सोमबार ८९ वर्षको उमेरमा मुम्बईमा निधन भएका बलिउड स्टार धर्मेन्द्रको जीवन नाटकीय थियो । आफूलाई प्रायः ‘एक साधारण मानिस’को रूपमा चिनाउन खाेज्ने धर्मेन्द्रले जीवनभर लाखौँ प्रशंसकबाट असाधारण स्नेह पाए । सन् १९७५ को शोलेमा बिरु पात्रका रूपमा परिचित उनले तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरे । अधिकांश हिट भए र दशकौँसम्म दर्शकलाई मोहित पारे । अभिनेत्री हेमा मालिनीसँगको प्रेम र विवाहले उनको चर्चा चुलिइरह्यो ।
हि–म्यान अफ बलिउड र गरम धरम भनेर चिनिने अभिनेता प्रायः आफ्नो जीवनका सफलताका दिनमा ‘सबैभन्दा सुन्दर पुरुष’को सूचीमा पर्थे र महिला प्रशंसकले उनको तस्बिर तकियामुनि राखेर सुत्ने गर्थे । अन्य बलिउड स्टार पनि उनको आकर्षणबाट मोहित थिए । सदाबहार अभिनेत्री माधुरी दीक्षितले उनलाई ‘मैले पर्दामा देखेका सबैभन्दा सुन्दर मानिसहरूमध्ये एक’ भनेर वर्णन गरेकी थिइन् । सुपरस्टार सलमान खानले धर्मेन्द्रलाई ‘सबैभन्दा सुन्दर देखिने मानिस’ भनेका छन् भने अभिनेत्री जया बच्चनले उनलाई ‘ग्रिक भगवान्’ भनिन् । उनको सुन्दर रूपको तारिफ गर्दा आफू ‘लज्जित’ हुने गरेको धर्मेन्द्रले भन्ने गर्थे र त्यसको श्रेय ‘प्रकृति, आमाबाबु र जिन’लाई दिन्थे ।
८ डिसेम्बर १९३५ मा पञ्जाबको लुधियाना जिल्लाको नसराली गाउँमा मध्यमवर्गीय जट्ट–शिख परिवारमा जन्मेका उनको नाम बुबाले धर्मसिंह देओल राखेका थिए । बुबा विद्यालयका शिक्षक थिए । बुबाले उनलाई अध्ययनमा केन्द्रित गर्न चाहन्थे, तर उनको चाँडै नै फिल्मप्रति लगाब बढ्यो । ‘मैले पहिलो फिल्म नौ कक्षामा पढ्दा हेरेको थिएँ, जसबाट म मोहित भएँ । म सोचिरहेको थिएँ, यी सबै सुन्दर मानिस बस्ने यो स्वर्ग कहाँ छ ?’ सन् २०१८ मा बिबिसी हिन्दीसँगको एक अन्तर्वार्तामा उनले भनेका थिए ।
फिल्मप्रति उनको मोहले सुरुमा उनको परिवार दुःखी भएको थियो । ‘तिमी हाम्रो जेठो सन्तान हौ, तिम्रो पारिवारिक जिम्मेवारी छ,’ उनकी आमाले भनेकी थिइन् । तर, जब फिल्मफेयर पत्रिकाको अल इन्डिया ट्यालेन्ट कन्टेस्टमा छनोट भए, तब उनी फिल्मी क्षेत्रसँग जोडिए । प्रतियोगिता जितेपछि उनी बम्बई पुगे ।
सन् १९६० मा ‘दिल भी तेरा, हम भी तेरे’बाट डेब्यु गरेपछि उनले बलिउडमा प्रभुत्व जमाए । एउटै वर्षमा धेरै हिट फिल्म दिए । धर्मेन्द्रले पहिलोपटक सन् १९६३ मा विमल रोयको फिल्म ‘बन्दिनी’बाट प्रसिद्धि कमाए । उनी चाँडै नै रोमान्टिक नायक बने । नूतन, मीना कुमारी, माला सिन्हा र सायरा बानुजस्ता शीर्ष अभिनेत्रीसँग फिल्ममा सफलतापूर्वक जोडी बने । सन् १९६६ मा उनले ‘फूल और पत्थर’मा आफ्नो पहिलो एक्सन भूमिका गरे । तर, १९७१ को हिट फिल्म ‘मेरा गाउँ मेरा देश’ थियो, जसले एक्सन हिरोको रूपमा उनलाई स्थापित बनायो । जोखिम मोलेर धर्मेन्द्र प्रायः साहसी स्टन्ट गर्थे ।
रोमान्स र एक्सनका साथै धर्मेन्द्रले थ्रिलर र कमेडी फिल्ममा पनि अभिनय गरे, जुन हिट भए । समालोचकहरूले १९७५ को हास्यपूर्ण फिल्म ‘चुपके चुपके’मा ‘उनको त्रुटिरहित हास्य कला’का लागि उनको प्रशंसा गरे । धर्मेन्द्रले ७० नायिकाहरूसँग फिल्म खेले । तर, पर्दामा उनको सबैभन्दा सफल जोडी हेमा मालिनीसँग थियो, जो पछि उनकी दोस्रो पत्नी बनिन् । यो जोडीबिच पहिलोपटक सन् १९६५ मा एक फिल्म प्रिमियरमा भेट भएको थियो र हेमा मालिनीले धर्मेन्द्रमा तुरुन्तै छाप छोडिन् ।
१९७० को दशकमा ‘सीता और गीता’, ‘राजा जानी’ र ‘शोले’जस्ता सुपरहिट फिल्ममार्फत उनीहरूको प्रेम सम्बन्ध फस्टायो । धर्मेन्द्र पहिले नै विवाहित थिए । पहिली श्रीमती प्रकाश कौरका तर्फका सन्तान पनि ठुला भइसकेका थिए । मिडियाले हेमा मालिनीको परिवारबाट उनीहरूको विवाहको विरोधबारे लेखेका थिए । अन्ततः १९८० मा उनीहरूले विवाह गरे । केही रिपोर्टले उनीहरूले बहुविवाहलाई अनुमति दिने इस्लाम धर्म अपनाएको बताएका थिए । तर, उक्त दाबीलाई धर्मेन्द्रले पछि अस्वीकार गरे ।
उनी राजनीतिमा पनि होमिएका थिए । उनी २००५ देखि २००९ सम्म एक कार्यकाल राजस्थानको विकानेरबाट भाजपा सांसद थिए । तर, राजनीतिलाई गम्भीरतापूर्वक नलिएको भन्दै उनको आलोचना भएको थियो । फिल्मको छायांकनमा व्यस्तताका कारण उनी संसदमा बिरलै उपस्थित हुन्थे । वर्षौँपछि एक टेलिभिजन कार्यक्रम, ‘आप की अदालत’मा बोल्दै उनले आफू राजनीतिमा अयोग्य भएको स्विकारे । ‘राजनीति भावनात्मक मानिसका लागि होइन, यो मोटो छाला भएकाहरूका लागि हो,’ उनले भने, ‘यी पाँच वर्ष मेरा लागि धेरै कठिन थिए ।’
उनले आफ्नो जीवनको अन्त्यसम्म लगभग काम गरे, आफ्ना छोराहरू सनी र बबी देओलसँगै अभिनय गरे । रियालिटी सोहरूमा सहभागी भए र सामाजिक सञ्जालमार्फत प्रशंसकसँग जोडिए । अलबिदा धर्मेन्द्र !
–बिबिसी अंग्रेजीबाट