कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सट्टेबाजी लगाउने आठ भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई क्रिकेट मैदानपरिसरबाटै ६ मंसिरमा पक्राउ गरेको हो । उनीहरू सट्टेबाजी लगाउनका लागि भारतदेखि काठमाडौं आएको प्रहरी अनुसन्धानमा पाइएको छ ।
काठमाडौं अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले पाँच लाख रुपैयाँको बाजी लगाइसकेका थिए । उनीहरूले ‘बेटाकुलर डट लाइभ’ साइट स्ट्रिमिङमार्फत बाजी लगाउँदै आएका थिए । सात दिनअघि आएका उनीहरू सामाखुसीस्थित गेस्ट हाउसमा बस्दै आएका थिए ।
वेबमार्फत बाजीमा सहभागी सबै भारतीय नागरिक रहेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए । ‘एनपिएलमा बाजी लगाउने आठ भारतीय नागरिक क्रिकेट मैदानबाटै पक्राउ परेका छन् । उनीहरूले हालसम्म पाँच लाख रुपैयाँको बाजी लगाइसकेको देखिन्छ,’ उनले भने, ‘बाजी लगाउनकै लागि उनीहरू भारतदेखि नेपाल आएको देखिन्छ । पक्राउ परेको सबै एकै समूहका हुन् ।’
अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्ने भारत आन्द्र प्रदेश प्रकासम पामुर गाउँका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, भारत आन्द्र प्रदेश प्रकासम कोइलमपटका ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी र २८ वर्षीय सेखचन्द बसल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू टिकट काटेरै मैदानभित्र प्रवेश गर्थे । डाटामार्फत चलाइएको इन्टरनेटमा ‘बेटाकुलर डट लाइभ’ साइट स्ट्रिमिङ गर्थे । र, क्रिकेटको बाजी लगाउँथे । हारजितको रकम आदान–प्रदान गर्न क्युआरमार्फत भारतीय बैंक प्रयोग गर्थे ।
साइटमार्फत बाजी लगाउने पनि भारतीय नागरिक नै रहेको अनुसन्धान कार्यालयका एसपी आचार्यले बताए । ‘हारजितको रकम आदान–प्रदान गर्न भारतीय बैंक प्रयोग भएका छन् । हालसम्म यसमा नेपाली सहभागी छैनन् । अनुसन्धान भइरहेकाले बाँकी तथ्य खुल्दै जाला ।’
अनलाइनमार्फत बाजी लगाउने र मैदानमै सहभागी भएर बाजी लगाउने समयमा अन्तर केही मिनेटको हुन्छ । अर्थात् मैदानमा जारी खेल अनलाइनमार्फत लाइभ हुँदा ‘रियल टाइम’ भन्दा पाँच मिनेट ढिलो प्रसारण हुन्छ । यही समयको अन्तरमा मैदानमा बसेर सट्टेबाज लगाउनेले चलाखीपूर्वक बाजी जित्न पुग्छ ।