धिमेसँग रमाउँदै युवापुस्ता

शनिबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण
  • धिमे बजाउने युवा भन्छन्– हाम्रो उद्देश्य उपत्यकाको संस्कृति प्रवर्द्धन गर्ने हो । हामीले नगरे कसले गर्ने ?

अचेल काठमाडौं उपत्यकामा बस्ने धेरैले धिमेको आवाज सुनेको हुनुपर्छ । धी अर्थात् ढिक्का, मे अर्थात् गीत । धिमे भनेको काठको ढिक्का ठोकेर बजाइने बाजा । पछिल्लो समय नेवा: समुदायमा धिमे बाजा बजाउनेको संख्या बढेको छ । त्यसमध्ये पनि जेन–जी उमेर समूहका युवाको धिमेप्रतिको प्रेम उल्लेख्य देखिन्छ । त्यसैमध्येकी सबी श्रेष्ठ पनि हुन् । सबी कक्षा नौमा पढ्दै छिन् । नौ कक्षा पढ्ने धेरै विद्यार्थीको एउटै उद्देश्य पढाइ नै हुन्छ । तर, सबी अध्ययनसँगै धिमे पनि राम्रो बजाउँछिन् ।

सवि श्रेष्ठ, काठमाडौं

करिब साढे एक वर्षअघिदेखि नै सबीले धिमे बजाउन थालेकी हुन् । नेवा: समुदायको धेरै जात्रापर्वमा प्रयोग हुने यो बाजा सबीले करकापमा होइन, रहरमा बजाउन थालेकी हुन् । ‘जात्रा पर्वतिर जाँदा अरूले धिमे बजाएको देखेर नै मलाई पनि इच्या जागेको थियो । त्यसपछि सिकेर बजाउन थालेको हुँ,’ सबीले भनिन्, ‘सिकेको साढे एक वर्ष भए पनि धिमे बजाउन धेरै ठाउँमा पुगिसकेको छु । कहिलेकाहीँ आधा दिन मात्र पढेर धिमे बजाउन जान्छु ।’ परिवारको समेत साथ मिलेपछि उनी अहिले निरन्तर धिमे बाजा बजाउँदै छिन् । ‘घरमा ममीले पनि हामीले सिक्न पाएनौँ । तिमीले सिक भन्नुहुन्छ । धिमे बजाएर हिँड्दा मलाई गौरव लाग्छ,’ उनले भनिन् ।

सबीजस्तै प्रशान्त तामाङले पनि धिमे बाजा बजाएर हिँड्न थालेको दुई वर्ष भइसकेको छ । उनी तामाङ समुदायको भए पनि असनको नेवा: समुदायमा हुर्किएकाले सानैदेखि नेवा: समुदाय र धिमे बाजाप्रति जानकार नै थिए । कक्षा १० पढ्दै गर्दा उनले धिमे बजाउन सिके ।  ‘१० कक्षामा पढ्दै गर्दा ट्युसन पढ्ने ठाउँमै समूह बनाएर धिमे बजाउन अभ्यास भइरहेको थियो । दुई–तीन दिनसम्म खासै वास्ता गरिनँ । तर त्यसपछि भने मलाई पनि बाजा बजाउने इच्या लाग्यो । त्यसपछि सिक्न थालेँ,’ प्रशान्तले भने । कक्षा १२ पढ्ने उनले दुई वर्षअघि गुँला पर्वमा पहिलोपटक धिमे बाजा बजाएका थिए ।

सिक्दै सिकाउँदै 

सन्देश मानन्धर, काठमाडौं

सानैदेखि सामाजिक कार्यमा सक्रिय भीमसेनथानका सन्देश मानन्धरले जात्रा पर्वमा धिमे बाजा देखेका थिए । धिमे बजाउनेहरू देखेका थिए । तर, मानन्धर समुदायले धिमे बजाउन हुन्न भन्ने भाष्य निर्माण भएकाले उनले धिमे बजाउने आँट गरेका थिएनन् । तीन वर्षअघि भने उनलाई पनि धिमे बाजा बजाउन मन लाग्यो । त्यसपछि सिकेरै छाडे । ‘मेरो ममीबाबा संगीतमा हुनुहुन्थ्यो । घरमा मलाई चाहिनेजति सबै बाजा उपलब्ध थिए । धिमे पनि थियो । तर, बजाउन आउँदैन थियो । धिमेले मेरो उमेर समूहलाई जोडेकोजस्तो लाग्थ्यो । त्यसमा म छुटेँ भन्ने लागिरहन्थ्यो । त्यसैले म पनि ती समूहमा जोडिन बाजा सिक्न थालेँ,’ उनले भने ।  धिमे बजाउन सिकेपछि उनले आफू मात्र सिकेनन् । अरूलाई पनि सिकाउन थाले । उनीसँग बिआइटी पहिलो सेमेस्टर पढ्ने आकृति श्रेष्ठलाई पनि जोडे । ‘म सधैँ यही फिल्डमै पूरा समय रहन्छु भन्ने छैन । त्यसका लागि मेरो ठाउँ लिने अरू मान्छे बनाएको हो । अहिलेसम्म चाहिँ मेरो प्राय: सर्कल नै यही क्षेत्रमा छन् । हाम्रो उद्देश्य काठमाडौं उपत्यकाको जति पनि संस्कृति छ, तिनलाई प्रवर्द्धन गर्ने हो । हामीले नगरे कसले गर्ने ?’ सन्देशले भने । 

आकृति श्रेष्ठ, काठमाडौं

आकृतिले एक वर्षअघि सन्देशबाटै धिमे बाजा बजाउन सिकेकी हुन् । गत वर्षको य:मरि पुन्हिदेखि उनले धिमे बजाउन थालेकी हुन् । ‘म नेवा: भए पनि मेरो सर्कल नेवा: थिएन । त्यसैले पहिला मलाई नेवा: संस्कृतिमा खासै रुचि थिएन । बिस्तारै संगीत, बाजागाजातिर रुचि जाग्यो । धिमेको धुनले मुटुमै हानेकोजस्तो भएपछि सिक्नै पर्‍यो भनेर सिक्न थालेँ ।’ धिमे बजाउने क्रममा उनलाई परिवारबाट आफूभन्दा ठुलो धिमे कसरी बजाउँछस् ? भन्ने प्रश्न नआएका होइनन् । तर, उनले धिमे बाजा बजाएरै छाडिन् ।

नेपाल चिनाउन सगरमाथा, नेवा: चिनाउन धिमे 
सामाजिक र सांस्कृतिक गतिविधिका लागि सुरु गरिएको ‘द लोकल्स’का महासचिवसमेत रहेका सन्देश नेपाल चिनाउने सगरमाथा भएजस्तै नेवा: समुदायलाई चिनाउने धिमे बाजा भएको बताउँछन् । त्यसैले अरू युवा पुस्ता पनि आफ्नो संस्कृति प्रवर्द्धनमा लाग्नुपर्ने उनी बताउँछन् । आकृतिका अनुसार संस्कृति नै हाम्रो पहिचान भएकाले यसका लागि नेवा: युवा मात्र होइन, अरू युवा पनि संस्कृति प्रवर्द्धनमा लाग्नुपर्छ । ‘अहिलेको युवाले परिवर्तन गर्न सक्छ । अहिलेको राजनीतिक अवस्थालाई हेर्ने हो भने पनि भ्रष्टाचार र सुशासनको पक्षमा काम गर्न अन्तरिम सरकार ल्याएको छ । त्यसैले, युवाले संस्कृतिलाई पनि प्रवर्द्धन गर्न सक्छ,’ आकृतिले भनिन् । ‘पछिल्लो समय कुमा सागर, उजन शाक्य एन्ड इमर्जको क्रेज धेरै बढेको छ । यसले पनि संस्कृतिलाई टेवा पुगेको छ । किनभने, उनीहरूले नेवारी बाजाको धेरै प्रयोग गरेका छन् । संगीतमार्फत नेवारी संस्कृतिलाई प्रवर्द्धन गरेका छन्,’ आकृतिले भनिन्, ‘म पनि पहिला नेवारी गीत सुन्दिनथेँ । तर, अहिले उनीहरूलाई सुन्न थालेपछि कन्सर्टमै समेत जान थालेकी छु । उनीहरूकै गीत सुनेपछि बाँसुुरी सिक्ने इच्छा जाग्यो । र, सिक्न थालेको छु । धा: बाजा, खिं पनि सिक्न मन छ ।’

प्रशान्तलाई विदेश जाने रहर थियो । तर, अचेल त्यो रहर परिवर्तन भएको  छ । उनलाई नेपालमै बसेर संस्कृति प्रवर्द्धनको क्षेत्रमै केही गर्न मन छ । आफूजस्तो युवा पुस्ताले चाहेमा ठुलो परिवर्तन ल्याउन सक्ने हुनाले संस्कृति संरक्षण र संवद्र्धनमा पनि लाग्नुपर्ने उनी बताउँछन् । ‘जबसम्म धिमे बजाउन सक्छु, त्यतिवेलासम्म बजाउँछु,’ उनले भने, ‘बुढापाकाहरूले गर्नुपर्छ मात्र भन्दा रहेछन्, गर्ने होइन रहेछ । त्यसैले, हामीजस्तो युवाले पहिलेदेखि चलिआएको संस्कृतिलाई नाश हुन दिनु भएन । विश्वव्यापी रूपमा हाम्रो देश सानो भए पनि संस्कृतिमा धनी रहेछ भनेर देखाउन पनि लाग्नुपर्‍यो ।’

सबीको सर्कलमा धिमे बाजा बजाउने कोही छैनन् । उनका साथीहरू बाजा बजाएर के हुन्छ भन्छन् ? तर, उनी हारेकी छैनन् । ‘जात्रामा गएर बाजा बजाएर के हुन्छ भन्छन् । तर, जात्रामा आएर बाजा बजाएर साथीसँग रमाइलो गर्नुको छुट्टै मज्जा छ । यसमा सहभागी नभएसम्म  बुझ्दैनौ भनेर साथीहरूलाई भनिदिएको छु,’ उनले भनिन् । आठदेखि नौ केजीसम्मको धिमे बाजा बजाउँदै गरेका यी तन्नेरी पुस्ताका अनुसार धिमे बाजा बजाउनेको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । उनीहरू विदेशमै गए पनि आफ्नो संस्कृतिको बारेमा भन्न सक्ने बन्न अरू युवालाई आग्रह गर्छन् । 

पुस्तान्तरण व्यवहारमै लागू भयो
सन्देशले धिमे बजाउन सिक्ने समयमा पनि धिमे खल: (समूह) धेरै थिएनन् । सिक्न आउनु भनेर आग्रह गर्नुपर्थ्यो । ‘सकेसम्म धेरैमा यो बाजा, यो संस्कृतिका बारेमा भन्नुपर्छ भन्ने हिसाबले काम गरिरहेको छु,’ उनले भने । अभियन्ता गणपतिलाल श्रेष्ठ पछिल्लो समय धिमे बाजा बजाउनेको संख्या बढ्नु गौरवको विषय भएको बताउँछन् । काठमाडौं उपत्यकाको महत्वपूर्ण जात्रा इन्द्रजात्राको उदाहरण दिँदै उनले भने, ‘पछिल्लो समय इन्द्रजात्रामा मात्र ९६ वटा बाजा खल:ले धिमे बाजा बजाउँछन् । ती बाजा खल:लाई रथ तान्ने तीन दिन छुट्टाछट्ट बोलाउँछौँ । यो गौरवको कुरा हो । अहिले देखिएको ती बाजा खल:लाई व्यवस्थापन गर्न सक्यौँ भने त्योजस्तो राम्रो केही हुन्न ।’

‘काठमाडौंमा मनाइने रथ जात्रा, खट जात्रामा सम्बन्धित गुठी त सहभागी हुन्छन् । त्योबाहेक टोलका अरू समूह लागेपछि जात्रामा फरक उत्साह थपिएको छ । जात्रा, पर्व व्यवस्थापनका लागि युवालाई परिचालन गर्‍यौँ । बिस्तारै धिमे बजाउन उनीहरूलाई भन्न थाल्यौँ,’ धिमे बाजा बजाउनेको संख्या कम भएको वेलाका दिन सम्झँदै उनले भने । उनका अनुसार करिब डेढ दशकअघितिर आफ्नो गुठीबाट धिमे, बाँसुरी अरूतिर सिकाउन हुँदैन । महिलालाई बाजा बजाउन दिनुहुँदैन भन्ने प्रचलन गर्दा धिमे बजाउनेको संख्या कमी थियो । तर, पछिल्लो समय महिला, पुरुष, जुनसुकैले धिमे बाजा बजाउन थालेपछि संख्यामा वृद्धि भएको हो ।

‘धिमे बाजामा पुस्तान्तरण र हस्तान्तरणको कुरा व्यवहारमै आयो । अचेल कुनै कार्यक्रम उद्घाटन गर्दा, केही काम सुरु गर्दासमेत धिमे बाजा प्रयोग हुन थालेको छ । बिहेमा पहिले ब्यान्ड बाजा मात्र बजाउँथ्यौँ । अहिले टोलटोलमा भएका बाजा खल:लाई बोलाउँछौँ । यसले संस्कृति व्यावसायिक पनि भएको छ । आम्दानीको स्रोत पनि भएको छ,’ गणपतिलालले भने, ‘अब चिरकालसम्म धिमे बाजा संस्कृति अगाडि बढ्छ भन्ने भएको छ । यसका लागि गुठी खल:ले पनि आफ्नो सोचाइमा परिवर्तन गर्नुपर्छ । स्थानीय सरकारको पनि उपस्थिति रहिरहनुपर्‍यो ।’

इन्दिरा लाक्षीमस्यु, भक्तपुर

काठमाडौंमा मात्रै होइन, भक्तपुरमा पनि पछिल्लो समय धिमे बाजा बजाउने युवाको संख्यामा वृद्धि भएको छ । विभिन्न विद्यालय, सहकारीले नै धिमे बाजा बजाउन प्रशिक्षण दिन थालेपछि हजारौँको संख्यामा धिमे बजाउन युवा आएको इन्दिरा लाक्षीमस्यु बताउँछिन् । सयौँको संख्यामा बाजा खल छन् । इन्दिरा धिमे बाजा बजाउने नेपालकै पहिलो महिलासमेत हुन् । उनले ५१ सालमा धिमे बजाउन सिक्दा महिलालाई बन्देज थियो । तर, परिवारको समर्थनमा उनले धिमे बजाउन सिकेकी थिइन् । ‘पछिल्लो समय धिमे बजाउने धेरै युवापुस्ता छन् । केटाकेटी दुवैले उत्तिकै मात्रा बाजा बजाउँछन्,’ इन्दिराले भनिन्, ‘कतिपयलाई माहोलले पनि बाजा बजाउनुपर्छ भन्ने लागेको हुनुपर्छ । कतिपय आफ्नो संस्कृति बचाउनुपर्छ भनेर पनि आएका छन् ।’ उनका अनुसार अहिलेको पुस्तालाई धिमे बजाइरहने बनाउन विभिन्न क्षेत्रबाट सकारात्मक पहल हुनुपर्छ । ‘अहिले आएका नयाँ पुस्ता यही क्षेत्रमा रहेर संस्कृति बचाउने र आम्दानी पनि हुने काम भएमा धिमे बाजाजस्तो हाम्रो संस्कृति कालान्तरसम्म जानेछ,’ उनले भनिन् । 

बाबुुराजा ज्यापु, ललितपुर

ललितपुरमा पनि धिमे बजाउने युवाको संख्यामा उल्लेख्य वृद्धि भएको पाटनका बाबुराजा ज्यापु बजाउँछन् । ज्यापु समाज यलका अनुसार पाटनको कोर क्षेत्रभित्र मात्र ४० वटा बाजा खल रहेका छन् । ज्यापुबाहेक अरू थुप्रै नेवा: समुदाय र गैरनेवा: समुदायका युवा पुस्ताले धिमे बाजा बजाउन थालेका छन् । करिब २५ वर्षअघि नै धिमे बजाउन सिकेर बजाउन थालको उनी पछिल्लो समय धेरै युवा संस्कृतिप्रतिको जागरुकताले धिमे बजाउन आएको बताउँछन् । ‘धेरै युवा पुस्ता संस्कृतिप्रति झुकाव भएरै धिमे बजाउन आएका छन् । त्योबाहेक मोबाइल, ट्याबलगायत ग्याजेटबाट छुटकारा दिन अभिभावकले पनि धिमे बजाउन पठाउँछन् । त्यसपछि धिमेको गोलले नै उनीहरूलाई धिमे बजाइराख्ने बनाउँछ,’ उनले भने । 

See More On

सुझावित समाचार