मकवानपुरको मकवानपुरगढी गाउँपालिका– १, बागधारानजिक कान्तिलोकपथ सडकखण्डमा आइतबार बिहान बस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
फापरबारी बस्तीपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ख २९४ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकको बायाँतर्फको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार एक महिला र तीन पुरुष गरी चारजना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको र उनीहरूलाई उपचारका लागि मकवानपुर सहकारी अस्पतालमा पठाइएको छ ।
दुर्घटना भएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक विष्णु दयाल साहको कमान्डमा चारजनाको टोली तथा जितपुर प्रहरी चौकीबाट प्रहरी हवलदार कुलबहादुर मगरको कमान्डमा दुईजनासमेत गरी ६ जनाको टोली घटनास्थल पुगेको थियो ।
दुर्घटनापछि बसचालक मकवानपुर बकैया गाउँपालिका– १० का ३१ वर्षीय गोकुल तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।