अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष विराटजंग शाहीले अर्को वर्ष हुने साधारणसभामा एन्फा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडीसमेत रहेका शाहीले आइतबार प्रेस विज्ञप्तिमार्फत उम्मेदवारीको घोषणा गरेका हुन्। उनले पछिल्लो समय नेपाली फुटबल अत्यन्तै दयनीय अवस्थामा पुगेको बताउँदै पुरानै अवस्थामा फर्काउने उद्देश्यसहित अध्यक्षमा उम्मेदवारी दिएको घोषणा गरेका छन्।
‘नेपाली फुटबलको साख आज इतिहासकै गम्भीर मोडमा छ। फुटबलभित्रको आर्थिक पाटो निकै अस्थिर छ। पारदर्शिता छैन। भ्रष्टाचार र अनियमितताका चर्चा व्याप्त छन्। विधि र विधानको राज छैन। कुशासनको रोगले फुटबललाई कोमामा पुर्याइसकेको छ। मैदानबाट पूरा देशलाई जोड्ने फुटबल आज आफैँमा थुप्रै गुटमा विभाजित छ,’ शाहीले विज्ञप्तिमा छ, ‘सुशासन स्थापना गर्दै नेपाली फुटबलको ओरालो लागेको यात्रालाई रोक्न र यसको गुमेको गरिमा फर्काउन इमानदार र सक्षम नेतृत्व पहिलो आवश्यकता हो। नेपाली फुटबलको यही आवश्यकता पूर्तिका लागि म, पूर्वराष्ट्रिय खेलाडी विराटजंग शाही एन्फाको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दछु।’
पंकजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फाको वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल आगामी ५ असारमा सकिँदै छ। शाही र नेम्वाङ एकै प्यानलबाट निर्वाचित भएका थिए। तर, पहिलो वर्षबाटै दुईबिच सम्बन्ध सुमधुर हुन सकेन। दुवै पक्ष आ–आफ्नो समूह लिएर विवादमा उत्रँदै आएका छन्।