नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको उपविजेता बनेको छ। आइतबार श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपाल छिमेकी प्रतिद्वन्द्वी भारतसँग सात विकेटले पराजित भयो। पहिलोपटक आयोजना भएको प्रतियोगितामा भारत अपराजित रहँदै च्याम्पियन बनेको छ।
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा भारतले ११.४ ओभरमा तीन विकेट गुमाउँदै उपाधि जितेको हो। नेपाल समूह चरणको खेलमा पनि भारतसँग पराजित भएको थियो।
प्रतियोगितामा एक टिमले बी वान अर्थात् पूर्ण दृष्टिविहीन चारजना, बी टु (न्यून दृष्टिविहीन) तीनजना र बी थ्री (अल्प दृष्टिविहीन) चारजना गरी ११ खेलाडी मैदानमा उतारेका हुन्छन्।
भारतका ब्याटर र बलर नै नेपालविरुद्ध हाबी भएका थिए। नेपालले भने अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेन।
भारतका लागि बी थ्री ब्याटर फुला सरेनले सर्वाधिक ४४ रन बनाइन्। उनले २७ बलमा चार चौका हिर्काएकी थिइन्। बी वान ब्याटर करुना केले २७ बलमा ४२ रनको योगदान गरिन्। वसन्ती हन्स्दाले १३ रन जोडिन्।
नेपालका लागि बी थ्री दिलिसरा धमलाले दुई तथा कान्ति योगी र प्रतिभा राईले समान एक विकेट लिएका थिए।
यसअघि पहिलो इनिङ्समा नेपालका लागि सरिता घिमिरेले ३८ बलमा सर्वाधिक ३५ रन बनाइन्। विमला राई २६ बलमा २६ रन बनाइन्। सरिता र विमलाको जोडीले ६५ रनको साझेदारी गरेकाे थियाे। यसअघि कप्तान तथा ओपनर विनिता पुन पाँच, मनकेसी चौधरीले आठ, त्यस्तै, सुष्मा तामाङले ६, विनिता सोमाईले नाै रनको योगदान गरेका थिए। इसारामाया लुंगेली डक भइन्। नेपालले भारतविरुद्ध अतिरिक्त २५ रन पाएको थियो।
२७ कात्तिकबाट सुरु भएको विश्वकपमा नेपाल र भारतसहित अस्ट्रेलिया, पाकिस्तान, घरेलु टोली श्रीलंका र अमेरिका सहभागी थिए। इंग्ल्यान्ड भने प्रतियोगितामा सहभागी भएन।