- नेसनल बाथरोग सेन्टरले पनि गरिरहेको छ अध्ययन, रिपोर्ट पुसमा आउने
नेपालमा बाथरोगको अवस्था भयावह देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अध्ययन गरेर ८० लाख नेपालीलाई बाथरोग रहेको निष्कर्ष निकालेको हो । नेसनल बाथरोग सेन्टरले दुई वर्षअघि सीमित स्याम्पलिङमा मात्रै अध्ययन गर्दा ४५ लाखलाई बाथरोग भएको निष्कर्ष निकालेको थियो । सेन्टरले अहिले फेरि दायरा बढाएर अध्ययन गर्दै छ । बाथरोगीको तथ्यांक भयावह देखिँदा यसको उपचार गर्ने विशेषज्ञ चिकित्सक भने ३० जना मात्रै छन् । नेपालमा यसको पढाइ पनि हुँदैन ।
डब्लुएचओले विदेशी युनिभर्सिटीका अनुसन्धानकर्ताहरूलाई नेपालमै ल्याएर देशभरका अस्पतालमा उपचार गरिएका बिरामीहरूको ल्याब टेस्ट रिपोर्ट, ओपिडीमा आउने बिरामीलगायतमा अध्ययन गरेर बाथरोगीको संख्या निकालेको हो । अधिकांशमा ढाड, छाला, गठिया, औँला, घुँडा, गुप्तांग, लुपसलगायतको बाथरोग देखिएको छ । डब्लुएचओले अनुसन्धान रिपोर्ट स्वास्थ्य मन्त्रालय र नेसनल बाथरोग सेन्टरलाई यसअघि नै बुझाइसकेको छ ।
‘डब्लुएचओले यो वर्ष जारी गरेको तथ्यांकमा ८० लाखभन्दा बढी नेपालीलाई बाथरोग भएको उल्लेख छ, हामीले पनि दुई वर्षअघि अध्ययन गर्दा ४५ लाखभन्दा धेरैमा बाथरोग भेटिएको थियो । हामीले त्यति वेला सानो दायरामा रहेर अध्ययन गरेका थियौँ । तर, डब्लुएचओले विदेशी युनिभर्सिटीका अनुसन्धानकर्ताहरूलाई नेपालमै ल्याएर देशभरका अस्पतालमा भएका ल्याब टेस्ट रिपोर्ट र ओपिडीमा आएका बिरामीमाथि विस्तृतमै अध्ययन गरेको हो,’ सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले भने, ‘हामीले अहिले फेरि अध्ययन गरिरहेका छौँ, यसको रिपोर्ट पुसमा आउँछ ।’
कक्षपतिका अनुसार अध्ययनका क्रममा दुई सय प्रकारका बाथ रहेको भेटिएको थियो । तर, सेन्टरले ७–८ प्रकारमा बाथमा मात्रै काम गरिरहेको उनको भनाइ छ । बाथका लागि नेपालमा एचएलए डिआरफोर, एचएलए बी फाइभ वान, एचएलए बी टू सेभेन ल्याबजाँच हुने उपकरण रहेको कक्षपतिले बताए ।
कडा किसिमको बाथ भए शरीरका अंग बांगिने र कुरूप हुने हुन्छ । त्यस्तो अवस्थामा जीवनभर औषधि सेवन गर्नुको विकल्प नहुने चिकित्सकहरू बताउँछन् । सेन्टरका बाथरोग विशेषज्ञ डा. सुधीर कर्मचार्यले नेपालमा बाथरोग कम उमेर समूहकै व्यक्तिलाई हुने कडा बाथ बढी देखिएको बताए ।
‘हामीकहाँ गठिया अर्थात् औँला बांगो हुने र सुन्निने बाथ बढी छ । यो कडा किसिमको बाथ हो । कम उमेर समूहका महिलालाई यो बाथ बढी हुने गरेको छ । यसले किड्नी, कलेजो, मुटुजस्ता महŒवपूर्ण अंगमा असरसमेत गर्छ,’ उनले भने, ‘अर्को लुपस बाथ भन्ने पनि धेरैलाई हुन्छ, यसले बढीजसो मिर्गौलामा असर गर्छ । त्यस्तै, ढाड र युरिक एसिड बाथ पनि धेरैमा देखिन्छ ।’
बालबालिकादेखि वुद्धवृद्धासम्मलाई बाथरोग हुन्छ । चिकित्सकहरूका अनुसार लुपस बाथ १५ देखि ४५ वर्ष उमेर समूहकालाई बढी देखिन्छ, घुँडाको बाथ प्राय: ५० कटेपछि हुन्छ । त्यस्तै, युरिक एसिडको बाथ २५ वर्षभन्दा माथि उमेरकालाई देखिन्छ । सुरुवाती चरणमै उपचार पाए निको हुने बाथरोग, शरीरमा फैलिएर हातखुट्टा नै बांगिने, अंग बिग्रिने अस्पतालमा पुगेपछि भने निको नहुने कक्षपति बताउँछन् ।
ग्रान्डी अस्पतालमा कार्यरत बाथरोग विशेषज्ञ डा. विनयकुमार रेग्मीका अनुसार सामान्यत: जोर्नी दु:खाइलाई बाथरोग भनिए पनि यसले शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउने गर्छ । गर्मीको तुलनामा जाडो मौसममा बाथरोगीलाई बढी पीडा हुन्छ । चिसोमा रक्त सञ्चार कम हुँदा बढी जोर्नी दुखेको महसुस हुने उनले बताए ।
८० लाख बाथरोगीका लागि ३० जना मात्रै विशेषज्ञ डाक्टर, सरकारीमा जम्मा एक
डब्लुएचओले ८० लाख नेपालीलाई बाथ भएको भयावह रिपोर्ट देखाउँदा, नेपालमा यसको उपचार गर्ने विशेषज्ञ डाक्टर (रिम्याटोलोजिस्ट) भने ३० जना मात्रै छन् । अझ दयनीय यो छ कि सरकारी अस्पतालमा यस्तो विशेषज्ञ एकजना मात्रै छन्, पाटन अस्पतालमा । बाँकी सबै निजी अस्पतालमा कार्यरत रहेको नेसनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक कक्षपतिले बताए ।
‘बिरामीको संख्या अत्यधिक छ, तर विशेषज्ञ चिकित्सक अत्यन्त न्यून हुँदा उपचारमा समस्या भएको छ । अधिकांश बिरामी उपचारको पहुँचमै छैनन्,’ उनले भने, ‘नेपालमा बाथरोगको मेडिकल शिक्षासमेत छैन । विदेशमा अध्ययन गरेर आएका चिकित्सकले यहाँ काम गर्छन् ।’ उनका अनुसार जुनसुकै उमेर समूहका व्यक्तिमा बाथ हुन सक्छ, अहिले धेरै रोगी १४ देखि ४५ वर्ष उमेर समूहका छन् ।
बाथरोगले मिर्गौलादेखि मुटुसम्म बिगार्छ, जोगिन के गर्ने ?
शरीरमा हुने विभिन्न संक्रमणले बाथरोग गराउँछ । बाथरोग विशेषज्ञ डा. कर्मचार्यका अनुसार बाथरोगबाट जोगिन कुनै औषधि पनि छैन ।
‘धेरैजसो बाथरोग सामान्यबाट सुरु हुन्छ र त्यसलाई खेलबाड गर्दा जटिल बन्छ । जटिल अवस्थाको बाथरोगले भित्री अंगमा असर गर्ने, हरेक अंगलाई नै खुम्च्याउने र मानिसलाई नै कुरूप बनाउन सक्छ । किड्नी र मुटुमा हान्न सक्छ,’ बाथरोग सेन्टरका विशेषज्ञ डा. सुधीर कर्मचार्यले भने, ‘कसैलाई निमोनिया भयो, टाइफाइड भयो, ज्वरो आयो भने त्यस्तो वेला शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र बाथरोगको जन्म हुन्छ । सरसफाइमा ध्यान दिने हो भने यो कम हुन सक्छ ।’
उनका अनुसार नेपालमा गठिया बाथ देखिनुको मुख्य कारण धुमपान हो । धुलोधुवाँ र मोटोपना पनि एउटा कारण हो । नियमित शारीरिक अभ्यास, खानपिनमा सुधार गरियो भने बाथरोगबाट बच्न सकिने उनी बताउँछन् ।