विराटनगरको नोबेल अस्पतालमा नाकको अप्रेसन गर्दा आँखाको ज्योति गुमेपछि ...

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

विराटनगरको नोबेल शिक्षण अस्पतालमा नाकको उपचार गराउँदा चित्सिकको लापरवाहीले ७ वर्षीय बालकले दाहिने आँखा गुमाएको गम्भीर घटनाको स्वास्थ्य मन्त्रालय मोरङ प्रशासनको टोलीले छानबिन थालेको छ ।  विराटनगर ४ कञ्चनबारी स्थित नोबेल शिक्षण अस्पतालमा नाकको शल्यक्रिया (अप्रेशन) गर्दा सुनसरीको इटहरी घर भएका ७ वर्षीय बालकको दाहिने आँखाको ज्योति गुमेको घटना संघीय स्वास्थ्य मन्त्रालय र मोरङ प्रशासनको टोलीले शुक्रबारदेखि छानबिन थालेको हो । 

नाकभित्र पलाएको मासुको शल्यक्रिया गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिस पाठकको दाहिने आँखाको ज्योति गुमेको भन्दै अभिभावकले  घटना छानविन गरेर लापरवाही गर्ने चिकित्सकलाई कानुनी कारवाही माग गर्दै जिल्ला प्रशासन मोरङमा किटानी जाहेरी दिएका थिए । उजुरीपछि मोरङका सिडियो युवराज कट्टेले घटनालाई गम्भीर मानेर छानबिनका लागि स्वास्थ्य मन्त्राललाई पत्रचार गरेका थिए ।

मोरङ प्रशासनको आग्रहपछि स्वास्थ्य मन्त्रालय काठमाडौंले वीर अस्पतालबाट नाक, कान घाँटी विशेषज्ञ तथा विभागीय प्रमुख डा अनिता जिसीलाई पठाएर घटनाको छानबिन गराउन थालेको हो । उनको नेतृत्वमा कोशी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. वरु देव र जिल्ला प्रशासन मोरङका मुद्दा शाखका अधिकृत रामप्रसाद लुईटेलको टोली शुक्रवारदेखी छानविनमा सक्रिय भएको छ ।

मोरङका सिडिओ युवराज कट्टेलले नोबेलमा नाकको उपचार गराउँदा आँखाको ज्योति गुमाएको गम्भिर आरोप लोपछि घटनाको स्वास्थ्यमन्त्राका विशेषज्ञसहितको टोलीले छानबिन थालेको बताए । उनले छानबिन टोलीले उपचारमा संलग्न चिकित्सकहरुको बयान लिने र दोषी पाइएमा कारबाहीका लागि नेपाल मेडिकल काउन्सिलमा सिफारिस गर्नेछ । 

नाकको दाहिनेतर्फको प्वालमा मासु पलाएपछि ४ मंसिरमा ७ वर्षीय बालक जेनिसको उपचार गराउन आफन्तले नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए । चिकित्सकको सल्लाह अनुसार ५ मंसिरमा उनको शल्यक्रिया भएको थियो । तर  भोलिपल्ट नोबेलले उपचाररत  बालकलाई हतारहतार डिस्चार्ज गरेको थियो । डिस्चार्जपछि बालकको दाहिने आँखाको ज्योति गुमेको पाइएपछि अभिभावकले उपचारमा संलग्न चिकित्सकको गम्भिर लापरवाही भएको भन्दै मोरङ प्रशासनमा कारवाही माग गर्दै उजुरी दिएका थिए ।

मामा श्रीकृष्ण प्रसाईंका अनुसार नोबेलले हतारहतार  डिस्चार्ज गरेपछि पीडित बालकले आँखा देख्दिन भनेपछि ६ मंसिरमा  विराटनगर आँखा अस्पताल रानीमा भर्ना गरेका थिए । विराटनगर आँखा अस्पतालका चिकित्सकले जेनिसको दाहिने आँखाको भित्री भाग ‘ड्यामेज’ भएका कारण ज्योति नफर्कने भन्दै शल्यक्रिया गर्न मानेन । आँखा  चिकित्सकका अनुसार बालक जेनिसको  आँखाको भित्रीभागको हड्डी निकालेका कारण आँखामा गम्भीर चोट लागेको आफन्तलाई जानकारी गराएका थिए ।  मामा श्रीकृष्णका अनुसार शुक्रबार जेनिसको नाकको शल्यक्रिया गरेर  नस्किएका चिकित्सकले नाकभित्र पलाएको मासु आँखासम्म पुगेकाले आँखामा सामान्य समस्या मात्रे भएको बताएका थिए ।

मोरङको ३ नम्बर क्षेत्रका संघीय सांसद सुनिल शर्माको नोबेल शिक्षण अस्पतालमा वारम्बार उपचारमा लापरवाही भएको भन्दै प्रशासनमा उजुरी पर्दै आएको छ  भने अदालतमा समेत चिकित्सक विरुद्ध मुद्दा दर्ता भएका छन् । 

सुझावित समाचार