हसिनामाथिको सजायले दिल्ली–ढाका सम्बन्धमा ल्याएको दरार

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण
  • बंगलादेशको आन्तरिक अशान्ति भारतका लागि हानिकारक भएकाले नयाँदिल्ली बंगलादेशको राजनीतिक प्रणालीको आन्तरिक गतिशीलतामा हस्तक्षेप गर्न चाहँदैन 

बंगलादेशको विशेष अदालत इन्टरनेसनल क्राइम ट्रिब्युनल–आइसिटीले अपदस्थ प्रधानमन्त्री सेख हसिनालाई केही दिनअघि मानवताविरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय सुनाएको थियो, जसमा गत वर्षको जुनमा सुरु भएको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा विनाशकारी बल प्रयोग गर्नु पनि समावेश छ । राजीनामा दिएर भारत भागेकी हसिनाले आफूमाथि लाग्दै आएका आरोप अस्वीकार गरेकी छिन् र अभियोजन राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेकी छिन् । यद्यपि, बंगलादेशको अदालतले हसिनालाई दिएको मृत्युदण्डको सजायबाट भारत भने स्तब्ध भएको छैन । पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई पनि उनको अनुपस्थितिमा मुद्दा चलाएर मृत्युदण्डको सजाय सुनाइएको थियो भने पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल–मामुनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । 

संयुक्त राष्ट्र संघ र अन्य संस्थाले उनीहरूको न्यायिक अभियोजन प्रक्रियाबारे चिन्ता व्यक्त गरे पनि बंगलादेशका अधिकारी हसिनालाई मृत्युदण्ड दिने निर्णयबाट पछाडि नहट्ने देखिन्छ । भारतले अपदस्थ प्रधानमन्त्री हसिनालाई बंगलादेश फिर्ता गर्ने सम्भावना कम छ । ढाका आफैँले सुपर्दगी अनुरोधलाई त्यति धेरै कडाइ गरेको छैन । किनकि, ७८ वर्षीया अपदस्थ नेतृलाई स्वदेश फिर्ता ल्याउँदा देशमा आन्तरिक तनाव बढ्ने निश्चित छ । यस मुद्दाले विशेषगरी फेब्रुअरीमा हुने भनिएको आमनिर्वाचनअघि अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसलाई व्यवस्थापन गर्न पनि हम्मे पर्नेछ । निर्वाचनको पूर्वसन्ध्यामा सुनाइएको सजायले बंगलादेशमा तनाव चर्किनेमा दुई मत छैन ।

यसबाहेक यदि हसिनाविरुद्ध लगाइएका आरोप राजनीतिक रूपमा प्रेरित वा खराब नियतले लगाइएका देखिन्छन् भने भारतले बंगलादेशको सुपुर्दगी अनुरोध अस्वीकार गर्न सक्छ । तनावपूर्ण सम्बन्धबिच बंगलादेशका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) तथा युनुसका नजिकका सहयोगी खलिलुर रहमान क्षेत्रीय सुरक्षा सम्मेलनमा भाग लिन अहिले नयाँदिल्लीको भ्रमणमा छन् । उनको भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग व्यक्तिगत कुराकानी सम्भव छ । हाल, मुख्य चिन्ता भारतको रणनीति र भारत–बंगलादेशबिचको सम्बन्धको भविष्य हो ।

बंगलादेशको आन्तरिक अशान्ति भारतका लागि हानिकारक छ । नयाँदिल्ली बंगलादेशको राजनीतिक प्रणालीको आन्तरिक गतिशीलतामाथि हस्तक्षेप गर्न चाहँदैन । हसिनाको अबामी लिगलाई अब बंगलादेशमा आगामी चुनावमा भाग लिन गाह्रो हुनेछ । बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र अबामी लिगलाई मिलाउने निरन्तर प्रयास पनि गरिएको छ, तर अब यो असम्भव छ । बिएनपी पार्टी विशेषगरी अध्यक्ष खालेदा जियाका छोरा तारिक रहमान अबामी लिगसँग गठबन्धन गर्न रुचि राख्दैनन् ।

अबामी लिगले अझै पनि बंगलादेशभर सत्ताविरोधी भावना बोकेको उनीहरू विश्वास गर्छन् । हुन पनि अबामी लिगबारे केही मानिसमा घृणाको भाव छ । बिएनपी एक्लै चुनाव लडेमा बढी सिट जित्ने अपेक्षा गर्छ । तसर्थ, आगामी निर्वाचनमा बिएनपी सबैभन्दा ठुलो दल बन्ने सम्भावना छ । बंगलादेश जमात–ए–इस्लामीको भूमिका महत्वपूर्ण रहन्छ । यसले आफ्नो संगठनभित्र हिन्दू शाखा खोलेको छ । घोषणा भएदेखि हसिनाको पदच्युतको समयमा देखिएकाजस्तो हिन्दु संगठनविरुद्ध कुनै अपराध वा हिंसात्मक कार्य भएका छैनन् । भारतले कडा आपत्ति जनाएपछि युनुसको अन्तरिम सरकारले इस्लामिक कट्टरपन्थी धर्मगुरु जाकिर नाइकलाई बंगलादेश प्रवेशमा प्रतिबन्ध लगाएको थियो । सुरक्षा र रसदसम्बन्धी चिन्ता उद्धृत गर्दै नोभेम्बर २०२५ मा निर्णय गरिएको थियो । एक तरिकाले यस निर्णयमार्फत अन्तरिम सरकारले भारतसँग सहकार्य गर्ने प्रयास गर्यो ।

सन् १९७१ को ऐतिहासिक परिवर्तनपछि भारतले हसिना र अबामी लिगप्रति विशेष सहानुभूति प्रकट गर्दै आएको छ । तसर्थ, उसले हसिना परिवारलाई नि:सन्देह सुरक्षा प्रदान गर्ने प्रयास गर्नेछ । तैपनि, बंगलादेशको वर्तमान अवस्थालाई ध्यानमा राख्दै यसले कुनै प्रतिबद्धता जनाउँदैन । यसैबिच समस्यालाई थप जटिल बनाउँदै पूर्वगृहमन्त्री असदुज्जमान खान कमलले बंगाली मिडियालाई अन्तर्वार्ता दिइरहेका छन् । बंगलादेश असन्तुष्ट छ, तर भारतले यी अन्तर्वार्तालाई प्रायोजन गरिरहेको छैन, न त प्रतिबन्ध नै लगाइरहेको छ । घटनामा संलग्न व्यक्तिहरू राजनीतिक आश्रयमा रहँदा अभिव्यक्ति स्वतन्त्रताको आनन्द लिइरहेको चर्चा हुन थालेको छ । यद्यपि, नयाँदिल्लीले बाँकी रहेका मुद्दालाई सम्बोधन गरी समाधान गर्न ढाकासँग थप वार्ता खोजिरहेको छ ।

(घोषल भारतीय पत्रकार तथा एनडिटिभीका स्तम्भकार हुन्)
एनडिटिभीबाट

सुझावित समाचार