प्रथम ‘कपिलवस्तु तिलौराकोट आइरन मेन एन्ड वाेमन कप’ सम्पन्न, पुरुषमा करण र महिलामा अमृता ओभरअल च्याम्पियन

आइतबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

कपिलवस्तुको तौलिहवामा सम्पन्न ‘प्रथम कपिलवस्तु तिलौराकोट आइरन मेन एन्ड वाेमन कप’ राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेस प्रतियोगिता २०८२ मा पुरुषतर्फ करण बाडिया र महिलातर्फ अमृता खड्का शेर्पाले ओभरअल च्याम्पियनको उपाधि आफ्नो नाममा लेखाएका छन्।

देशभरका १३ जिल्लाबाट ७४ खेलाडी सहभागी भएको प्रतियोगिता दुई विधाका १७ इभेन्टमा सम्पन्न भएको थियो। स्ट्रेन्थलिफ्टिङ ओभरअल च्याम्पियन बनेका करण र अमृता खड्काले २०–२० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

इन्क्लाइन बेन्च प्रेसमा पुरुषतर्फ सुमेशकर प्रकाश र महिलातर्फ पुनः अमृता खड्काले ओभरअल उपाधि जिते। यस विधाका विजेताले १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

विभिन्न भार तथा उमेर समूहका इभेन्टमा पुरुषतर्फ आकाश गुप्ता, उमिद बोहरा, सर्वेश सुनार, इसाग मियाँ, राज ह थारूले शीर्ष स्थान हासिल गरे भने महिलातर्फ शर्मिला थापा, बिनु मल्ल, साेनीदेवी दास, मनु थापा, ग्यानु माया बुढाथोकी उत्कृष्ट बने।

बेस्ट टिमतर्फ एक्सट्रिम फिटनेस नेपालगन्ज पहिलो, भुमही जिम नवलपरासी दोस्रो र पावर जिम तौलिहवा तेस्रो घोषित भए। प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डेले वजन उठाएर गरे।

आयोजक संघका अध्यक्ष बलराम न्यौपानेका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य कपिलवस्तुको पर्यटन प्रवर्द्धन गर्नु र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा गौतम बुद्धको नगरीलाई चिनाउनु हो। आगामी संस्करणमा प्रदेश र स्थानीय तहले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 

सुझावित समाचार