रामकलेवापश्चात् आज सम्पन्न हुँदै विवाहपञ्चमी महोत्सव

मंगलबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

रामकलेवापश्चात् आज रामजानकी विवाहपञ्चमी महोत्सव सम्पन्न हुँदै छ  । 

जनकपुरधाममा एक सातादेखि जारी रामजानकी विवाहपञ्चमी महोत्सव आज रामकलेवापश्चात् सम्पन्न हुँदै छ । महोत्सवको महत्त्वपूर्ण र प्रतीक्षित कार्यक्रम भगवान् राम र जानकीको स्वयम्बर तथा वैवाहिक संस्कार मंगलबार धुमधामका साथ सम्पन्न भएको थियो । 

मंगलबार दिउँसो जानकी मन्दिरबाट प्रस्थान गरेको डोला र राम मन्दिरबाट निकालिएको डोला रंगभूमि मैदान, बाह्र बिघामा पुगेर एक–अर्कामा भेटिँदा स्वयम्बर सम्पन्न भएको मानिन्छ । दुवै डोलाको मिलनसँगै वातावरण धार्मिक उत्साह, बाजागाजाको धुन र भक्तजनको जयघोषले गुञ्जिएको थियो । 

राम मन्दिरका महन्थ राम गिरी डोलाको नेतृत्व गर्दै दर्जनौँ सवारीसाधन र बाजागाजासहित बाह्र बिघा पुगेका थिए । त्यसअघि नै जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णव पनि लावालस्कर तथा बाजागाजासहित स्थलमा पुगेका थिए । दुवै डोलाको मिलनपछि आकाशबाट हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरिँदा दृश्य अझै मनमाेहक बनेको थियो । 
स्वयम्बरपश्चात् निकालिएको शोभायात्रा पनि महोत्सवको अर्को आकर्षण बन्यो । शोभायात्रामा जानकी मन्दिरका छोटा महन्थ रोशन दास, भारतको अयोध्याबाट आएका साधुसन्त, जन्ती तथा हजारौँ श्रदालु भक्तजनको उल्लेखनीय सहभागिता थियो । 

राति जानकी मन्दिर परिसरमा रामसीताको वैवाहिक संस्कार भएको छ । विवाहमा राम मन्दिरका महन्थ राम गिरीले राजा दशरथको भूमिका निभाए भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले राजा जनकको भूमिका निर्वाह गरे।

वैवाहिक समारोहका लागि जानकी मन्दिरलाई दुलहीझैँ सजाइएको छ । इलेक्ट्रोनिक बल्बको झिलिमिली, रंगीबिरंगी फूल तथा विवाह मण्डपको आकर्षक सजावटले सम्पूर्ण वातावरण उत्साहजनक बनाइदिएको छ ।  

रामकलेवामा अयोध्यासहित विभिन्न स्थानबाट आएका साधुसन्त र जन्तीलाई जानकी मन्दिरको तर्फबाट भोजन खुवाएर बिदाइ गरिन्छ र महोत्सव विधिवत् रूपमा समापन भएको घोषणा गरिन्छ । 

सुझावित समाचार