- कांग्रेसभित्र महाधिवेशनको मिति र नेतृत्वबारे चलेको आन्तरिक संघर्ष छिनोफानोको चरणमा विशेष महाधिवेशन माग्ने पक्षले निर्णायक दबाब दिन बोलायो विशेष भेला
केन्द्रीय महाधिवेशन २१ फागुनको निर्वाचनअघि कि पछि भन्ने विषयमा कांग्रेसभित्रको विवाद अब वारपारको चरणमा प्रवेश गरेको छ । संस्थापन पक्षले नियमित महाधिवेशन वा विशेष महाधिवेशन दुवैमा स्पष्ट निर्णय नलिँदा विशेष महाधिवेशन पक्षधरले निर्णायक दबाब सिर्जना गर्न विशेष भेला नै बोलाएका छन् । केन्द्रीय समितिले मिति नतोके विशेष महाधिवेशन पक्षधर आफैं निर्णय लिने तयारीमा छन् ।
उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएर घरमै बसेका सभापति शेरबहादुर देउवाले आफ्नै हस्ताक्षरमा आयोगमा दल दर्ता गरेपछि विवाद थप जटिल बनेको छ । त्यसपछि महामन्त्री गगन थापाले विशेष महाधिवेशनबाहेक विकल्प नरहेको र नयाँ सभापतिले नै कांग्रेसका उम्मेदवारका नाममा हस्ताक्षर गर्ने दाबी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै थापाले विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् । ‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ । यही कारण हामीले निर्वाचनअगाडि नै महाधिवेशन भनेको हो । अब विशेष महाधिवेशनको विकल्प छैन,’ उनले लेखेका छन् ।
महाधिवेशनको मिति निर्धारणमा शीर्ष नेताहरूबिच सहमति नजुट्दा देउवा पुन: सक्रिय हुँदै गएका छन् भने महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनमा अडानमा छन् । यी विषयले ११ मंसिरको केन्द्रीय कार्यसमिति बैठकअघि कांग्रेसभित्र ठुलो घटनाक्रम विकसित हुने देखिएको छ । संस्थापनपक्ष विशेष महाधिवेशनका लागि तयार नभए कांग्रेस विवाद कहाँ पुगेर टुंगिन्छ भन्ने तस्बिर प्रस्ट भएको छैन । तर, महामन्त्रीद्वय हरेक ‘जोखिम’ कदम चाल्ने मनस्थितिमा रहेको कांग्रेसका कतिपय नेता बताउँछन् ।
केन्द्रीय कार्यसमितिको २८ असोजको बैठकमा सभापति देउवाले वरिष्ठतम उपसभापति खड्कालाई कार्यवाहक सभापति दिएर सिंगापुर गएयता खड्काको अध्यक्षतामा बैठक बस्दै आएको छ । तर, आइतबार कार्यवाहक सभापतिलाई बाइपास गरेर देउवाको हस्ताक्षरमा पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा बुझाएपछि कांग्रेस संस्थापन पक्षबिच विवाद देखिएको छ । नेताहरूका अनुसार व्यक्तिगत रूपमा कार्यवाहक सभापति खड्का पनि सन्तुष्ट छैनन् । तर, उनले निकटस्थहरूसँग पनि खुलेर बोलेका छैनन् ।
२०६४ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । ‘२०६४ को सबै चुनावी प्रक्रियामा कार्यवाहक सभापति सुशील कोइरालाको हस्ताक्षर थियो । उम्मेदवारको टिकटमा सुशील दाको हस्ताक्षर थियो,’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भने, ‘अहिले कार्यवाहक सभापतिलाई बैठक राख्ने र अलमल गर्ने मात्रै जिम्मा दिएको पुष्टि भयो, निर्णायक सभापति आफैँ देखिनुभयो । उहाँहरूबिचमा नै कार्यवाहक सभापतिप्रति अविश्वास देखियो ।’
बिहीबार भेट्न गएका केन्द्रीय सदस्यहरूलाई देउवाले आफूले नेतृत्व खड्कालाई दिएकाले उनी र महामन्त्रीहरूसँग कुराकानी गर्न भनेका थिए । सामूहिक रूपमा गएका नेताहरूसँग उनले कार्यवाहक सभापतिसँग कुरा गर्न सुझाव दिएको, तर एक्लाएक्लै पुगेका नेताहरूलाई देउवाले महाधिवेशनसम्म आफू सक्रिय रहने बताएको एक केन्द्रीय सदस्यले बताए ।
‘तपाईंले नेतृत्व छाडिसकेपछिको परिस्थितिबारे छलफल गर्न आएको हुँ,’ भन्ने केन्द्रीय सदस्यहरूलाई देउवाको जवाफ थियो, ‘मैले कहाँ नेतृत्व छाडेको छु, सभापति मै हुँ,’ भन्ने जवाफ दिएका थिए । नियमित महाधिवेशनमार्फत देउवाको सम्मानजनक बहिर्गमन गराउनुपर्नेमा पार्टीका पूर्वपदाधिकारीको समूहले विशेष महाधिवेशनतर्फ धकेलेको र देउवाको अब अपमानजनक बहिर्गमनको बाटो खोलेको ती केन्द्रीय सदस्यको आरोप छ ।
सहमति खोज्न चालिएका प्रयास पनि सकारात्मक देखिएका छैनन् । चुनावअघि नै महाधिवेशन हुनुपर्ने पक्षमा उभिएका संस्थापन पक्षका नेता तथा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको अगुवाइ गरेका नेताहरूबिच सोमबार छलफल भएको थियो । छलफलमा विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले अब अरू विकल्प समाप्त भएको बताएका थिए ।
केन्द्रिय सदस्य उदयशमशेर राणा, आङ्गेलु शेर्पा, पुष्पा भुसाललगायतका नेताले अहिले विशेष महाधिवेशनमा जाँदा पार्टी फुट्न सक्नेतर्फ विश्लेषण गर्दै पुसभित्रै नियमित महाधिवेशनमा जानुपर्ने एजेन्डामा समर्थन गर्न आग्रह गरेका थिए । ‘विशेष महाधिवेशनमा जोड दिँदा जेन–जी पुस्तालाई क्रियाशील सदस्यता दिने अवस्था हुँदैन । जेन–जी पुस्तालाई ल्याएनौँ भने पार्टीको आधार कमजोर हुन्छ भन्यौँ,’ बैठकमा सहभागी नेता राणाले नयाँ पत्रिकासँग भने, ‘विशेष महाधिवेशनमा जाँदा हस्ताक्षर सनाखतलगायतका विषयले पार्टीमा विवाद आउने र नसोचेको घटना हुन सक्ने भएकाले सोच्नुहोस् भन्ने सुझाव दियौँ ।’ केन्द्रमा जस्तै विशेष महाधिवेशनको माग जिल्लामा पनि आउन सक्ने भएकाले यसले थप जटिलता उत्पन्न हुने राणालगायत नेताहरूको भनाइ थियो ।
केन्द्रीय समितिको अघिल्लो दिन विशेष भेला
विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले १० मंसिर (बुधबार) विशेष भेला बोलाएका छन् । काठमाडौंको राष्ट्रिय सभामा बोलाइएको विशेष भेलामा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछैनन् । तर, चुनावअघि नै महाधिवेशन हुनुपर्ने तथा पार्टी पुनर्संरचना हुनुपर्ने आवाज उठाएका नेता सहभागी हुनेछन् । भेलाले विशेष महाधिवेशनका बारेमा केन्द्रीय समितिलाई दबाब दिने र बिहीबारपछि कुनै निर्णय लिने सन्देश प्रवाह गर्ने एक नेताको दाबी छ । उनी भन्छन्, ‘यो सामान्य भेला होइन, विशेष भेला हो । यसले विशेष महाधिवेशनको निर्णय लिन पनि सक्छ । यसलाई सामान्य रूपमा हेर्नुहुँदैन ।’ संस्थापननिकट केन्द्रीय सदस्यहरूले बिहीबारको केन्द्रीय समिति बैठकसम्म कुर्न सुझाव दिएका छन् ।
देउवालाई कसले गरायो पुन: सक्रिय ?
कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यवाहक नेतृत्व पूर्णबहादुर खड्कालाई जिम्मा लगाएर स्वास्थ्योपचारका लागि सिंगापुर गएका थिए । लामो समय बस्ने योजनाअनुसार गएका उनी बिचमै फर्कनुलाई कांग्रेसभित्र आश्चर्यका रूपमा हेरिएको थियो ।
महाधिवेशनको मितिमा सहमति हुन नसकेको र महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा समूहले कार्यवाहक सभापति खड्कामाथि निरन्तर दबाब दिँदै आएपछि कांग्रेसका पूर्वपदाधिकारी तथा थप नेताले सभापति देउवालाई आउनुपर्ने अवस्था सिर्जना गरेको कांग्रेस स्रोत बताउँछ ।
देउवाले खड्कालाई कार्यवाहक सभापति दिएकोमा पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता डा. प्रकाशशरण महत सन्तुष्ट थिएनन् । पूर्वउपसभापति विजय गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्री शशांक कोइरालासमेत ‘सात भाइ’ले कार्यवाहक सभापतिलाई सहयोग नगरेको र देउवालाई सक्रिय बनाउन जोड दिँदै आएको जानकार नेता बताउँछन् ।
स्रोतका अनुसार सात पूर्वपदाधिकारीमा गच्छदार, श्रेष्ठ र कोइराला अहिले देउवालाई सक्रिय गराउनुपर्ने पक्षमा छैनन् । तर, चार पूर्वपदाधिकारी देउवाको सक्रिय भूमिकाको पक्षमा थिए । उनीहरूलाई ज्ञानेन्द्र कार्की, एनपी साउद र बालकृष्ण खाणलगायतका प्रभावशाली नेताहरूले साथ दिएपछि देउवा सक्रिय हुने वातावरण बनेको स्रोतहरू बताउँछन् ।
विधानत: विशेष महाधिवेशन बाध्यता : तर, नबोलाए के गर्छन् पक्षधर प्रतिनिधि ?
केन्द्रीय कार्यसमिति बैठकमा नाटकीय सहमति जुटेन भने विधानत: कांग्रेस पुस मसान्तभित्र विशेष महाधिवेशनमा जानुपर्ने बाध्यतामा छ । कांग्रेसमा ४० प्रतिशतभन्दा धेरै प्रतिनिधिले विशेष महाधिवेशन माग्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् । विधानले यसलाई अस्वीकार गर्न सक्ने ठाउँ छैन । कांग्रेस विधानको दफा १७ (२) मा लेखिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।’
११ मंसिरमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनको निर्णय नलिए आफैँले महाधिवेशन बोलाउने विकल्पमा हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले छलफल गरिरहेका छन् । यो समूहले आगामी रणनीति तय गर्न १० मंसिरमा भेला बोलाएको छ । एक केन्द्रीय सदस्यले पार्टीले संस्थागत निर्णय नलिए ज्येष्ठ सदस्यको अध्यक्षतामा विशेष महाधिवेशन हुने र त्यसले नेतृत्व र नीतिबारे निर्णय लिने विकल्पमा छलफल भइरहेको बताए ।