बाराको प्रसौनी नगरपालिका– ६ स्थित किरण वेभरेज प्रालिको पानी उद्योगका प्रबन्धक रामकिशोर सिंह धारिलो हतियारले रेटेर हत्या गरिएको अवस्थामा फेला परेका छन्। सर्लाही धनकौल गाउँपालिका– २ घर भएका ४२ वर्षीय सिंह उद्योगनजिकै मृत फेला परेका हुन्।
उद्योगबाट करिब ५० मिटर उत्तरतर्फ झाडीमा छोपेर फालिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा घाँटी रेटेर हत्या गरेको देखिएको छ। शवलाई पोस्टमार्टमका लागि कलैया अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
पण्डितका अनुसार घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ। हत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनास्थलबाट सिंहको मोबाइल फेला नपरेको बताएको छ। उनी उद्योगमै बस्दै आएका थिए।
उद्योगभित्रको सिसिटिभी क्यामेरासमेत फुटाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ, जसले योजनाबद्ध हत्या भएको शंका अधिक बलियो बनाएको छ। प्रहरीले प्रदेश कार्यालयबाट तालिमप्राप्त कुकुरसमेत ल्याई घटनाको थप अनुसन्धान गर्ने तयारी गरेको छ।