- तेस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बन्ने केपी ओलीको योजनालाई विद्याको समर्थनमा पोखरेलको चुनौती, अध्यक्ष छाडेर अभिभावकीय भूमिकामा रहन ओलीलाई आग्रह
पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण रोकेर तेस्रो कार्यकालका लागि सहज नेतृत्व कब्जा गर्ने एमाले अध्यक्ष केपी ओलीको योजनालाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने भएका छन् । भण्डारी पक्षधर नेताहरूको समर्थनमा पोखरेलले पार्टीको आसन्न एघारौँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पोखरेलले ओलीलाई अध्यक्ष छाडेर अभिभावकीय भूमिकामा रहनसमेत आग्रह गरेका छन् ।
२७–२९ मंसिरमा काठमाडौंमा आयोजित महाधिवेशनका लागि देश तथा प्रवासमा प्रतिनिधि छनोटको निर्वाचन प्रक्रिया अघि बढेकै दिन मंगलबार पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षका लागि ओली तेस्रोपटक इच्छुक रहेका वेला नेतृत्व हस्तान्तरणको मागसहित पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सहयोगमा उम्मेदवारी घोषणा गरेका हुन् ।
४ मंसिरमा बसेको केन्द्रीय सचिवालय बैठकलाई पोखरेलले पार्टीको नेतृत्व लिने गरी अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए । त्यसको एक साता नबित्दै मंगलबार प्रेस वक्तव्यसँगै पोखरेलले भिडियो सन्देशसमेत जारी गरेर पार्टीपंक्तिलाई उम्मेदवारी घोषणाको औपचारिक जानकारी गराएका छन् ।
उम्मेदवारी घोषणाका क्रममा उनले वक्तव्यमार्फत स्वाभाविक दाबेदारका रूपमा लामो पृष्ठभूमि केलाएका छन् । ०३२ देखि को–अर्डिनेसन केन्द्रमा आबद्ध पोखरेल पाँच दशकदेखि पार्टीको केन्द्रीय नेतृत्वमा छन् । दुई कार्यकाल महासचिव, एक कार्यकाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका पोखरेल पूर्वराष्ट्रपति भण्डारीको समर्थनपछि शक्तिशाली बनेका छन् ।
भण्डारीकै समर्थनमा उनले पदाधिकारीसहित केन्द्रीय कमिटीमा अलग्गै प्यानल उम्मेदवारी दिने योजनामा छन् । १३ मंसिरमा प्रतिनिधि छनोट सकिएपछि पुन: अध्यक्ष बन्ने योजनामा रहेका केपी ओलीलाई टक्कर दिने गरी बलियो टिम निर्माण गरेर अघि बढ्ने योजनामा भण्डारी समूह छ ।
पोखरेलले आफू सामूहिक नेतृत्व र सहकार्यमा पार्टी चलाउनुपर्छ भन्ने मान्यतमा रहेको प्रस्ट्याएर उनले तिनै विचारका आधारमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । ‘जीवनका उचारचढावमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन दिएको छैन । यो नै मैले आर्जन गरेको नैतिक बल हो । शक्तिमा होइन, विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु,’ उनले भनेका छन्, ‘पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारका रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।’
उम्मेदवारी घोषणासँगसँगै पोखरेलले आफैँले विगतमा अगाडि सारेको मान्यतामा उभिएर नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निभाएर अभिभावक बन्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका छन् । ‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु,’ उनले भनेका छन्, ‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।’
उम्मेदवारी घोषणाका क्रममा उनले स्कुले जीवनदेखि न्याय, समानता र स्वतन्त्रताप्रति समर्पित भएर यहाँसम्म आइपुगेको तथा मधेशको तातो घामदेखि हिमालको चिसो सिरेटोसम्मका भूगोलमा पार्टी निर्माणमा क्रियाशील हुँदै मैले मूल्यवान अनुभव र शिक्षा हासिल गरेको उल्लेख गरेका छन् । ‘सामाजिक रूपान्तरण, व्यवस्था परिवर्तन र पार्टी निर्माणका क्रममा लामो र कठोर भूमिगत जीवन बिताएको छु । जेलनेल भोगेको छु, यातना सहेको छु । संसदीय र राजकीय जिम्मेवारी सम्हालेको अनुभव छ,’ आफूलाई एक अनुभवी नेताका रूपमा राख्दै उनले उम्मेदवारी घोषणाको पुष्टि गर्ने कोसिस गरेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलन र एमालेको निर्माण मेरा लागि जीवनमा कहिल्यै नभुल्ने पाठशाला र विश्वविद्यालयका रूपमा रहेका छन् । लाखांँ जनसमुदाय र हजारांँ पार्टी सदस्यहरूको न्यानो माया र स्नेही व्यवहारप्रति म सदैव ऋणी तथा कृतज्ञ छु । राष्ट्र, जनता र पार्टीलाई सदैव शिरमा राखेको छु ।’
पोखरेलको उम्मेदवारी घोषणालाई संस्थापन पक्षले स्वाभाविक, जबजकै अभ्यास र परम्पराअनुसार रहेको प्रतिक्रिया दिएको छ । ‘उम्मेदवारी उहाँको अधिकारको विषय हो, किनकि एमाले जनताको बहुदलीय जनवादको सिद्धान्त आत्मसात् गर्दै आएको पार्टी हो । उहाँको घोषणालाई स्वाभाविक रूपमा लिएका छौँ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘हामी भरसक सहमतिकै विन्दुको खोजी गर्छौँ, भएन भने प्रतिस्पर्धाबाटै नेतृत्व निर्वाचित गर्ने अभ्यास र परम्परालाई निरन्तरता दिन्छौँ । स्वस्थ आन्तरिक प्रतिस्पर्धालाई पार्टीले स्वाभाविक लिन्छ र आन्तरिक जीवनमा आत्मसात् पनि गर्दै आएको छ ।’
प्रतिनिधि छनोटमा विवेक प्रयोग गर्न अपिल
महाधिवेशनको नेतृत्व छनोटमा ओली र भण्डारी समूहबिच प्रतिस्पर्धा निश्चित बनेकाले प्रतिनिधि छनोटमा देश तथा प्रवास सबैतिर चुनाव हुने प्रारम्भिक आकलन छ । यसैलाई मध्यनजर गर्दै पोखरेलले प्रतिनिधि छनोटमा विवेक प्रयोग गर्न पार्टी कार्यकर्तासँग अपिल गरेका छन् ।
‘पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा यही मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशनका प्रतिनिधि चयन हुँदै छ । माथि उल्लेखित विषयमा गम्भीर हुँदै प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ, मर्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन पार्टी सदस्य कमरेडहरूलाई हार्दिक आह्वान गर्दछु,’ पोखरेलले भनेका छन् ।
एमालेले महाधिवेशनका लागि १३ मंसिरमा प्रतिनिधि छनोटको निर्वाचन गर्ने गरी मंगलबारबाट प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधि छनोटका लागि लगभग सबै जिल्ला, प्रवास क्षेत्र, जनसंगठन, केन्द्रीय विभाग र केन्द्रीय निकायहरूमा बुधबार हजारौँले उम्मेदवारी दर्ता गराउँदै छन् । सबैजसो क्षेत्रमा निर्वाचन ९ देखि १३ मंसिरसम्मको निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको छ ।
एमालेमा ६ लाख ७० हजार संगठित सदस्य छन् । सर्वसम्मत नहुने जिल्लामा पार्टी सदस्यहरूले छनोटका लागि मतदाताका रूपमा भाग लिनेछन् । केन्द्रीय संगठन विभागले निर्वाचनमा सहजीकरण गर्न १७ जना केन्द्रीय नेता खटाएको छ भने सर्वसम्मति नभए मतदान गरेरै प्रतिनिधि छनोट गर्न जिल्लाहरूलाई सर्कुलर पठाइसकेको छ ।
महाधिवेशनमा अलग्गै दस्ताबेज बनाउँदै पोखरेल
उनले २३ भदौको जेन–जी आन्दोलनपछिको परिस्थितिमा आएको फेरबदल र निष्कर्षलाई अपडेट गर्नुपर्ने आवश्यकता औँल्याउँदै एघारौँ महाधिवेशनमा राजनीतिक तथा सांगठनिक विस्तारित दस्ताबेज प्रस्तुत गर्ने पनि अपिलमा प्रस्ट्याएका छन् । ‘हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न आवश्यक छ । महाधिवेशनसमक्ष प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक दृष्टिकोणको विस्तारित दस्ताबेज निकट भविष्यमा सार्वजनिक गर्नेछु । सबैको साथ र सुझावको अपेक्षा गर्दछु,’ उनले भनेका छन् । उनले पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनस्र्थापित गरिनुपर्ने तथा नेतृत्व विकास र हस्तान्तरणको सहज प्रक्रियालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी काममा फर्काउने प्रतिबद्धता
उनले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी काममा फर्काउने प्रतिबद्धता पनि जनाएका छन् । ‘चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएकी पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो,’ पोखरेलले भनेका छन्, ‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढंगले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’