लागुऔषध सहित एक व्यक्ति नियन्त्रणमा

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

बारा प्रहरीले बिहीबार दिउँसो लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। विश्रामपुर गाउँपालिका–१ खेखरिया नजिक नेपाल–भारत सीमाक्षेत्र हुँदै नेपाल प्रवेश गर्दै गरेको बिआर ०५ एएन ३५३२ नम्बरको मोटरसाइकल शंकास्पद देखिएपछि प्रहरीले रोकेर चेकजाँच गरेको थियो। सीमावर्ती क्षेत्रमा भारतीय नम्बरका सवारी साधनहरू बारम्बार लागुऔषध तथा अवैध सामान ओसारपसारमा हुने भएको हुदाँ प्रहरीले कुनै पनि शंका देखिने सवारीमा विशेष निगरानी राख्दै आएको छ।

जाँचका क्रममा मोटरसाइकलको पछाडिको भागमा दुध बोक्ने जडान गरिएको फलामको साँच्चो प्रहरीलाई अनौठो लाग्यो। सोही साँच्चो मुनि जुटको बोरा प्रयोग गरी अत्यन्तै कौशलतापूर्वक लुकाइ छिपाइ राखिएका १९ वटा प्याकेट फेला परे। पहिलो नजरमै प्याकेटहरूको संरचना शंकास्पद देखिएपछि प्रहरी टोलीले तत्कालै खोल्दै परीक्षण गरेको थियो। परीक्षणपछि ती प्याकेटहरूमा सेतो प्लास्टिकमा प्याक गरिएका २१ ग्राम ६५० मिलिग्राम कोकिन भएको पुष्टि भएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।

कोकिनजस्तो लागुऔषध सीमावर्ती क्षेत्रमा साना साना मात्रामा विभिन्न तरिकाले भित्र्याइने गरिएको प्रहरीको भनाइ छ। पछिल्लो समय मोटरसाइकल, साइकल तथा पैदलमार्ग प्रयोग गरी लागुऔषध तस्करीको जोखिम बढ्दै गइरहेको जनाइएको छ। पक्राउ परेका व्यक्तिले पनि अत्यन्तै सामान्य वस्तुको आवरण प्रयोग गरी नियन्त्रण प्रक्रियाबाट बच्ने प्रयास गरेको देखिन्छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति भारतको पूर्वी चम्पारण, बिहार नायकटोलका ३५ वर्षिय लालबाबु साह हुन। मोटरसाइकल तथा बरामद लागुऔषधसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार साहसँग अन्य कोही संलग्न छन कि छैनन् भन्नेबारे अनुसन्धान विस्तार गरिएको छ। लागुऔषधको स्रोत, आपूर्तिकर्ता र नेपालमा कसलाई र्पुयाउने योजना थियो भन्नेबारे समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सीमावर्ती क्षेत्रमा यस किसिमका गतिविधि बढ्दै गएकाले प्रहरीले तालिमप्राप्त टोली परिचालन, नियमित गस्ती तथा सूचनाको आधारमा निगरानी थप कडा पारेको जनाएको छ। प्रहरीले लागुऔषध तस्करीमा संलग्न जो कोहीमाथि कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।

See More On

सुझावित समाचार