अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेन युद्ध अन्त्य गर्नेसम्बन्धी ‘योजना’माथि गहन छलफल चलिरहेका वेला युक्रेन र रुसले एक–अर्कामाथि आक्रमणलाई निरन्तरता दिएका छन् ।
रुसी बमबारीबाट ६ जना मारिएका किभका मेयर भिटाली क्लिट्स्कोले बताए । उता रुसी अधिकारीले पनि युक्रेनले क्रास्नोडार र रोस्तोभमा हवाई आक्रमण गरेको बताएका छन् । तथापि, आफ्ना सेनाले २४९ युक्रेनी ड्रोन खसालेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
रोस्तोभ क्षेत्रका कार्यवाहक गभर्नरले आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको बताएका छन् । यसैबिच एक अमेरिकी अधिकारीले युक्रेन युद्ध अन्त्य गर्नेसम्बन्धी शान्ति योजनाको मस्यौदामा जेनेभामा जारी वार्तापछि रुसी प्रतिनिधिसँग वार्ता हुने बताए । उनका अनुसार वार्ता अबुधाबीमा हुने तय भएको छ ।
ट्रम्पले प्रस्ताव गरेको ‘शान्ति योजना’ रुसप्रति नरम र युक्रेनप्रति कठोर भएको आरोपपछि जेनेभामा युक्रेन–अमेरिकाबिचको बैठकमार्फत परिमार्जन गरिएको छ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अध्यावधिक शान्ति योजनामा आफूहरू लगभग सहमत भएको बताएका छन् ।