जेन-जी आन्दोलनकारीले गत भदौ २४ गते जलाएको भक्तपुर–१, सल्लाघारीस्थित प्रहरी बिट रोटरी क्लब अफ भादगाउँले निर्माण गरी स्थानीय प्रहरी प्रभाग कटुन्जेलाई हस्तान्तरण गरेको छ। समुदाय–प्रहरी साझेदारी सुदृढ गर्दै प्रभावकारी सेवा पहुँच विस्तार गर्ने उद्देश्यले भवन निर्माण गरी शनिबार हस्तान्तरण गरिएको क्लबका पास्ट प्रेसिडेन्ट प्रकाश थापाले बताए।
कार्यक्रमका प्रमुख अतिथि एवं भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले समुदाय-प्रहरीबिचको साझेदारीले नै समाजमा शान्तिसुरक्षा कायम गर्न सहयोग मिल्ने बताउँदै क्लबको भूमिकाप्रति सन्तोष व्यक्त गरे। सो अवसरमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले समुदायको सहयोगले प्रहरीलाई हौसला मिलेको प्रतिक्रिया दिए भने जिल्ला प्रहरी वृत्त जगातीकी प्रमुख रहेकी प्रहरी नायब उपरीक्षक चन्चला श्रेष्ठले वृत्तले समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता प्रकट गरिन्।
अरनिको राजमार्गमा रहेको भवनले सडक दुर्घटना न्यूनीकरण र अपराध नियन्त्रणमा सहयोग पुग्ने प्रहरी प्रभाग कटुन्जेका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नेत्रबहादुर कार्कीले बताए। नयाँ भवनबाट समुदायमा अझ सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने स्थानीय प्रहरीको प्रतिक्रिया रहेको छ।
सो अवसरमा पूर्वप्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारी, रोटरी क्लबका चार्टर्ड प्रेसिडेन्ट मनोजकुमार कँडेल, प्रेसिडेन्ट डिल्लीराम गिरी, पास्ट प्रेसिडेन्ट प्रकाश थापा, स्थानीय जनप्रतिनिधि, पत्रकार, रोटेरियन तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको रोटरी क्लब अफ भादगाउँका सचिव सुमन कोइरालाले जनाएका छन्। क्लबले स्थानीय प्रहरीलाई ४ लाख ७३ हजार रुपैयाँको भौतिक संरचना र श्रमदान सहयोग गरेको उनले बताए। क्लबमा ५४ जना सदस्य रहेका छन्।