बिहार विधानसभा चुनावमा एनडिएको जितपछि, एनडिएको मुख्य घटक भाजपा नेता तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सधैँझैँ कडा भाषण दिए । सम्बोधनमा मोदीले सगर्व भने कि : ‘गंगा बिहार हुँदै बंगालमा बग्छ । बिहारमा हाम्रो जितले बंगालमा जितका लागि बाटो खोलेको छ ।’ भूगोल र चुनावी राजनीतिबिचको यो विचित्रको तुलनाले वास्तविकताभन्दा खासमा मोदीको चुनावप्रतिको दृष्टिकोण प्रकट गर्दछ जो चुनावी जित क्षेत्रले निर्धारण गर्ने सोच्दा रहेछन् ।
उसो त मोदी र केन्द्रीय गृहमन्त्री अमित शाह चुनावी प्रचारलाई अश्वमेध यज्ञजस्तै ठान्छन्, जसमा एक बेलगाम शाही घोडा एकपछि अर्को राज्य जित्दै अगाडि बढ्छ । तर, चुनावी राजनीति यसरी चल्दैन । बिहार सजिलै जितेकै कारण भाजपाले बंगालको विधानसभा चुनाव पनि जित्छ भन्नुको कुनै तुक छैन । त्यसपछाडि पाँच कारण विशेष उल्लेखनीय छ ।
सबैभन्दा पहिलो कारण नेतृत्व : बिहारमा एनडिएविरुद्ध उठेको गठबन्धनमा बलियो नेतृत्व देखिएको थिएन । जबकि, बंगालमा भाजपाको सामना मुख्यमन्त्री ममता बनर्जी एक अतुलनीय नेतासँग हुनेछ । बंगालमा भाजपाका मात्र होइन, अरू पार्टीका समेत कुनै नेताले ममता बनर्जीको कद, उनको उपलब्धि, वा जनतासँगको उनको सम्बन्धसँग मेल खान सक्दैनन् । ममता कुनै पुरुष आफन्तको आशीर्वादविनै आफ्नै बलमा पार्टी र आन्दोलनको नेतृत्व गरेर आजको स्थानमा आइपुगेकी नेतृ हुन् ।
भाजपाले बंगालमा पनि बिहारमा जस्तै सहजै जित्न सकिने ठानेको छ, तर पाँच कारणले यो असम्भव छ
ममता बनर्जीले विगतमा बंगालमा वाम मोर्चाको शासन हुँदा तिनको अनियमताविरुद्ध तीन दशकसम्म लडिरहिन् । उनले निर्भयतापूर्वक सधैँ जनताको साथमा सडकमा उत्रिइन् । आज सत्तामा रहँदा पनि उनको संघर्षशील र सादगी व्यक्तित्व कायमै छ । ‘एसोसिएसन फर डेमोक्रेटिक रिफम्र्स (एडिआर)’को हालै सार्वजनिक एक रिपोर्टले ममता भारतका सबै मुख्यमन्त्रीहरूमध्ये ‘सबैभन्दा गरिब’ भएको बताएको छ । ममता बनर्जी आफ्नो राजनीतिक करिअरमा तीनपटक मुख्यमन्त्री, सातपटक संसद् सदस्य र चारपटक केन्द्रीय मन्त्री रहेकी छिन् । यसले उनलाई भारतभरकै सबैभन्दा अनुभवी प्रशासकमध्ये एक बनाउँछ ।
बिहारमा जस्तै भाजपालाई बंगालमा सहज नहुनुको दोस्रो कारण : ‘महिला फ्याक्टर’सँग जोडिएको छ । नीतिश कुमारले महिला उत्थानमा विगतमा गरेको काम र चुनावको मुखमा दिइएको १० हजारको प्याकेजको बलमा एनडिएले बिहारमा उल्लेख्य महिला मत तान्न सक्यो । तर, ममता बनर्जीलाई महिला मत तान्न गाह्रो छैन । बनर्जी सरकारले बंगालमा महिला सशक्तीकरण र कल्याणतर्फ उल्लेख्य काम गरेको छ । र, गरिरहेको छ । यस दिशामा बंगाल सरकारको ‘कन्याश्री परियोजना’ कार्यक्रम एक दशकदेखि चलिरहेको छ । ‘रूपश्री परियोजना,’ ‘लक्ष्मी भण्डार’जस्ता अन्य योजना पनि महिलाको हित बढोत्तरीका लागि लागू गरिएको छ ।
‘स्वास्थ्य साथी’ (स्वास्थ्य बिमा कभरेज कार्यक्रम)जस्ता नवीन कार्यक्रमले महिलालाई घरको प्रमुखको रूपमा मान्यता दिँदै परिवारको जेठो महिला सदस्यलाई ‘स्मार्ट कार्ड’ प्रदान गर्छ । यी कार्यक्रम महिलाहरूको समग्र कल्याण वृद्धि गर्ने उद्देश्यमा केन्द्रित छ । त्यसबाहेक महिलाहरूको शैक्षिक अवसर विस्तार गर्ने, साना व्यवसायहरूलाई कोष प्रदान गर्ने र स्वास्थ्य सेवा केन्द्रित योजना पनि कार्यान्वयनमा छन् । यसले गर्दा बंगालमा, बिहारमा जस्तो महिला मतदाताहरूलाई चुनावअघि एकपटकको भुक्तानी दिनुपर्ने आवश्यकता नै पर्दैन । यस राज्यमा महिलाकेन्द्रित दृष्टिकोण एक व्यवस्थित सरकारी नीतिको रूपमा रहेको छ ।
तेस्रो कारण असुरक्षित राज्यको झुट : बिहारमा भाजपाले हालको प्रतिपक्षी राष्ट्रिय जनता दल (आरजेडी)का नेता लालुप्रसाद यादवको शासनकाललाई ‘जंगलराज’को रूपमा चित्रण गर्न सफल भयो । लालुको शासनमा देखिएको अराजकता र हिंसालाई उचालेर तिनले आरजेडी फर्किए पुनः उस्तै दिन फर्किन सक्ने, डर सफलतापूर्वक प्रचार ग¥यो ।
भाजपा र यसको प्रचार संयन्त्रले बंगालमा पनि त्यही हतकन्डा अपनाइरहेको छ । भाजपा यस राज्यलाई ‘असुरक्षित’ घोषणा गर्न अथक प्रयास गरिरहेको छ । पार्टीनजिकका हिन्दीभाषी टेलिभिजन वेलावेलामा जोडतोडका साथ ‘बंगाल आतंक’ शीर्षकमा कार्यक्रम चलाइरहन्छन् । तर, बंगाल असुरक्षित रहेको प्रचार तथ्यका आधारमा झुटो साबित हुन्छ । गत वर्ष, बंगालले महिलाहरूको सुरक्षाका लागि कठोर ‘अपराजिता महिला तथा बाल विधेयक’ पारित ग¥यो । ‘राष्ट्रिय अपराध रेकर्ड ब्युरो (एनसिआरबी)’ले विगत चार वर्षदेखि कोलकातालाई महिलाका लागि सबैभन्दा सुरक्षित सहर घोषणा गर्दै आएको छ । अन्य कुरामा पनि बंगाल निकै सुरक्षित छ ।
चौथो कारण बंगालको आर्थिक वृद्धि र पहिचान : उद्योगको अभावका कारण चरम गरिबी र बेरोजगारीले ग्रस्त बिहारको आर्थिक अवस्थाको विपरीत, बंगाल प्रगतिको बाटोमा छ । ‘इन्डिया टुडे’ पत्रिकाले एक रिपोर्टअनुसार कोलकाता भारतभरको नयाँ आइटी हब बन्ने तयारीमा छ । गम्भीर चुनौती नभएका होइनन्, तर यसका बाबजुद लामो वामपन्थी शासनमा कमजोर बनेको राज्यको अर्थतन्त्रले बिस्तारै गति लिइरहेको छ ।
भाजपालाई बंगालमा बिहारजस्तो सजिलो नहुने पाँचौँ र अन्तिम कारण : बंगाली पहिचान हो । बंगाली पहिचान बंगाली भाषा, भक्ति परम्परा, खाना र सांस्कृतिक अभिव्यक्तिसँग गहिरोसँग जोडिएको छ । यो पहिचानलाई हिन्दी भाषा हिन्दुधर्म हिन्दुस्तान राष्ट्रको एकल भाजपा पहिचानले कहिल्यै कब्जा गर्न सक्दैन । धर्मका आधारमा बंगाललाई विभाजन गर्ने योजना पहिले ब्रिटिस सरकारले कार्यान्वयन गरेको थियो, आज यसलाई संघ परिवारले अघि बढाइरहेको छ । तर, यस्तो धार्मिक ध्रुवीकरणलाई बंगालले बलियो गरी अस्वीकार गर्नेछ ।
(लेखक अखिल भारतीय तृणमूलकांग्रेसकी राज्यसभा सदस्य हुन् ।) द प्रिन्टबाट