वीर अस्पतालमा सिटी स्क्यान मेसिन बिग्रिँदा सेवाग्राहीले सास्ती खेपिरहेका छन्, तिनको मर्मत गर्न मन्त्रालयले किन चासो नदेखाएको हो ?
मैले त्यहाँको सिटी स्क्यान बिग्रिएको बारे जानकारी पाइसकेकी छु । सेवाग्राही मर्कामा पनि हुनुहुन्छ । हाललाई नरदेवी अस्पतालमा खासै प्रयोग नभएको सिटी स्क्यान मेसिन वीरमा लैजाने तयारी भइरहेको छ । त्यहाँ बिग्रिएको उपकरण बन्न केही समय लाग्छ । नरदेवीमा कम प्रयोग भएकाले एकदुई दिनमै वीरमा सो उपकरण लैजान्छौँ । यसो गर्दा तत्काल सेवाग्राहीलाई राहत मिल्नेछ ।
वीरमै क्यान्सरको उपचार हुने अत्याधुनिक टोमोथेरापी मेसिनसमेत बिग्रिएको छ, यसको मर्मतसम्भारमा चाहिँ किन ढिलाइ भइरहेको छ ?
टोमोथेरापी पनि बिग्रिएको भनेर जानकारी आएको छ । तर ठ्याक्कै के भएको हो, मैले बुझ्न बाँकी नै छ । उपकरण बन्यो र सही रूपमा सञ्चालन भयो भने पो बिरामीलाई सहज हुन्छ । त्यसकारण कसरी हुन्छ, बिग्रिएको उपकरण छिट्टै मर्मत गराउँछौँ । अहिले म काठमाडौंबाहिर रहेकाले काठमाडौं आएपछि त्यसबारे थप चासो दिएर समाधान खोज्छु ।
पाँच दिनअघि अनुगमनमा जाँदा उपकरण बिग्रिएको तपाईंलाई वीर अस्पताल प्रशासनले जानकारी नै नगराएको हो ?
मैले नयाँ सर्जिकल भवन अनुगमन गरेँ । पछि उपकरण पनि बिग्रिएको भनेर जानकारी आएको छ । त्यहाँ बिग्रिएका उपकरण मर्मत गर्न हाम्रो बायोमेडिकल इन्जिनियर पनि छन् । उनीहरूलाई लगाउँछौँ । अर्को कुरा सरकारी अस्पतालका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले पनि मर्मतसम्भार गर्दै आइरहेकाले उहाँहरूसँग पनि समन्वय गरेर छिट्टै मर्मतसम्भार गराउँछौँ । तर, कतिपय उपकरण चाहिँ उहाँहरूको टिमले पनि नभ्याउने अवस्था रहेकाले हामी विकल्प पनि खोज्दै छौँ ।