- शौचालयहरूमा सवारीचालकको उचित र भरपर्दो पहुँच बढाउन सके सडक सुरक्षामा सुधार हुन सक्छ
अफ्रिकाका सडकमा यात्रा गर्दा धेरै चुनौती आउँछन् । सबैभन्दा ठुलो चुनौती भनेको आफ्नो गन्तव्यमा सुरक्षित रूपमा पुग्नु हो । यो महादेश विश्वव्यापी सडक दुर्घटनाको केन्द्र हो । विश्वको सवारीसाधनको चार प्रतिशतभन्दा कम संख्या भए पनि यसको सडक दुर्घटनामा हुने मृत्युले विश्वव्यापी त्यो संख्याको लगभग एकचौथाई हिस्सा ओगटेको छ । सवारी दुर्घटनाका दृष्टिले उपसहारा अफ्रिकाको अवस्था विशेष गरी भयानक छ । सडक दुर्घटनाले यस क्षेत्रलाई विश्वको अन्य कुनै पनि क्षेत्रभन्दा बढी असर गर्छ । प्रतिएक लाख मानिसमा २७ जनाको सडक मृत्युदर युरोपको औसत नौभन्दा तीनगुणा बढी र विश्वव्यापी औसत १८ जनाभन्दा धेरै माथि छ ।
सडक विकासमा हालै बढ्दो लगानीका बाबजुद धेरै अफ्रिकी देशमा सडकको गुणस्तर सामान्यतया कम छ । यी अनुसन्धान रिपोर्ट विश्व आर्थिक मञ्चको सर्वेक्षण र अन्तर्राष्ट्रिय मुद्रा कोषको क्रसकन्ट्री सडक गुणस्तर सूचीमा राखिएको छ । दुर्घटना र कमजोर सडक मात्र ती चिज होइनन् जसले यात्रालाई नरमाइलो बनाउन सक्छन् । त्यसबाहेक शौचालयको अभाव हो । अफ्रिकाको सडकमा यात्रा गर्दा प्रकृतिले तपाईंलाई बोलाएमा तपाईं गहिरो समस्यामा पर्नुहुन्छ । सडक र गतिशीलताको योजना बनाउँदा अधिकारीले पर्याप्त, सुरक्षित र सफा शौचालयमा पहुँचलाई विरलै समावेश गर्छन् ।
सन् २०२० मा सार्वजनिक हितका वकिल एड्रियन कामोथो जेन्गाले केन्याका केही अधिकारीविरुद्ध मुद्दा हाले जसले गर्दा उनीहरूलाई यात्रुका लागि शौचालय उपलब्ध गराउन बाध्य पार्यो । यो कुनै विशिष्ट अफ्रिकी समस्या होइन, अमेरिका र बेलायतमा पनि यस्तै चुनौती छन् । भिन्नता यो हो कि ती ठाउँमा अनुसन्धानकर्ताले समस्याबारे ज्ञान बाँडेका छन् । म अक्सफोर्ड विश्वविद्यालयको यातायात अध्ययन एकाइमा गतिशीलता शासनमा एक वरिष्ठ अनुसन्धानकर्ता हुँ । मेरो अनुसन्धान रुचिमा गतिशीलता प्रणालीभित्र शौचालय पहुँच समावेश छ । हालैको एक शोधपत्रमा मैले सडकमा शौचालय व्यवस्थाबारे धेरैको ध्यान आकर्षित गरेँ ।
शौचालयमा सवारीचालकको उचित र भरपर्दो पहुँच बढाउनाले सडक सुरक्षा प्रदान गर्न सक्छ भन्ने मेरो तर्क हो । मैले स्कोपसजस्ता शैक्षिक डेटाबेस खोजेँ र धेरै कागजातको समीक्षा गरेँ । सुरक्षा रणनीतिका रूपमा चालकका लागि शौचालय पहुँचबारे विरलै अनुसन्धान गरिएको मैले पाएँ । शौचालयको सुविधा नहुँदा चालकको ध्यान भंग हुन्छ र सडक दुर्घटना निम्तिन्छ ।
बाथरुम जानका लागि आत्तिइरहेका वेला गाडी चलाउनु एक पीडादायी अनुभव हो र यसले चालकको ध्यान भंग हुन सक्छ । यसले चालकको ध्यान सडक र सवारीको अवस्थाबाट हटाएर आफू र अन्य सडक प्रयोगकर्तालाई जोखिम खडा गर्न सक्छ । शारीरिक आवेगले खतरनाक परिस्थितिमा उनीहरूको निर्णय र प्रतिक्रियालाई असर गर्न सक्छ । ध्यान भंग र आवेगले चालकलाई अधीर बनाउन सक्छ र तीव्र गतिमा गाडी चलाउन बाध्य पार्न सक्छ । अनुसन्धानले देखाएको छ कि पिसाबथैली भरिएको वेला पिसाब फेर्न नसक्ने व्यक्तिहरूले २४ घण्टासम्म एकाग्रतामा कमजोरीको अनुभव गर्छन् । शौचालय खोजीको दबाबमा गाडी चलाउनु मादक पदार्थ सेवन गरेर वा थकित भएर गाडी चलाउनुजत्तिकै खतरनाक छ ।
अफ्रिका विश्वव्यापी शौचालय अभावको प्रमुख स्थानमध्ये एक हो । विश्व स्वास्थ्य संगठनले महादेशका लगभग ७७ करोड ९० लाख मानिससँग पर्याप्त, सुरक्षित र सफा शौचालयमा उचित र भरपर्दो पहुँच नभएको बताएको छ । थप सार्वजनिक शौचालय निर्माण गर्नाले महादेशमा सामान्य शौचालय अभावलाई सम्बोधन गर्न सक्छ ।
ताजा खबर के छ भने घानामा निजी विकासकर्ताले राजमार्गमा आराम गर्ने ठाउँमा लगानी गरिरहेका छन् । यी सामाजिक सडक यातायात पूर्वाधारले यात्रुलाई आराम गर्न, सामान र सेवामा पहुँच प्रदान गर्न र यात्रा विश्रामको समयमा सामाजिकीकरणको काम गर्छन् । निजी प्रावधानलाई समर्थन गर्न सरकारले अन्वेषण गर्न सक्छन् ।
यद्यपि, विश्रामस्थल प्राय: बाहिरी इलाकामा रहेका हुन्छन् । धेरैजसो चालक र अन्य सडक प्रयोगकर्ताले सहरमा काम गर्छन् । बाहिर शौचालयको आवश्यकता पर्दा केही चालक र अन्य सहरी यात्रुले इन्धन स्टेसन, होटेल, रेस्टुरेन्ट, बैंक, कफी पसल, हेयर सैलुन र सहरका अन्य प्रतिष्ठानमा उपलब्ध शौचालय सुविधा प्रयोग गर्ने सम्भावना हुन्छ । तिनको लागत, सुरक्षा, सरसफाइ र त्यसलाई प्रयोग गर्दा हुने संकोचबारे धेरै थाहा छैन । अनुसन्धानकर्ताले यी मुद्दाको अनुसन्धान गर्नुपर्नेछ र जनतासँग निष्कर्ष सेयर गर्नुपर्नेछ । जब धेरै मानिस समस्याबारे सचेत हुन्छन् शौचालयमा राम्रो पहुँचको माग र समर्थन गर्ने सोचमा परिवर्तन हुन सक्छ ।
(बोटेङ युनिभर्सिटी अफ अक्सफोर्डका वरिष्ठ अनुसन्धान फेलो हुन्)
द कन्भर्सेसनबाट