समाचार