लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन सुरु

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आज सोबारबाट सुरु भएको छ । सातौँ अधिवेशनको पहिलो बैठकमा सभामुख तुलाराम घर्तीमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाएका थिए । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटाैँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश थिए ।

बैठकमा  दलीय प्रतिनिधिका आधारमा प्रदेश सभा सदस्यहरूले शुभकामना व्यक्त गरेका छन् ।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएका छन् ।
प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरू प्रदेश सभामा पेस गर्नका लागि स्वीकृति दिएको छ ।

लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेस गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैटाैँ अर्थात् बर्खे अधिवेशन अन्त्य भएको थियो ।
 

सुझावित समाचार