निर्वाचन आयोगले मंसिर ५ गतेसम्मका लागि तय गरेको म्यादभित्र महोत्तरीमा राष्ट्रिय परिचयपत्र नम्बरमार्फत १८ हजार ४२६ नयाँ मतदाता सूचीकृत भएका छन्। त्यस्तै, जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भएर नाम दर्ता गराउनेको संख्या ६ हजार ८२८ रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ।
कात्तिक १६ गतेसम्म महोत्तरीमा कुल मतदाता संख्या ४ लाख ५ हजार ५ सय ४ रहेकोमा नयाँ मतदाता थपिएसँगै अहिले जिल्लाको कुल मतदाता संख्या४ लाख ३० हजार ७ सय ५८ पुगेको छ। अन्य जिल्लाबाट महोत्तरीका नागरिकले नाम दर्ता गराएको तथा महोत्तरीमै पनि अन्य जिल्लाका नागरिकले नाम दर्ता गराएका कारण आगामी दिनमा मतदाता संख्या अझै बढ्न सक्ने निर्वाचन कार्यालयले जनाएको छ।
यता, महोत्तरीमा निर्वाचन तयारी निर्वाध रूपमा अघि बढिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। उनका अनुसार जिल्लाभित्रका मतदान केन्द्र तथा मतदान स्थलहरूको वर्गीकरण र पुनरावलोकन कार्य सम्पन्न भइसकेको छ। अब सुरक्षा योजना तयार गर्ने प्रक्रिया सुरु भएको उनले बताए। साथै, राजनीतिक दलहरूसँगको समन्वय र सहयोग पनि सन्तोषजनक रूपमा भइरहेको उनले उल्लेख गरे।