नेपाली कम्युनिस्ट पार्टीमा चार पार्टी र समूह समाहित भएका छन् । जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह बिहीबार नेकपामा समाहित भएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा ती पार्टी र समूहका नेता तथा कार्यकर्तालाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायत नेताहरूले स्वागत गरे । समाहित भएका नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने नेताहरूले बताएका छन् ।
प्रचण्डले आगामी महाधिवेशनले नै नेकपाको नयाँ मोडलको खाका कोर्ने दाबी गरे । १७ घटक एकता प्रक्रियामा सहभागी भएको भन्दै उनले कुनै विमति नभएको बताए । उनले आफूहरूका लागि पद ठुलो कुरा नभएको पनि दाबी गरे ।
यसैबीच, घनश्याम भुसाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त)बिच पार्टी एकताको सहमति भएको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी एकता सहमति सार्वजनिक गरिएको हो । भुसाल र जोशीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । एकतापछि पार्टीको नाम नेकपा संयुक्त रहनेछ । चुनाव चिह्न पनि संयुक्तकै हँसिया हुनेछ । पार्टीको झन्डा कम्युनिस्ट पार्टीकै हुनेछ भने बौद्धिक श्रमको पनि प्रतिनिधित्व हुने संकेतसमेत समावेश गरिने नेताहरूले बताएका छन् । दुई महिनाभित्र राष्ट्रिय सम्मेलन गरेर अघि बढ्ने सहमति पनि भएको छ । राष्ट्रिय सम्मेलनबाटै नेतृत्व चयन गरेर अगाडि बढ्ने नेताहरूले बताएका छन् । जोशीलाई सम्मानजनक स्थान दिएर भुसाल कार्यकारी भूमिकामा रहने नेताहरूले दाबी गरेका छन् ।