११औँ उद्योग दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशभरका उत्कृष्ट तथा नवप्रवर्तनशील उद्यमीहरूलाई सम्मान गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा प्रदेशका १४ उद्यमीलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा उद्योगमन्त्री विन्दु श्रेष्ठ र प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्मानितहरूलाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ अनुसार प्रदेशका १३ जिल्लाबाट उत्कृष्ट एक–एक उद्यमी र प्रदेशभरबाट सबैभन्दा बढी अंक ल्याएका एक सर्वोत्कृष्ट उद्यमीलाई छनोट गरेको थियो । सोहीअनुसार नुवाकोटमा चिया कृषि फार्म सञ्चालन गर्दै आएका सेल्कर तामाङ प्रदेशकै सर्वोत्कृष्ट उद्यमीका रूपमा सम्मानित भए । तामाङलाई एक लाख रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी, कार्यक्रममा उत्कृष्ट उद्यमीको रूपमा ४०–४० हजार रुपैयाँ र प्रमाणपत्र पाउनेमध्ये काभ्रेको नमुना एग्रो प्रोडक्सकी दीक्षा पौडेल, दोलखाको ग्यालेक्सी मौरी फर्मका पोष्टबहादुर दाहाल, भक्तपुरको चम्पक पाउँ उद्योगकी देवका श्रेष्ठ, काठमाडौँको द हाइल्यान्ड आर्ट फेसन डिजाइन एन्ड ट्रेनिङकी कल्पना लिम्बू, सिन्धुपाल्चोकको जौडाडा ढाका उद्योगका रति थापामगर, रसुवाको राजेश कृषि तथा पशुपन्छी फर्मका राजेश थिङ, ललितपुरको स्पेसल पुष्टकारी उद्योगका बुद्ध महर्जन रहेका छन् ।
यस्तै, नुवाकोटकी कान्छीमाया तामाङ (नमुन्चेत कृषि फर्म), मकवानपुरका ज्योति रायमाझी (ज्योति दामन कृषि फर्म), रामेछापकी संगीता शेर्पा (हिमालयन ह्यान्डिक्राफ्ट एग्रो नेपाली कागज उद्योग), सिन्धुलीका भोजकुमार खड्का र टीकाप्रसाद चौलागाईं (उज्यालो साबुन उद्योग), धादिङकी प्रेमकुमारी बस्याल रोकाय (पवित्रा कृषि तथा पशुपन्छी फर्म) र चितवनकी सुनिता घिमिरे (अर्बान नेस्ट बुटिक एन्ड रेन्टल हाउस) पनि उत्कृष्ट उद्यमीका रूपमा सम्मानित भएका छन् ।
उद्यमी छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विशेष समिति गठन गरी मूल्यांकनका आधार तय गरेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभित्र नवप्रवर्तनशील र सम्भावनायुक्त उद्यम प्रवर्द्धन गर्न प्रविधि हस्तान्तरण, सिप विकास तालिम, व्यवसाय व्यवस्थापन क्षमता अभिवृद्धि तथा परामर्श सेवासमेत उपलब्ध गराइनेछ ।
कार्यक्रममा प्रदेशकी उद्योगमन्त्री विन्दु श्रेष्ठले उद्यमीलाई बलियो बनाउने नीति तथा कार्यक्रमलाई निरन्तर अघि बढाइने प्रतिबद्धता जनाइन् ।