चुनावी च्याउहरू

बजारमा च्याउ धेरै छन्, कोही विषालु छन्, कोही नशालु छन् त कोही केवल देखावटी

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

व्यंग्य

वर्षायाममा जसरी वनपाखामा च्याउ उम्रिन थाल्छन, ठिक त्यसैगरी चुनावको सिजन चल्नासाथ देशमा ‘दल’हरू उम्रिन सुरु हुन्छ । निर्वाचन आयोगको बारीमा दर्ता हुने यी दलहरूका रङ, रूप र प्रजाति अनेक छन् । वनस्पति शास्त्रले च्याउलाई जसरी वर्गीकरण गर्छ, नेपाली राजनीतिशास्त्रले पनि यहाँ उम्रिएका दललाई निम्न प्रजातिमा वर्गीकरण गरेको छ :

१. गोब्रे दल : यो दलको मुख्य मलजल नै ‘भ्रम’ हो । चुनावको नतिजाले राम्रै सिट गोब्य्राउला । त्यो सिट सत्ताको ठुलै भाग गोब्य्राउला र स्वाद लिम्ला भन्ने आसमा यो प्रजातिको जन्म हुन्छ । यसमा विशेषगरी समाजमा थोरबहुत नाम चलेका ‘सेलिब्रेटी’ र दाम कमाएका उद्योगी–व्यवसायीको आकर्षण देखिन्छ । यिनीहरूलाई लाग्छ, ‘पर्दामा वा बजारमा म जे छु, मतपत्रमा पनि त्यही हुन्छु । संसार मेरै पछि छ ।’ 

तर विडम्बना ! चुनावको दिन मतदाताले ‘कन्नो’ फर्काएर यस्तो गोब्य्राइदिन्छन् कि यिनीहरूको जमानतसमेत गोबरमा मिल्छ । अन्त्यमा, रिसले भुन्भुनिँदै यिनीहरू निष्कर्ष निकाल्छन्, ‘गणेशमानजीले नेपाली जनतालाई भेडा भनेर ठिकै भनेका रहेछन् !’

२. कन्ने दल : यी दल खासमा राजनीतिक मैदानमा भन्दा बढी मिडियाका पर्दा र स्टुडियोमा उम्रिन्छन् । वर्षौंसम्म टिभी टक सोमा ज्ञान पेलेर, पत्रिकामा लेखेर, अरूको उछित्तो काढेर र ठसठसी ‘कनेर’ गफ जोत्दा–जोत्दा यिनीहरूलाई ‘अब देश बनाउने पालो मेरै हो’ जस्तो लाग्छ । उनीहरूलाई देश बनाउने तलतल लाग्छ । यिनीहरूको एक बोरा ‘डिग्री’देखि लिएर टेलिभिजन टक–सोका ‘जिग्री’सम्म हुन्छन् । यिनीहरूलाई एउटा गज्जबको भ्रम हुन्छ, ‘मैले सुकिलो सर्ट र टाई लगाएको छु । कडा अंग्रेजी म बोल्छु । दार्शनिक लवज मेरो छ । त्यसैले मप्रति स्वत: आकर्षण छ ।’ तर, बिचराहरूलाई के थाहा, मतदातालाई ‘टाई’ भन्दा ‘टाई–टाई’ (हल्ला) गर्नेहरूसँग बढी रमाइलो लाग्छ !

३. पराले दल : यो प्रजाति अलि ज्वलनशील हुन्छ । यसका पनि दुई उप–प्रजाति भेटिएका छन् :

प्रजाति एक (फुटपरस्त) : भनिन्छ, दलभित्रको झगडा परालको आगो हो । यो जति छिटो बल्छ, उति छिटो निभ्छ । तर, जब निभ्दैन, आगो सल्किँदै गएर सिंगो दल नै फुट्छ र खरानीको थुप्रोबाट नयाँ ‘पराले दल’ बन्छ । यिनीहरू सुरुमा बडो जोसिला हुन्छन् । यिनीहरूको मुख्य एजेन्डा देश बनाउने वा फसल फलाउनेभन्दा पनि आफ्नो पूर्व–माउ पार्टी (संस्थापन) लाई हराएर ‘मसल’ देखाउनुमा केन्द्रित हुन्छ । जब चुनाव सकिन्छ र हैसियत खुल्छ, अनि ‘देख्यौ त?’ भन्दै खुच्चिङ बजाउँछन् । माउपार्टीले नि हो र छ ल आओ भन्छ । अनि लुरुक्क परेर फेरि पुरानै दलको परालको कुन्युमा मिसिन पुग्छन् ।

प्रजाति दुई (मौकापरस्त) : यो प्रजाति सेप्टेम्बर ८ र ९ जस्ता दिन वा घटनामा भएको मानवीय र भौतिक क्षतिको जगमा उम्रिन्छ । जब देशमा परालको कुन्युजसरी असन्तुष्टि वा संरचना जल्छ, यिनीहरू आगो निभाउन होइन, त्यही आगोमा ‘रोटी सेकाउन’ तम्सिन्छन् । ‘देख्यौ ? तिनीहरूले देश बनाएनन्, अब हामी बनाउँछौँ’ भन्दै यिनीहरू रन्किएर आउँछन् । तर दुर्भाग्य ! हतारमा रोटी सेकाउन खोज्दा न रोटी पाक्छ, न यिनीहरूको पेटले पचाउँछ । उल्टै काँचो रोटीले छेरपटी चलेर यिनीहरू जहाँ पायो त्यहीँ टुसुक्क बस्दै उठ्दै बाटो लाग्छन् ।

४. मृगे दल : मृगेच्याउजस्तै यो दलको उपस्थिति मृगतृष्णाजस्तै हुन्छ । सिजनमा हुरुरु उम्रिन्छन्, र सिजन सकिएपछि भतक्कै मर्छन् । यिनीहरू खासमा राजनीति गर्नभन्दा पनि ‘मनको रहर’ पूरा गर्न आएका हुन्छन् । यो एक प्रकारको ‘फेसन’ वा ‘होडबाजी’ हो । ‘फलानोको छोराले दल खोल्यो, मेरो छिमेकीले खोल्यो, साथीभाइले खोले, अनि मैले चाहिँ किन नखोल्ने ?’ भन्ने मनोविज्ञान यिनीहरूमा हाबी हुन्छ । जसरी मान्छेले नयाँ मोडेलको फोन किन्छ, त्यसरी नै यिनीहरू ‘हेरौँ न त एकपटक ट्राई गरेर’ भन्दै दल खोल्छन् । टोलछिमेकमा धाक जमाउन र चिया पसलमा गफ दिने मेलोका लागि मात्र यिनीहरूको जन्म भएको हुन्छ ।

५. राते दल : यो राते च्याउ प्रजाति आफूलाई बहुमूल्य जडीबुटी वा ‘औषधीय गुण’ले युक्त दाबी गर्छ । तर, समस्या के छ भने, डाक्टरको ‘प्रेस्क्रिप्सन’को अक्षरजस्तै यिनीहरूको बोली र व्यवहार सर्वसाधारणले बुझ्दै बुझ्दैनन् । यिनीहरू दाबी गर्छन्, ‘हामीसँग देशको हररोगको अचुक ओखती छ ।’ तर, यिनीहरूको ओखती (विचार) जमरा, तितेपाती वा लौकाको जुसजस्तै मान्छेले विगतमा राम्रैसँग पत्याएका पनि छन् । विडम्बना त के छ भने, देश र जनताको उपचार गर्ने दाबी गर्ने यी झाँक्रीहरू आफैँ भने कहिल्यै स्वस्थ रहँदैनन् । कहिले फुट्ने, कहिले जुट्ने, कहिले चिरा पर्ने, यिनीहरू आफ्नै उपचार नपाएर छटपटाइरहेका देखिन्छन् ।

६. झरिङ्गे च्याउ : यसलाई च्याउको राजा मानिएझैँ, झरिङ्गे दलहरू आफूलाई ‘दलको राजा’ ठान्छन् । कोही आफूलाई सिंहझैँ बलवान् ठानेर राजा मान्छन्, कोही ‘हामी त राजा नै हौँ’ भन्ने भ्रम पालेर आफूलाई सर्वेसर्वा ठान्छन् । पुराना र रैथाने प्रजाति भएकाले यिनीहरूको जरा गाडिएको छ, तर अहिले बजारमा यिनीहरूको उत्पादन (लोकप्रियता) घट्दो छ ।

यिनीहरू अघिल्लो चुनावपछि अलिकति डराएका थिए, ‘देशमा च्याउहरू धेरै भए, भाग खोसिने भयो,’ भनेर । त्यसैले ‘अब हामी दुई ठुला च्याउ मिलेर पुस्तौँपुस्ता खानुपर्छ, अरूलाई रोक्नुपर्छ’ भन्दै यिनीहरू सिन्डिकेट खडा गर्न खोज्दै थिए । तर, युवाहरूको आन्दोलनले पछारिएपछि यिनीहरू अहिले बिलखबन्दमा छन् । यो चुनावमा यिनीहरूको उत्पादन (सिट) खासै नहोला भनिन्छ, तर खेती धेरै जमिनमा भएकाले जति नै कुहिए पनि उत्पादन शून्य नै चाहिँ नहोला भन्ने छ ।

७. दुधे च्याउ : पछिल्लो समय देशमा दुधे च्याउ दलको उत्पादन र माग ह्वात्तै बढ्ने सम्भावना देखिएको थियो । तर, पुराना च्याउ किसानहरूले ‘यिनीहरूको त ओठ निचोर्दा दुध आउँछ, के देश चलाउँथे ?’ भन्दै यति खिस्याए र पेले कि, यिनीहरू त्यतै विरक्तिए । खेतीको प्रचूर सम्भावना हुँदाहुँदै र जनमासको चाहना हुँदाहुँदै पनि सही मलजल नपाउँदा वा उत्पादनतिर नलाग्दा यो चुनावमा दुधे च्याउको सम्भावना त्यत्तिकै खेर जाने खतरा बढेको छ । बजारमा च्याउ धेरै छन् । कोही विषालु छन्, कोही नशालु छन् त कोही केवल देखावटी । छान्ने जिम्माचाहिँ मतदाताको आफ्नै विवेकमा निर्भर छ !

See More On

सुझावित समाचार