दोस्रो स्थानमा बंगलादेशको राजधानी ढाका छ, जहाँ तीन करोड ६६ लाख मानिस बस्छन्
संयुक्त राष्ट्र संघको एक नयाँ रिपोर्टले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा धेरै मानिस बसोवास गर्ने सहर भएको पाएको छ । रिपोर्टमा जाकार्तामा चार करोड १९ लाख मानिस बसोवास गर्ने उल्लेख छ । विश्वको सबैभन्दा घना सहर जाकार्ताको आफ्नै समस्या छ । बढ्दो उष्णताका कारण हिउँ पग्लिने क्रम बढेर समुद्री सतह बढ्दै जाँदा सन् २०५० सम्ममा यो सहरको एक चौथाइ भाग पानीमुनि हुन सक्ने प्रक्षेपण छ ।
संयुक्त राष्ट्र संघको अनुमानअनुसार सो वर्षमा सहरको जनसंख्या घटेर एक करोड हुनेछ । समस्या यति गम्भीर छ कि इन्डोनेसियाको सरकारले बोर्नियो टापुको अवस्थित पूर्वी कालिमन्तान प्रान्तमा नुसनतारामा राजधानी सहर निर्माण गरिरहेको छ ।
जाकार्तापछि दोस्रो स्थानमा बंगलादेशको राजधानी ढाका छ, जहाँ तीन करोड ६६ लाख मानिस बसोवास गर्ने रिपोर्टले बताएको छ । अहिलेकै दरमा जनसंख्या बढे सन् २०५० सम्ममा ढाका विश्वको सबैभन्दा ठुलो सहर बन्ने राष्ट्र संघको अनुमान छ ।
ढाकापछि टोकियो तेस्रो स्थानमा देखिएको छ । संयुक्त राष्ट्र संघले सन् २००० मा पहिलोपटक टोकियोलाई विश्वको सबैभन्दा धेरै मानिस बसोवास गर्ने सहर घोषित गरेको थियो । त्यसयता निरन्तर टोकियो शीर्ष स्थानमा रहेको थियो । तर, अहिले २५ वर्षपछि सहर तेस्रो स्थानमा धकेलिएको छ । केही वर्षदेखि तुलनात्मक रूपमा स्थिर जनसंख्या रहेको टोकियोमा हाल तीन करोड ३४ लाख मानिस बासवास गर्छन् ।
संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक मामिला विभागले प्रकाशित गरेको ‘विश्व सहरीकरण प्रक्षेपण–२०२५ प्रतिवेदन’ले यी तथ्यांक उजागर गरेको हो । प्रतिवेदनले हाल विश्वमा एक करोडभन्दा बढी मानिसको बसोवास भएको सहरी क्षेत्र (मेगासिटी)को संख्या ३३ पुगेको देखाएको छ, जुन सन् १९७५ मा आठ मात्र थियो । विश्वका ३३ मेगासिटीमध्ये १९ वटा एसियामा छन् । त्यस्तै, शीर्ष १० का एकबाहेक सबै नौ मेगासिटी पनि यही महादेशमा रहेको प्रतिवेदनले बताएको छ ।
जकार्ता, ढाका र टोकियोबाहेक शीर्ष १० मा रहेका अन्य एसियाली सहरमा भारतको राजधानी नयाँदिल्ली (तीन करोड ०.२ लाख जनसंख्या), चीनको आर्थिक केन्द्र सांघाई (दुई करोड ९६ लाख जनसंख्या), चीनकै ग्वाङ्झाउ (दुई करोड ७६ लाख), फिलिपिन्सको राजधानी मनिला (दुई करोड ४७ लाख), भारतको कोलकाता (दुई करोड २५ लाख) र दक्षिण कोरियाको राजधानी सियोल (दुई करोड २५ लाख) रहेका छन् ।
संयुक्त राष्ट्र संघका अनुसार चौथो स्थानमा रहेको इजिप्टको राजधानी कायरो तीन करोड २० लाखभन्दा बढी जनसंख्याका साथ शीर्ष १० मा रहेको एक मात्र एसियाबाहिरको सहर हो । उता, ब्राजिलको आर्थिक केन्द्र साओ पाउलो एक करोड ८९ लाख जनसंख्यासहित उत्तर तथा दक्षिण अमेरिकी महादेशमध्येको सबैभन्दा बढी जनसंख्या भएको ठुलो सहर भएको प्रतिवेदनमा उल्लेख छ । उता नाइजेरियाको राजधानी लागोसको जनसंख्या पनि द्रुत गतिमा बढ्दै जाँदा यो उप–सहारा अफ्रिका क्षेत्रको सबैभन्दा ठुलो सहर बनेको छ ।
नयाँ प्रतिवेदनका लागि संयुक्त राष्ट्र संघले सहरीकरणको नयाँ मापन अवलम्बन गरेको बताएको छ । विशेषत: देशअनुसार सहरीकरणको परिभाषा अलग–अलग भएको कुरालाई ख्याल गर्दै संयुक्त राष्ट्र संघले एकरूपता ल्याउन यो कदम आवश्यक भएको तर्क गरेको छ । जस्तो, संघको नयाँ मापनले दुई सहरको बसोवास क्षेत्र फैलिँदै गएर एक–अर्कामा जोडिएको अवस्थामा तिनलाई फरक नमानी एउटै सहर मानेको छ । त्यस्तै, नयाँ संघले सहरलाई प्रतिवर्गकिलोमिटर कम्तीमा एक हजार ५०० बासिन्दाको घनत्व भएको र कम्तीमा ५० हजारभन्दा बढी जनसंख्या भएको क्षेत्रका रूपमा परिभाषित गरेको छ ।