मध्य–नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट बन्दुकधारीले तीन सयभन्दा बढी बालबालिका र कर्मचारीलाई अपहरण गरेको अनुमान गरिएको छ । यो अहिलेसम्मकै सबैभन्दा खराब सामूहिक अपहरण हो । प्रहरीका अनुसार शनिबार स्थानीय समयअनुसार दिउँसो दुई बजे छिमेकी केब्बी राज्यको एक बोर्डिङ स्कुलमा हतियारधारी विद्यालय प्रवेश गरेर विद्यार्थीलाई अपहरण गरेका थिए ।
नाइजेरियाको क्रिस्चियन एसोसिएसनले नाइजर राज्यको पापिरीमा रहेको सेन्ट मेरी स्कुलबाट ३०३ विद्यार्थी र १२ शिक्षकलाई अपहरण गरिएको बताएको छ, जुन पहिले अनुमान गरिएकोभन्दा धेरै बढी हो । सशस्त्र समूहद्वारा आक्रमणको वृद्धिबिच अपहरण भएको हो । सन् २०१४ मा चिबोकमा बन्दुकधारीले २७६ जनालाई अपहरण गरेको थियो ।
सुरुमा २१५ जना विद्यार्थी अपहरणमा परेको रिपोर्ट गरिएको थियो । पछि अपहरणमा पर्नेको संख्या तीन सय नाघेको बताइएको छ । अपहरणमा परेका विद्यार्थीको संख्या कुल विद्यार्थी संख्याको आधा रहेको प्राप्त विवरणमा जनाइएको छ । नाइजर राज्यका अधिकारीले आक्रमणको बढ्दो जोखिमको गुप्तचर चेतावनीलाई उक्त विद्यालयले बेवास्ता गरेको बताएका छन् । यसबारे विद्यालयले कुनै टिप्पणी गरेको छैन ।
आपराधिक गिरोहद्वारा फिरौतीका लागि मानिसको अपहरण नाइजेरियाका धेरै भागमा एक प्रमुख समस्या बनेको छ । आपराधिक गिरोहलाई पैसाको आपूर्ति कटौती गर्ने प्रयासमा फिरौतीको भुक्तानीलाई गैरकानुनी घोषित गरिएको छ । शुक्रबारको सामूहिक अपहरण पछिल्लो एक सातामा तेस्रो घटना हो । सोमबार पनि बन्दुकधारीले दक्षिणमा रहेको एक विद्यालयका ३८ विद्यार्थी अपहरण गरेका थिए ।