नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौँ रकम मुलुकका ठुला पूर्वाधारदेखि उत्पादनमूलक क्षेत्रहरूमा परिचालन गर्नुपर्ने बताएका छन् ।
सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले अहिले कोषमा ९५ अर्बभन्दा बढी रकम जम्मा भएको र त्यो रकम सही रूपमा सदुपयोग नभएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
उनका अनुसार लगानी गर्नका लागि कार्यविधि बाधक भए त्यसलाई सच्याउनुपर्छ । कोषले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेसम्म त्यसको अर्थ नरहने ढकालको भनाइ छ।
ढकालले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरू अझै पनि धेरै सामाजिक सुरक्षाको दायरामा रहेको भन्दै तिनलाई तत्काल समेट्न आग्रह गरे । उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए ।
ढकालका अनुसार साना तथा मझौला उद्योगहरूलाई सरकारको तर्फबाट सहुलियत दिएर त्यहाँ काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ ।