‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन : बाबुराम र जनार्दन अभिभावकीय भूमिकामा

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील र रास्वपा परित्याग गरेका सन्तोष परियारले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन गरेका छन् । आइतबार राष्ट्रिय सभा गृहमा नयाँ पार्टी घोषणा गरिएको हो । भट्टराईले नयाँ पार्टीको नाम पढेर घोषणा गरे । पार्टीको चुनाव चिह्न आँखा प्रस्ताव गरिएको छ ।

नयाँ पार्टीमा पाँचजनाको अध्यक्ष परिषद् घोषणा गरिएको छ । जसमा सुदन किराँती, सन्तोष परियार, दुर्गा सोब, अशोक जैसवाल र ओजस्वी भट्टराई छन् । जेन–जीसहित विभिन्न क्षेत्र, समुदाय र वर्गको प्रतिनिधित्व हुने गरी अध्यक्ष परिषद् बनाइएको नेताहरूले बताएका छन् । बाबुराम भट्टराई, जनार्दन शर्मालगायतका नेताहरू भने अभिभावकीय भूमिकामा बस्ने भएका छन् । समावेशी नेतृत्व र सामूहिक भावनामा पार्टी चल्ने घोषणा गरिएको छ ।

एक व्यक्ति एउटा मात्रै कार्यकारी पदमा रहन सक्ने व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा घोषणापत्र पढेर सुनाउँदै नेता शर्माले पार्टीभित्र एक व्यक्ति एउटा मात्रै कार्यकारी पदमा रहन सक्ने व्यवस्था गरिएको बताए । कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकालसम्म मात्रै रहन पाउने व्यवस्था गरिएको पनि उनले जानकारी दिए । ‘एक व्यक्ति एक कार्यकारी पद, एक व्यक्ति दुई कार्यकाल र फिर्ता बोलाउने व्यवस्थासमेत हुनेछ,’ उनले भने । असफल दलहरूले गरेको खराब प्रयोगबाट शिक्षा लिँदै संगठनमा लोकतान्त्रिक अभ्यास गरिने उनले दाबी गरे ।

पार्टीका सबै कमिटी स्वायत्त हुने, आफ्नो नेता तथा प्रतिनिधि छान्ने उम्मेदवार छनोट गर्ने आदि सबै जिम्मेवारी सम्बन्धित कमिटीलाई नै दिइने भएको छ । कमिटीमा जनसंख्या र भूगोलका आधारमा प्रतिनिधित्व र सहभागी गराइने भएको छ । सामूहिक निर्णय र व्यक्तिगत जवाफदेहिता अनिवार्य हुने घोषणा गरिएको छ । पार्टीका सबै सदस्य अध्ययनशील हुनुपर्ने, तामझाम र रवाफिलो जीवनशैलीको खिलाफमा उभिनुपर्ने, प्रविधिको प्रयोगमा अब्बल र नागरिकको साथी बन्नुपर्ने, हरेक सदस्य इतिहासबारे जानकार, वर्तमानबारे जिम्मेवार र भावी पुस्ताप्रति उत्तरदायी बन्नुपर्ने घोषणा गरिएको छ । पार्टीमा संगठन स्वयंसेवक र अभियन्ता स्वयंसेवीसमेत हुनेछन् ।

घोषणासभामा भट्टराईले प्रलोपा जेन–जी आन्दोलनको उपज भएको बताए । ‘यो पार्टी भनेको जेन–जी आन्दोलनको उपज हो । र, जेन–जी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ,’ उनले भने । कम्युनिस्ट पार्टी अघि बढ्न नसक्ने देखेरै आफूले नयाँ वैकल्पिक अभियान सुरु गरेको उनले दाबीसमेत गरे । उनले माओवादी छाडेको नभई माओवादीको कार्यभार पूरा गरेको जिकिर गरे । 

शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको दाबी गरे । पुराना दलले क्रान्तिकारी छवि बचाउन नसक्दा देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा फसेको बताए । परियारले राष्ट्रिय संकट समाधानका लागि सामूहिक पहल गर्न नयाँ पार्टी आवश्यक परेको बताए । 

सुझावित समाचार