नेपालमा विद्युतीय भोटिङको सम्भावना

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण
  • इभी मेसिनको प्रयोगले मतदान प्रक्रियालाई बढी सुरक्षित, निष्पक्ष एवं पारदर्शी तुल्याउन मद्दत गर्छ

जेन–जी आन्दोलनको बलमा गठित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको प्रमुख जिम्मेवारी आगामी २१ फागुनमा निष्पक्ष एवं भयरहित रूपमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराई निर्वाचित नयाँ सरकारलाई सत्ताको साँचो हस्तान्तरण गर्नु एक हो । यसरी पूर्वघोषित सो निर्वाचन गराउन अब करिब साढे तीन महिना बाँकी छ । तयार गरिएको कार्यतालिकाअनुसार हाल जारी दल दर्ता, मतदाता नामावली अद्यावधिक गर्ने कार्यसँगसँगै निर्वाचनसँग सम्बन्धित थुप्रै काम बाँकी नै छन् । तथापि, निर्वाचन आयोग र सरकार सो निर्वाचन सम्पन्न गराउन सर्वदलीय बैठक, सुरक्षा तयारीको खाका कोर्नेदेखि अन्य आवश्यकीय कार्यमा जुटेको बुझिन्छ ।

निर्वाचनको तयारी : युवा पुस्ताको ऐतिहासिक आन्दोलनरूपी आँधीबेहरीका कारण मुलुक गम्भीर मोडमा उभिएको छ । यस्तो विषम परिस्थितिमा निर्वाचन हुन लागेकाले नेपाली मात्र नभई विश्व जगत्ले समेत यसको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको छ । निर्वाचनलाई व्यवस्थित, मर्यादित, विश्वसनीय, चुस्त, निष्पक्ष एवं भयरहित तुल्याउन कानुनत: विभिन्न प्रक्रिया तय गरिएका हुन्छन् । जसअनुसार निर्वाचन मिति घोषणादेखि अन्तिम निर्वाचन परिणाम घोषणा गर्दासम्म आयोगले करिब चार दर्जनजति गतिविधि गर्नुपर्ने हुन्छ । त्यसैले स्थानीय, प्रदेश वा संघकै निर्वाचन किन नहोस्, त्यसका लागि सर्वप्रथम क्यालेन्डरसहितको कार्यतालिका बनाउनुपर्छ । निर्वाचन आयोगबाट यसरी गरिने क्रियाकलापमा निर्वाचन सामग्री खरिद, मतपत्र छपाई, मतपत्रको गन्तव्यसम्म पहुँचका साथै आवश्यक जनशक्ति परिचालनजस्ता गतिविधि महत्वपूर्ण हुन्छन् । जसका लागि ठुलो धनराशी विनियोजित हुनुपर्छ ।

आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले करिब आठ अर्बजति माग गरेकामा सरकारले हाललाई पाँच अर्ब स्वीकृत गरेको छ । जेन–जी आन्दोलनको मौका छोपेका गलत तत्वले २४ भदौमा मच्चाएको वितण्डा, विध्वंस एवं विनाशक कार्यका कारण वर्षौं लगाएर अर्बौं खर्चेर निर्माण गरिएका सरकारी संरचना ध्वस्त भएका छन् । जसमध्ये केही संरचनाको नयाँ, केहीको पुनर्निर्माण गर्नुपर्ने अवस्था छ । जसका लागि खर्बौं रकम जोहो गर्नुपर्ने बाध्यता छ । अत: सो संवेदनशील पाटोलाई केन्द्रमा राखेर आसन्न निर्वाचन पनि कसरी मितव्ययी तथा छिटोछरितो तुल्याउन सकिन्छ भन्नेतर्फ आयोग, सरकारलगायत सरोकावालासमेत सबै गम्भीर हुनु वाञ्छनीय छ ।

इभी मेसिनको प्रयोग : निर्वाचन चुस्त र मितव्ययी तुल्याउने उपायमा विद्युतीय भोटिङ मेसिन (इभिएम) को प्रयोग एक उत्तम विकल्प हो । यो नेपाल र नेपालीका निम्ति नौलो विषय पनि होइन । यसअघि केही निर्वाचन क्षेत्रमा संसदीय एवं संविधानसभा चुनाव एवं उपचुनावमा यस्तो उपकरणको प्रयोग वा अभ्यास भइसकेको छ । ०६४, ०६५ र ०७१ मा केही जिल्लामा भएका निर्वाचन एवं उपनिर्वाचनमा सम्बन्धित मतदाताले यस्तो उपकरणको सफल प्रयोग या अभ्यास गरिसकेका छन् । नेपालमा पहिलोपटक सो उपकरणको प्रयोग काठमाडौं क्षेत्र नं. १ मा २०६४ चैत २८ मा संविधानसभाको पहिलो निर्वाचनमा गरिएको थियो । यसैगरी, ०६५ मा पाँच जिल्लाका ६ निर्वाचन क्षेत्र (मोरङ ५ र ७, धनुषा ५, कास्की १, रोल्पा २ र कञ्चनपुर ४) मतदानमा सो उपकरण प्रयोग गरिएको थियो भने ०७१ मा पाँच जिल्ला (बर्दिया, बाग्लुङ, काठमाडौं, कैलाली र चितवनका केही निर्वाचन क्षेत्र) मा सम्पन्न दोस्रो संविधानसभा उपनिर्वाचनमा विद्युतीय उपकरणको सफलतापूर्वक प्रयोग भएको थियो । संयोग नै मान्नुपर्ला, जुन बखत यो पंक्तिकार चितवन जिल्ला अदालतमा कार्यरत थियो, त्यसैबखत मुख्य निर्वाचन अधिकृतको हैसियतमा चितवन–३ मा भएको उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोगको अवसर जुरेको थियो । यस्तो मेसिनबाट मतदान गराउँदा मतदान, मतगणनाजस्ता कार्य कम झन्झटिलो, छिटोछरितो, कम खर्चिलो देखिएको थियो ।

विद्युतीय भोटिङ मेसिनको महत्व : ‘इभी मेसिन’ एउटा यस्तो उपकरण हो, जसलाई निर्वाचन प्रक्रियामा मतपत्रको सट्टा प्रयोग गरिन्छ । यसले मतदातालाई सीधै बटन दबाएर आफूले चाहेका दल र तिनका उम्मेदवारको संकेतमा मतदान गर्ने सुविधा प्रदान गर्छ भने मतगणनाको प्रक्रिया छिटो–छरितो, चुस्त, सहज एवं त्रुटिरहित तुल्याउनसमेत उत्तिकै मद्दत गर्छ । आधुनिक युगमा संसारभर मतदान प्रक्रियामा यस्तो प्रविधिको प्रयोग निरन्तर बढ्दो छ ।

निर्वाचनका सन्दर्भमा भारतकै उदाहरण लिऊँ, जहाँ दशकौँदेखि हरेकपटकको निर्वाचनमा इभी मेसिनकै प्रयोगबाट गरिँदै आएको छ । जहाँ नेपालमा भन्दा कैयौँ गुणा धेरै मतदाता निरक्षर वा कम साक्षर छन् र ग्रामीण भेगमा बसोवास गर्छन् । नेपालमा पछिल्लो दशकदेखि चाहे साक्षर होऊन् वा निरक्षर, कुल जनसंख्याको केही हिस्सा टाढा रहेका आफन्तसँग मोबाइलबाट भिडियोमा दोहोरो कुराकानी गर्ने, टिभी खोल्ने, बन्द गर्ने, युटुब हेर्ने, रिमोट कन्ट्रोल चलाउने, इन्डक्सन चुलो प्रयोग गर्नेजस्ता काममा अभ्यस्त भइरहेको अवस्था पनि छ ।

यथार्थमा इभी मेसिन प्रयोगको तुलनामा मतपत्र, मतपेटिकाको प्रयोग गर्दा झन्झटिलो नभई राज्यलाई ठुलो व्ययभार पर्छ नै । विगतका निर्वाचनमा यस पाटोतर्फ राज्यबाट किन अनदेखा गरिएको होला ? हाम्रो यो कस्तो मानसिकता हो ? वास्तवमा मतपत्र र सोको प्रक्रियासँग जोडिने दर्जनौँ क्रियाकलाप निकै झन्झटिला छन् । मतपत्रको छपाइ, छपाइको मसी, मतपत्रको रुजु, त्यसपछि गन्तव्यअनुसारको प्याकिङ, मतपेटिका र मतपत्रको ढुवानी, सुरक्षाको व्यवस्थापन, मतदान, मतगणनालगायत कार्यका लागि आवश्यक जनशक्तिजस्ता निर्वाचनका लागि अत्यावश्यक दर्जनौँ लजिस्टिक सामान, सिसिटिभी, मसलन्द, मतगणनास्थलको बारबेरजस्ता कार्यका लागि ठुलो धनराशी आवश्यक पर्छ । एकातिर ठुलो धनराशी खर्च गर्नैपर्ने बाध्यता र अर्कातिर मतगणना गर्न हप्तौँसम्म खट्नुपर्ने विवशताले गर्दा विगतका अनुभवबाट पाठ सिक्दै मतपत्र एवं यसको प्रक्रियासँग जोडिएर आउने खर्चिलो एवं झन्झटिलो परम्परागत प्रक्रियाको विकल्पमा मतदानमा इभी मेसिनको प्रयोग हाम्रो जस्तो विकासोन्मुख देशको परिप्रेक्ष्यमा सुलभ, व्यावहारिक एवं प्रभावकारी विकल्प हुन सक्छ ।

इभी मेसिनका विशेषता : यथार्थमा निर्वाचनको निष्पक्षताका दृष्टिले पनि इभी मेसिनको प्रयोग विश्वसनीय आधार बन्न सक्छ । निर्वाचनमा स्वच्छता, पवित्रता, निष्पक्षता, पारदर्शिता तथा विश्वसनीयता प्रत्याभूत गर्न र नतिजामा शुद्धता ल्याउन आसन्न निर्वाचनमा इभी मेसिन उपयोगीसिद्ध हुन सक्नेमा विवाद छैन । यथार्थमा सुरक्षाका दृष्टिले समेत आधुनिक इभी मेसिनमा डाटा ‘इनक्रिप्सन’ एवं अन्य आवश्यकीय सुरक्षा उपाय ‘लगिङ’ र ‘रेकर्डिङ’ भइरहेको हुन्छ, जसले गर्दा पछि विवाद उठेमा जाँच गर्नसमेत सहज तुल्याउँछ । यस्तो इभी मेसिनको प्रयोगले मतदान प्रक्रियालाई बढी सुरक्षित, निष्पक्ष एवं पारदर्शी तुल्याउन मद्दत गर्छ । सो मेसिनमा उच्च प्रविधि प्रयोग हुने भएकाले कागजी मतपत्रका तुलनामा यो उपकरण प्रयोगबाट परम्परागत धाँधली कम हुन्छ । मत एवं मतदाताको पहिचान गोप्य राख्न सकिन्छ । विश्वका केही देश, जस्तै– भारत, ब्राजिल, फिलिपिन्स, अमेरिका, बेल्जियम, दक्षिण कोरिया, अर्जेन्टिना, क्यानडालगायत मुलुकमा इभी मेसिनको प्रयोग निरन्तर भइरहेको पाइन्छ ।

हाम्रो देशमा पछिल्ला वर्षमा भोटिङ मेसिन प्रयोगको उपयोगिता महसुस नै नभएको होइन । केही दलका पछिल्ला अधिवेशनमा पदाधिकारी निर्वाचनमा इभी मेसिनको प्रयोग गरिसकिएको छ । विगतका हाम्रा अभ्यासबाट प्राप्त अनुभवमा खर्चका हिसाबले मितव्ययी हुनुका साथै वातावरण संरक्षणको सन्दर्भमा समेत निर्वाचनमा यो प्रविधिको प्रयोग एक महत्वपूर्ण उपाय सावित हुन सक्छ ।

इभी मेसिनको परीक्षण, जनमतको सर्वेक्षण : विगतका निर्वाचनमा आयोगले इभी मेसिन प्रयोग गर्ने इच्छा जाहेर गरेको, मतदानमा इभी मेसिन प्रयोग गर्न उपयुक्त हुने व्यहोरा आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा मात्रै नभई विज्ञसहितको कार्यदलले दिएको सुझावमा समेत समेटिएको समाचार उसैबखत आएको थियो । सरकार र आयोग स्वयंले चाहेमा इभी मेसिनको विश्वसनीयता अर्थात् स्पेसिफिकेसन, प्रमाणीकरण एवं गुणस्तर आदि परीक्षणका लागि इलेक्ट्रिसियन, कम्प्युटर इन्जिनियर वा विज्ञ, प्राविधिक कर्मचारी र स्वतन्त्र विज्ञसहितको टोली तत्कालै गठन गरी रायसुझाव लिएर आवश्यक पहलकदमी गर्न सकिन्छ । स्मरण रहोस्, यसै सन्दर्भमा केही वर्षपहिले (०७७ मा) नीति अनुसन्सन्धान प्रतिष्ठानले २१० जना मतदाताबिच सर्वेक्षण पनि गरेको थियो । जसअनुसार ९० प्रतिशत मतदाताले इभी मेसिनबाट मतदान गर्न सहज एवं उपयुक्त हुने धारणा राखेका थिए । साथै सो मेसिनप्रति तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ भनी सोधिएको एक प्रश्नमा ८० प्रतिशतले पूर्ण विश्वस्त रहेको भन्दै मतदान छिटोछरितो हुने र धाँधलीको आरोप कमै रूपमा लाग्न सक्ने बताएका थिए । (मकर श्रेष्ठ, कान्तिपुर २०७९/०५/१७) 

पर्याप्त कानुनी आधार : यस्तै इभी मेसिन प्रयोग गर्ने सम्बन्धमा निर्वाचन आयोग ऐन २०७३ को दफा ३४ मा भएको व्यवस्था अध्ययन गर्दा ‘आयोगले निर्वाचन व्यवस्थापनका लागि नवीन प्रविधिको प्रयोग गर्ने व्यवस्था मिलाउनेछ’ भनी उल्लेख भएको पाइन्छ । ऐनमा उल्लिखित सो प्रावधानको कार्यान्वयन सहज रूपमा गर्न सकियोस् भनेर आयोग स्वयंले जारी गरेको निर्वाचन विवाद (सुनुवाइ र निरुपण) कार्यविधि, २०७६ को दफा (२)को खण्ड (थ) र (न) मा क्रमश: मतपत्र एवं मतपेटिकाको स्पष्ट तौरमा परिभाषा गरेको पाइन्छ । जसअनुसार ‘मतपत्र भन्नाले निर्वाचनमा मतदान गर्न व्यवस्था गरिएको मतपत्र सम्झिनुपर्छ, साथै सो शब्दले विद्युतीय उपकरणबाट मतदान हुने व्यवस्था ...’ भनी उल्लेख गरेको पाइन्छ । यसैगरी, ‘मतपेटिका भन्नाले मतपत्र राख्नका लागि आयोगले व्यवस्था गरेको मतपेटिकाका अलावा सो शब्दले विद्युतीय उपकरणबाट मतदान गरेको मतसंकेतलाई अभिलेख तथा भण्डारण गर्ने विद्युतीय उपकरणसमेतलाई जनाउनेछ’ भनी स्पष्ट रूपमा उल्लेख गरेर इभी मेसिन प्रयोगका लागि कानुनी रूपमा मार्ग प्रशस्त गरिएको अथवा इभी मेसिन प्रयोग गर्न कानुनी आधार पर्याप्त रहेको प्रस्ट हुन्छ । 

हुन त मतदान प्रयोजनका लागि सो उपकरण प्रयोगका सवालमा केही चुनौती पनि नभएको होइन । भोटिङ मेसिनको क्षमताभन्दा बढी उम्मेदवार खडा भइदिए के गर्ने ? अत: मेसिनले थेग्न नसक्ने गरी उम्मेदवार बढी भएका हकमा मतपत्र नै प्रयोग गर्ने वा अन्य विकल्पबारे भारतको निर्वाचन आयोग, नेपालकै नास्ट (नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान) सँग अहिल्यैदेखि समन्वय गर्न वा राय परामर्श लिन सकिन्छ । यस्तै निर्वाचनमा यो मेसिन प्रयोगबारे प्रचारप्रसार, तालिमजस्ता महत्वपूर्ण पाटोका साथै उच्चस्तरीय राजनीतिक सहमति लिनु पनि उत्तिकै आवश्यक छ । 

सरकार र सरकारी निकायले सुशासनका दृष्टिले कम खर्चमा के गर्दा सेवा प्रवाह चुस्त, पारदर्शी एवं छिटोछरितो हुन सक्छ भन्नेतर्फ विकल्पको खोजी गर्नु वाञ्छनीय देखिन्छ । अत: ‘न सुस्ती न सास्ती’ भनिएझैँ आसन्न निर्वाचनमा मतदान प्रक्रिया चुस्त, छिटोछरितो, निष्पक्ष, स्वच्छ, विश्वसनीय, धाँधलीरहित, मितव्ययी एवं झन्झटरहित तुल्याउन विद्युतीय भोटिङ मेसिनको प्रयोगतर्फ सरकार, निर्वाचन आयोग, राजनीतिक दलसमेत सबै सकारात्मक भई गृहकार्यमा जुट्नु एक उपयुक्त विकल्प हुन सक्छ । 

(आचार्य पूर्वन्यायाधीश हुन्)

सुझावित समाचार