स्थानीय सरकारहरूसँगको प्रभावकारी समन्वय नहुँदा कृषि अनुसन्धान केन्द्र पाख्रीबासको भण्डारमा विभिन्न प्रजातिका खाद्यबालीको गुणस्तरीय बिउ थन्किएको छ । अनुसन्धान केन्द्रले विभिन्न प्रजातिका खाद्यबालीहरूको बिउ उत्पादन गर्दै आएको भए पनि बिक्री गर्न सकेको छैन । तर पनि केन्द्रले बिउ उत्पादनलाई भने निरन्तरता दिँदै आएको छ ।
यस वर्ष करिब चार टन गुणस्तरीय गहुँको बिउ उत्पादन गरेको भए पनि अहिलेसम्म आधा मात्र बिक्री भएको केन्द्रले जनाएको छ । साग, मुला, मुसुरोलगायतका अन्य बालीको पनि गुणस्तरीय बिउ भण्डारणमा नै थन्किएको छ । अनुसन्धान केन्द्रले धेरै गुणस्तरीय बिउ उत्पादन गर्दै आएको भए पनि बिक्री हुने अवस्था नरहेको कृषि अनुसन्धान केन्द्र पाख्रीबासका कृषि प्राविधिक सविन विश्वकर्माले बताए ।
कृषि अनुसन्धान केन्द्र पाख्रीबासको कार्यक्षेत्रअन्तर्गत १० वटा जिल्ला पर्छन् । ती जिल्लाका हरेक स्थानीय तह र कृषि ज्ञान केन्द्रहरूलाई पत्राचार गरी बिउ खरिदका लागि जानकारी गराएको पनि स्थानीय तहहरूले चासो नदेखाएको कृषि अनुसन्धान केन्द्र पाख्रीबासका कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक प्रेमिल केसीले बताए ।