एक एआइजी र दुई डिआइजी दर्ज्यानी चिह्नद्वारा सुशोभन

बुधबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका तीनजना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन्।  

मन्त्रिपरिषद्को  सोमबारको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा एकजना, नेपाल सरकार गृहमन्त्रीस्तरको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा एकजना र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा एकजना गरी जम्मा तीनजना प्रहरी अधिकृतहरू पदोन्नति भएका अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन्। 

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा प्रहरी नायब महानिरीक्षक विश्व अधिकारी र प्राविधिक प्रहरी नायब महानिरीक्षक ई. रामकुमार चौधरी छन् । 

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले ज्येष्ठता, कार्यकुशलता, विधि एवं पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गरे।  

प्रहरी महानिरीक्षक कार्कीले मुलुक संवेदनशील अवस्थामा रहेकाले यस्तो अवस्थामा प्रहरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको चर्चा गर्दै निस्वार्थ सेवाभाव, शिष्ट व्यवहार, उत्कृष्ट आचरणलाई आत्मसात् गरी नागरिकको अपेक्षाअनुरूप प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने  बताए। प्रहरीप्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न व्यावसायिक कार्यसम्पादनमा जोड दिई सेवा प्रवाहलाई थप चुस्त बनाउनसमेत उनले निर्देशन दिएका छन्। 
 

सुझावित समाचार