- चार दशकदेखि आँखा उपचारमा संलग्न डा. सन्दुक रुइतसँग उपचार गराउन र सिक्न अफ्रिकादेखि अमेरिकासम्मका मानिस आउँछन्
नेत्रज्योति क्षेत्रमा ४० वर्ष बिताएका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई गएको साता एउटा गज्जबको संयोग जुर्यो । जुन जिल्लामा जन्मिएर उनले ४० वर्षअघि आँखा स्वास्थ्य क्षेत्रमा काम थालेका थिए, त्यसको ठ्याक्कै ४० वर्ष पुगेको महिनामा उनी सोही जिल्लामा पुगेर ८० जनाको आँखाको शल्यक्रिया गरे । ढल्कँदो उमेरका बिच उनले बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म लगातार शल्यक्रिया कक्षमा हात नकमाई कैँची चलाए । उमेरले ७२ वर्ष पुगेका उनको हातमा कति पनि वृद्धपन छैन । अझै थुप्रैलाई नयाँ जीवन दिन तम्तयार छन् उनका हात र आँखा ।
आफ्नो जन्म जिल्लासमेत रहेको ताप्लेजुङमा गत आइतबारदेखि सुरु भएको तीनदिने मोतीविन्दुको शल्यक्रिया शिविरमा थुप्रैको ज्योति फर्काएपछि उनले आफू तन्नेरी हुँदा थालेको पेसामा चार दशक बिताएका पलको समीक्षा पनि गरे । कहाँ–कहाँ पुगेर सेवा दिएछु ? कतिलाई सेवा दिएछु ? जन्म जिल्लामा के योगदान दिएँ, भन्नेबारेमा उनी निकैबेर घोत्लिए । ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित एक होटेलको बाहिर बसेर उनीसँग भलाकुसारी गर्दा उनी आफ्नो आँखा स्वास्थ्य क्षेत्रको यात्रा सम्झँदै घरी भावुक बने घरी उत्साहित । ‘मैले सन् १९८५ मा आँखाको उपचार थालेको रहेछु, अहिले चलिरहेको सन् २०२५ नोभेम्बरमा ठ्याक्कै ४० वर्ष पुगेछ, यो समयमा म आफ्नै जिल्लामा पुगेर थुप्रैको आँखाको शल्यक्रिया गर्न पाएँ, त्योभन्दा आनन्द मलाई अरू के हुनु,’ उनले सुनाए, ‘आज भन्दा ४० वर्ष पहिले मैले यही महिनामा आँखा नेपाल आँखा अस्पतालबाट नेपालमा आँखा क्षेत्रमा काम थालेको थिएँ, मैले काम थाल्दा आँखा उपचार सेवा त थियो, तर निकै कमजोर थियो, त्यतिवेला उपचार र जनशक्तिको कमी थियो । चिकित्सकीय विशेषज्ञता कम थियो । आँखाको लेन्स, पर्दा, जलविन्दु, मोतीविन्दुलगायतको विशेषज्ञ उत्पादन भएको थिएन, उपकरणहरू पनि थिएनन् । आँखाबारे पढ्न विदेश जानुपर्ने अवस्था थियो, तर अहिले त यही पढाइ हुन्छ, नेपालमा आँखाको खोज अनवेषण समेत हुन्छ ।’
४० वर्षको उपचारको अवधि सम्झिँदा उनी आफैँ दंग पर्छन् । १५ वर्षअघिको कुरा हो । डा. रुइत इन्डोनेसियाको मेडानमा आँखा शिविरको सिलसिलामा पुगेका थिए । सोही क्रममा एकजना बिरामीले बोलेको कुरा उनलाई अझै सम्झना छ । त्यतिवेला डा. रुइतले त्यहाँ दर्जनौँ बिरामीको शल्यक्रिया गरेका थिए । अघिल्लो दिन शल्यक्रियापछि भोलिपल्ट आँखाको पट्टी खोल्न बिरामीलाई बोलाइयो । त्यही क्रममा डा. रुइतले एकजना बिरामीको पट्टी खोलिदिए । ती महिलाको दुईवटै आँखा बन्द भइसकेको थियो । तर, रुइतले ती महिलाको आँखाको ज्योति फर्काइदिएपछि जुरुक्क उठेर चिच्याउँदै भनेकी थिइन्, ‘मेरो नजिक उ त्याँ कोहि भगवान् हुनुहुन्छ ।’ ती महिला चिच्याएर डा. रुइतलाई भगवान भनिरहेका बेला त्यहाँ उपस्थित अन्य मानिसहरूले पनि रुइतलाई नियालीरहेका थिए । डा.रुइत सम्झिन्छन्, ‘हातले मलाई देखाउँदै उनले बोलेको र चिच्याएको क्षण अझै पनि ताजै छ, वरपरका मानिसहरू अचम्मित भएका थिए, त्यो क्षण संसारका मिडियाको समाचार पनि बन्यो ।’ एउटै क्षेत्रमा लामो समय काम गर्दा उनी अझै थाकेका भने छैनन् । आफूले सक्रिय रुपमा आँखा स्वास्थ्यमा काम सुरु गरेको ४० वर्ष भएपनि उनी यो पेशाबाट रिटायर्ड हुने सोचमा पनि छैनन् । आफूले जहिलेसम्म सकिन्छ त्यहिलेसम्म विरामी उपचारमै खट्ने उनको सोच छ ।
दुई लाखको शल्यक्रिया
डा. रुइतले ४० वर्षका कति बिरामीको आँखा जाँच गरे ठ्याक्कै याद छैन । तर, शल्यक्रिया गरेका संख्या भने उनलाई आकलन छ । देश–विदेशमा पुगेर उनले ४० वर्षको अवधिमा दुई लाखको आँखाको शल्यक्रिया गरे । त्यसमध्ये करिब एक लाख ८० हजार नेपाली र २० हजार विभिन्न देशका नागरिक छन् । उनले नेपालबाहेक अन्य ३० भन्दा बढी देशमा पुगेर सयौंँको आँखाको ज्योति फर्काइदिएका छन् । उनले नेपालमा ७७ वटै जिल्लामा पुगेर विरामीको उपचार गरेका छन् । अझै पनि उनी नेपालमा दुर्गम तथा ग्रामिण भेगमा पुगेर आँखाको ज्योति फर्काउने सक्रिय छन् । ‘४० वर्षको अवधिमा मैले करिब दुई लाख बिरामीको शल्यक्रिया गरेँ, त्यसमा एक लाख ८० हजारजति नेपाली बिरामी हुनुहुन्छ भने अन्य विदेशका विभिन्न देशका बिरामी हुनुहुन्छ । कतिपयलाई मैले उहाँहरूको देशमै पुगेर उपचार गरेँ, कतिपय मलाई खोज्दै यही उपचार गर्न आउनुभयो । अहिले पनि थुप्रै विदेशीहरू मसँग शल्यक्रिया गराउन आउनुहुन्छ, यो त मप्रतिको भरोसा र विश्वास भन्ने लाग्छ,’ डा. रुइतले सुनाए, ‘उनीहरूको ज्योति फर्काउन पाउँदा म आफँै उज्यालो महसुस गरिरहेको छु, अझै पनि अन्धोपनाले संसारमा देख्न नपाएकाहरू थुपै्र हुनुहुन्छ, उहाँहरूको ज्याति फर्काउने इन्छा छ ।’
डा. रुइतले आँखा स्वास्थ्यमा काम थाल्दा निकै कठिन अवस्था थियो । त्यतिवेला नेपालमा मोतीविन्दुको शल्यक्रिया सहज थिएन । शल्यक्रिया गरे पनि बिरामीलाई मोटो चस्मा दिनुपथ्र्यो । नानीमा राख्न मिल्ने लेन्स थिएन । यो समस्यालाई हटाउन डा. रुइतले जागिरको पहिलो दशक यसैमा अनुसन्धान गरे । उनी भन्छन्, ‘अनुसन्धान गर्दा त्यही मोटो चस्मालाई मोडिफाई गरेर सानो लेन्स बनाउने र क्याट्र्याक सर्जरी गर्न सफल भयौँ ।’ उनका अनुसार उक्त लेन्स आविष्कार गरेपछि नेपालको आई केयर उपचार संसारमै परिचित भयो ।
डा. रुइतको बुझाइमा नेपालले आँखा स्वास्थ्यमा छोटो समयमा नै राम्रो उपलब्धि हासिल गरेको छ । त्यसमा सबै निकायको उत्तिकै भूमिका थियो । ‘आँखाको स्वास्थ्य क्षेत्रमा हामीले राम्रै प्रगति गरेका छौँ, यसमा म र हाम्रो मात्रै संस्थाले गरेको होइन, अन्य थुप्रै संघ–संस्था जोडिएका छन्, अहिलेसम्म तथ्यांककै हिसाबमा सन् १९८०/०८१ मा नेपालमा आँखाको राष्ट्रिय सर्वेक्षण गरिएको थियो, जसमा ०.८ प्रतिशत जनसंख्यामा अन्धोपन रहेको थियो, त्यसपछि सन् २०११ मा आएर त्यो आँकडा घटेर ०.५ प्रतिशत हुँदै अहिले त्यसभन्दा पनि कम भएको छ,’ डा. रुइत भन्छन्, ‘आँखा स्वास्थ्य र पूर्वाधारको हिसाबले पनि नेपालमा निकै राम्रो काम भएको छ । कुनै समय आँखाको डाक्टर पाउन कठिन थियो । अहिले आँखाका विशेषज्ञ डाक्टरहरू ५४० जना हुनुहुन्छ । सन् १९८०/०८१ मा जम्मा १४–१५ जना मात्रै हुनुहुन्थ्यो ।’ उनका अनुसार हाल नेत्र सहायक (अप्थाल्मो एसिस्टेन्स) तीन हजार र अप्टोमेटिस्ट जनशक्ति करिब दुई हजार छन् । यो संख्या बिरामीको अनुपातमा पुग्दो हो ।
नेपालमा उपचार गर्न अमेरिकादेखि जर्मनीसम्मका बिरामी
डा. रुइतले नेपालमा आँखा स्वास्थ्यको इतिहास कस्तो थियो भन्नेमा हालैको घटना सुनाए । ‘केही दिनअघि काठमाडौंबाहिर रामलाल गोल्छा आँखा अस्पताल स्थापना भयो । त्यो अस्पतालका सदस्यले मलाई भन्नुभएको थियो, आजभन्दा १५ वर्षअघि रामलाल गोल्छालाई मोतियाबिन्दु हुँदा अप्रेसन गर्न कलकत्ता जानुभएको रहेछ । त्यहाँबाट उपचार गरेर फर्किएर आउँदा उहाँले सोच्नुभएछ, हामीकहाँ किन मोतीविन्दुको उपचार छैन भनेर,’ डा. रुइतले सुनाए, ‘त्यसपछि उहाँले अस्पताल खोल्नुभयो । अहिले नेपालमा राम्रो आँखा स्वास्थ्य छ । विदेशबाट नेपालमा उपचार गर्न आउँछन् ।’ उनका अनुसार सन् २०१२ तिर नेपालबाट आँखा उपचार गर्न विदेश जानुपथ्र्याे, तर अहिले आँखा उपचार गर्न विदेशबाट बिरामी आउँछन् । ‘आँखा स्वास्थ्यमा योभन्दा राम्रो अर्को उपलब्धि के हुन सक्छ ?’ उनले थपे,
‘उपत्यकाबाहिरका आँखा अस्पतालमा भारतीय बिरामी पनि धेरै आउँछन् ।’ हाल नेपालमा विकसित देशका बिरामी उपचार गर्न आउने डा. रुइतले सुनाए । अझ संसारभरबाट तालिमका लागि आँखाका चिकित्सक नेपाल आउने भएकाले हाल नेपाल आँखा उपचार र तालिम ‘हब’ नै बनेको छ । नेपालमा आँखा उपचार गराउन अमेरिका, फ्रान्स, जर्मनी, अस्टे«लिया, इन्डोनेसिया, नेदरल्यान्ड, साउदी अरब, कुवेत, भारत, पाकिस्तान, अफगानिस्तान, घानालगायत देशसम्मका बिरामी आउने गरेका छन् । त्यस्तै नेपालमा आँखा उपचारको तालिम लिन पनि थुप्रै देशका चिकित्सक आउँछन् । पछिल्ला वर्षमा कम्बोडिया, घाना, बंगलादेश, लाओस्, इन्डोनेसिया, भुटान, साउदी अरब, पाकिस्तान, भारतलगायत देशबाट चिकित्सक तालिमका लागि आउने गरेका छन् । विदेशबाट बिरामी र चिकित्सक आउने क्रम बढेकाले आँखा स्वास्थ्यलाई सरकारले ध्यान दिने हो भने नेपालले मेडिकल टुरिजममा पनि फड्को मार्न सक्ने डा. रुइतको भनाइ छ । उनका अनुसार पछिल्ला वर्षमा नेपाल आँखा उपचार, अध्ययन अनुसन्धान र तालिमका लागि ‘हब’ नै बनेको छ ।
अझै अपुग छ जनशक्ति
नेपालमा आँखा स्वास्थ्यमा उपलब्धि भए पनि अझै चिन्ता गर्नुपर्ने कारण रहेको डा. रुइतको बुझाइ छ । उनका अनुसार आँखा स्वास्थ्यमा नेपालले जति उपलब्धि हासिल गरे पनि अझै जनशक्ति चाहिन्छ । अहिले पनि कतिपय ठुल्ठुला अस्पतालमा आँखा चिकित्सकको माग भइरहेको छ । कतिपयमा आँखाको वार्ड तथा विभाग व्यवस्थित बन्न सकेको छैन । ‘आँखा स्वास्थ्यले नेपाललाई मेडिकल टुरिजममा पनि योगदान गराउन सक्छ । यहाँ तालिम लिन आउने वातावरण पनि बनिसकेको छ,’ डा. रुइत सुनाउँछन्, ‘हामीले आँखा क्षेत्रमा अलि बढी काम गरेको सन् १९९४ देखि हो । तिलगंगाले विशेषत: आँखाको उपचारलाई कसरी दिगो बनाउने र नानीको दानमा कसरी आत्मनिर्भर बन्ने, मोतीविन्दुको उपचार र लेन्समा कसरी आत्मनिर्भर बन्ने भन्ने कुरामा थुप्रै काम गर्यौँ, जसले सफलता पनि दिलायो ।’
हाल नेपालमा सबैजसो संघीय अस्पतालमा आँखा विभाग राखिएको छ । त्यस्तै आँखा क्षेत्रमा काम गर्ने अग्रणी संस्था ‘नेपाल नेत्र ज्योति संघ’ छ । तर, अन्य संघीय अस्पताल र नेत्रन्ज्योति संघ हुँदाहुँदै पनि आँखाका बिरामीको बढी भार तिलगंगालाई नै परेको छ । हाल तिलगंगाले वार्षिक आठ लाख ९० हजार भन्दा बिरामीलाई सेवा दिने गरेको छ । त्यसमध्ये करिब ५८ हजारको वार्षिक शल्यक्रिया हुन्छ । गत वर्ष मात्रै तिलगंगामा आठ लाख ९६ हजार ५३३ जना विरामीले सेवा लिएका थिए भने ५८ हजार ५०२ जनाको शल्यक्रिया भएको थियो । यो संख्या अझै बढ्दो रहेको अस्पतालले जनाएको छ । अन्य अस्पतालमा आँखाको भरपर्दो सुविधा नहुँदा बढी बिरामी तिलगंगामै आउने गरेका छन् ।
रुइतकै पेसा पछ्याउँदै छोराछोरी
आँखा स्वास्थ्यमा अब्बल चिकित्सक डा. रुइत अझै अझै यही क्षेत्रमा तल्लीन छन् । उनी अझै दूरदराजमा पुगेर आँखाको शल्यक्रिया गर्छन् । स्वास्थ्य र उमेरले साथ दिएसम्म आँखा क्षेत्रमा काम गर्ने उनको योजना छ । उनको पेसा पुस्तान्तरण पनि भइसकेको छ । उनका एक छोरा डा. सागर रुइत हाल आँखा क्षेत्रका विशेषज्ञता हासिल गरेर शल्यक्रिया गर्छन् । त्यस्तै, अन्य दुई छोरी पनि यही क्षेत्रसँग सम्बिन्धत पढाइमा छन् । ‘तिलगंगाकै कुरा गर्दा मपछि डा. रीता गुरुङ हुनुहुन्छ, उहाँपछि अरू डा. हुनुहुन्छ, तिलगंगामा आँखाको उपचार र विरासत हामीले थप बलियो बनाउँदै लैजान्छौँ,’ उनले सुनाए, ‘मैले जहाँ काम गरिररहेको छु त्यहाँ म म्यानेजमेन्टभन्दा पनि उपचारमा बढी केन्द्रित छु, त्यसैले पनि यति धेरैको उपचार सम्भव भएको होे । उनले आफ्नो पेसामा विरासतको निरन्तरता निकै बलियो रहेको सुनाए । ‘मलाई चाहिँ यसरी शिविरमा आएर बिरामीसँग बोल्दै उपचार गर्न मन लाग्छ, एकै ठाउँमा नबसी फरक–फरक ठाउँमा अझ दुर्गम ठाउँमा पुगेर उपचार गर्दा खुसी लाग्छ, म अझै पनि गर्वका साथ के भन्न सक्छु भने, मेरा तीनवटै बच्चा नेपालमै बसिररहेका छन्, उनीहरूले नेपालमै बस्ने अठोट गरेका छन्, मेरो ठुलो छोरो आँखाको डाक्टर छ, उसले सर्जरीमा आफूलाई अब्बल बनाइसकेको छ, त्यसपछि मेरी छोरीले मेरो फाउन्डेसन र मेरो क्लिनिक हेर्छिन्,’ डा. रुइतले भने, ‘कान्छी छोरी पनि आँखा क्षेत्रमै पढ्दै छिन् । त्यसैले उनीहरू पनि आफैँ स्वस्फूर्त आँखाकै क्षेत्रमा आएका छन्, मैले उनीहरूलाई करकाप गर्ने वा आउनुपर्छ भनेको होइन ।’
अबको सपना
डा. रुइतले नेपाललाई आँखा स्वास्थ्यमा एकेडेमिक ट्रेनिङ हबको रूपमा विकास गर्न खोजेको सुनाए । उनका अनुसार यसबारेमा डब्लुएचओसँग पनि समन्वय भइरहेको छ । ‘अबको योजना भनेको तिलगंगालाई विश्वविद्यालयका बनाउने हो, तर तिलगंगालाई विश्वविद्यालय बनाउने विधेयक हाउसमै अलपत्र पर्यो । फेरि ताकेता गर्छौंँ,’ उनले सुनाए, ‘आँखा उपचारको हब नेपाललाई बनाउन चाहन्छौँ ।’ आँखा क्षेत्रमा काम गर्नका लागि उनले रुइत फाउन्डेसनलाई आधार बनाएका छन् । जसले पछिल्लो समय आँखा शिविरदेखि दूरदराजमा आँखा स्वास्थ्यमा काम गर्दै आइरहेको छ । मोतीविन्दुको उपचार गर्न नसक्ने निम्नवर्गका मानिससम्म उनी पुगिरहेका छन् । केही समयअघि उनी डोल्पामा पुगेर थुपै्रको आँखाको शल्यक्रिया गरेका थिए । ‘अझ पनि कुनाकाप्चामा अन्धोपन भएका मानिस बसेका छन्,’ उनले सुनाए,‘उहाँहरूलाई स्तरीय सेवा दिन सकेका छैनौँ, नेपालका थुप्रै ठाउँमा शिविर सञ्चालन गरेरै भए पनि ज्योति फर्काउने रहर छ, अझै थुप्रै गाउँहरूमा अन्धोपना छन्, त्यहाँ पुगेर सेवा गर्ने मेरो इच्छा छ ।’
आँखाको नानी र लेन्समा आत्मनिर्भर
डा. रुइतका अनुसार नेपालमा पहिले आँखाको नानीको धेरै समस्या थियो । उनी तिलगंगाका काम गर्दा अलिअलि नानी फेर्ने काम गरिन्थ्यो । त्यतिवेला नानी श्रीलंकाबाट ल्याइन्थ्यो । तर, अहिले तिलगंगा आई ब्यांक खोलेर आँखाको नानी र लेन्समा आत्मनिर्भर बनेको छ । हाल नेपालमा वार्षिक रूपमा नेपालमा एक हजार नानी फेरिन्छ । आँखा डोनेसन गरेका कारण अहिले नानी फेर्न समस्या छैन ।
उनी जुन वेला यस क्षेत्रमा विशेषज्ञ बने त्यतिवेला नेपालमा आँखा स्वास्थ्य निकै नाजुक थियो । उपचार गर्ने जनशक्ति कम थियो । सोही कारण, उनी बिदेसिने मनस्थिति त्यागेर नेपालमै बसे । ‘सन् १९९७ तिर मनमा कताकता विदेशतिरै बस्ने सोच पनि आएको थियो । तर, श्रीमतीले नाइँ फर्किएर नेपालमै बस्नुपर्छ भनिन् । मेरो जीवनको राम्रो निर्णय यही हो जस्तो लाग्छ,’ उनले सुनाए, ‘नेपालमा बसेर मैले नेपालको स्वास्थ्य क्षेत्रमा केही काम गर्ने मौका पाएको छु ।’
नेपालमा मोतीविन्दुको अवस्था
डा. रुइतका अनुसार नेपालमा मोतीविन्दुबाट हुने अन्धोपना निकै कम छ । आँखा ठ्याम्मै बन्द भयो भन्ने समस्या न्यून छ । यसको मुख्य कारण नेपालमा चिकित्सकीय जनशक्ति र बिरामीको उपचारमा पहुँच हो । अहिले बिरामीहरू आँखाको समस्या सहेर बस्दैनन् । स्वास्थ्य संस्थामा आउँछन् । ‘हामीकहाँ मेडिकल जनशक्ति पनि अब्बल बनिसकेको छ । पछिल्लो समय बिरामीको अवस्था हेर्दा सामान्य समस्या भए पनि अस्पताल आउँछन्,’ उनले भने, ‘अर्को कुरा नेपालमा आँखाको उपचार सुलभ पनि छ, हाल नेपालमा ०.१ प्रतिशतलाई मोतीविन्दु छ, किनभने मोतीविन्दुलाई हामीले निराकरण गर्न सकिन्न, उमेरसँग आउने समस्या हो ।’ उनको अनुभवमा मोतीविन्दु भइरहेको बिरामीलाई अन्धोपना हुन नदिन उपचार भने गर्न सकिन्छ । जबसम्म मोतीविन्दुको उपचारका लागि आँखामा राख्ने ड्रप निस्किँदैन, तबसम्म शल्यक्रिया नै विकल्प रहेको डा. रुइतले बताए ।