चुनावमा भाग लिन १ सय ६ दलको निवेदन, चार दिन थपियो समय

२१ नयाँ दल, अझै दर्ता प्रक्रियामै १८ दल

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनमा भाग लिन निर्धारित समय (१–१० मंसिर) भित्र १०६ दलले निवेदन दिएका छन् । अझै केही दल बाहिर रहेपछि निर्वाचन आयोगले बुधबार चार दिन समय थपेको छ । अब चुनावमा भाग लिन दलहरूले १४ मंसिरसम्म निवेदन दिन पाउनेछन् । 

आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका अनुसार बुधबार २६ दलले निर्वाचनमा भाग लिन दल दर्ताको निवेदन दिएका छन् । प्राप्त निवेदनहरूमा १८ मंसिरसम्म छानबिन गर्ने र २० गते दर्ता स्वीकृत गरेर निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने आयोगको कार्यक्रम छ ।

निर्वाचन आयोगले चुनाव प्रयोजनका लागि दल दर्ता गर्ने समय चार दिन थपेको छ । आयोगका पदाधिकारीका अनुसार चुनावमा भाग लिन गठन भएका केही नयाँ दल अझै दर्ताकै प्रक्रियामा रहेकाले उनीहरूलाई सहभागी गराउन समय थपिएको हो । 

‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दललगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगको मंसिर १० गतेको बैठकबाट दल दर्ता गर्ने अवधि मंसिर १४ गतेसम्म थप गरिएको छ,’ प्रवक्ता नारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबिच, निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३७ पुगेको छ । बुधबार सविन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वाेदय पार्टी, सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएका छन् । यससँगै जेन–जी आन्दोलनपछि मात्रै दर्ता हुने नयाँ दलको संख्या २१ पुगेको छ । महाशाखाका अनुसार अझै १८ नयाँ दल दर्ताको प्रक्रियामा छन् । 

See More On

सुझावित समाचार